coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

दिल्लीमा ३४ सीटमा विजय, २९ सीटमा अग्रतासँगै आम आदमीलाई बधाई

नयाँ दिल्ली- भारतको नयाँ दिल्लीमा विधान सभाका लागि भएको निर्वाचनमा आम आदमी पार्टी (आप) ले यस पटक पनि विशाल जीत हासिल गर्ने पक्का देखिएको छ। साँझ ५ः३० बजेसम्मको मत गणनामा आपले कुल ७० सीटको विधान सभामा ३४ सीटमा जीत निकालेको छ भने २९ सीटमा अग्रता कायम गरेको छ।

केन्द्र सरकारको नेतृत्वमा रहेको भारतीय जनता पार्टी (भाजपा) ले दिल्लीमा यस पहिलेको तुलनामा जनमत जम्मा गरेको देखिएपनि निर्वाचनमा धेरै सीट विजय गर्न भने नसक्ने देखिएको छ। दिल्ली विधान सभामा भाजपाले साँझसम्म तीन सीटमा विजय निकालेको छ भने अन्य चार स्थानमा अग्रता कायम गरेको छ।

दिल्ली विधान सभामा भारतीय कङ्ग्रेसले प्रारम्भिक मतगणनामा एक दुई स्थानमा अग्रता कायम गरे पनि दिन ढल्दै जाँदा उसलाई अन्य दलले पछाडि पारिदिएका छन्। कङ्ग्रेसले दिल्लीमा सन् २०१३ पूर्व लामो समयसम्म आफ्नो नेतृत्वमा सत्ता चलाएको थियो।

आपले निर्वाचनमा दोहोराएर विशाल विजय निकाल्ने देखिएपछि देशका विभिन्न राजनीतिक नेताहरूले नेता अरविन्द केजरीवाललाई बधाई सन्देशहरू आउन थालेको छन्।

केजरीवाललाई बधाई दिँदै पश्चिम बंगालका मुख्यमन्त्री ममता बनर्जीले सामाजिक सञ्जाल ट्विटरमा लेखेकी छन्, 'अरविन्द केजरीवाललाई धेरै धेरै बधाई ! अहिले भारतीय जनता रोटी, कपडा र वास (घर) चाहन्छन्। प्रवृत्ति एकदमै स्पष्ट छ कि राजनीतिमा छलकपटले काम गर्दैन।'

त्यस्तै केरलाका मुख्यमन्त्री पिनाराई विजयनले पनि केजरीवाललाई उनको पार्टीको शानदार विजयका लागि बधाई दिएका छन्। 'अरविन्द केजरीवाल र आमदमी पार्टीलाई दिल्ली चुनावमा ठूलो जीतको लागि बधाई छ। यो जीत हाम्रो देशको जन–समर्थक र समावेशी राजनीतिको लागि आश्रयस्थल होस्।'

द्रविदा मुन्नेत्र काझागम (डीएमके)का नेता एमके स्टालिनले ट्वीटर सन्देशमा मार्फत भनेका छन्, 'अरविन्द केजरीवाल र आम आदमी पार्टीलाई पुनः दिल्लीमा सरकार गठन गर्न पाएको वृहत जनादेशको लागि बधाई छ। विकासले साम्प्रदायिक राजनीतिलाई बिगार्न सक्छ भन्ने कुरा स्पष्ट छ। संघीय अधिकार र क्षेत्रीय चाहनालाई हाम्रो देशको हितमा सुदृढ बनाउनुपर्दछ।'

समाजवादी पार्टीका अध्यक्ष र उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री अखिलेश यादवले दिल्ली निर्वाचन परिणामबारे पत्रकारहरूसँग कुराकानी गर्दै भने 'दिल्ली चुनावको नतीजाले देशभर सन्देश पठाउनेछ कि किसान, गरिब र युवाले विकास र समृद्धिलाई मतदान गर्छन्। जनताले दिल्लीमा साम्प्रदायिक राजनीतिको विरूद्ध मतदान गरे।'

कडा सुरक्षाकोबीचमा शहर भरिका २१ केन्द्रहरूमा मतगणना भैसकेको छ। एएनआई

 

प्रकाशित: २८ माघ २०७६ १३:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App