संगम घर्तिमगर
बाग्लुङ- ‘महबाट वार्षिक पाँचदेखि सात लाख रुपैयाँसम्म आम्दानी हुन्छ,’ दगातुन्डाँडा–४ का बोमबहादुर थापा भन्छन्, ‘शिक्षकको तलबले घरखर्च चलाउनै ठिक्क हुन्छ। मह बेचेरै छोरालाई गाडी हालिदिएको छु।’ दगातुन्डाँडास्थित खड्गदेवी माविका शिक्षक थापाले माहुरीपालन पनि गर्छन्। शिक्षक पेसाबाट बचेको समय उनले माहुरी घारलाई विस्तार गर्दै आए। ‘एक दुई घार माहुरी त हाम्रो घरमा पहिलेदेखि नै हुन्थ्यो,’ थापाले भने, ‘त्यसैलाई विस्तार गरेपछि अहिले राम्रै आम्दानी गर्न थालेको छु।’
थापाले यो वर्ष एकै सिजनमा करिब दुई लाख रुपैयाँको मह बेच्न सफल भएका छन्। ‘यो वर्ष असोजसम्म झरी परेकाले खासै राम्रो मह उत्पादन भएन,’ उनले भने, ‘करिब दुई लाख रुपैयाँ हाराहारीको मह बेचेँ।’ स्थानीय सेरेना जातको माहुरीपालन गर्दै आएका थापालाई बजारको कुनै समस्या छैन। उनको घरबाटै प्रतिकिलो एक हजार रुपैयाँमा मह बिक्री हुने गरेको छ। ‘मह जति भए पनि घरबाटै बिक्री हुन्छ,’ थापा भन्छन्, ‘बरु मागअनुसार मह पुर्याउनै सकिरहेको छैन।’ थापाले मह बिक्रीबाट मात्रै वार्षिक पाँचदेखि सात लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेको सुनाए।
०५२ सालदेखि माहुरीपालनलाई विस्तार गर्न थालेका उनले अहिले उद्योगकै रूप दिएका छन्। विगत पाँच वर्षदेखि घरेलु तथा साना उद्योग कार्यालय बाग्लुङमा माहुरीपालन उद्योग दर्ता गरेको थापाले बताए। 'अहिले ६० वटा आधुनिक घार छन्। उद्योग कार्यालयबाट माहुरीपालन तालिम लिएपछि व्यावसायिक रूपमा पाल्न सुरु गरेँ,’ उनले भने। थापालाई जिल्ला कृषि विकास कार्यालय बाग्लुङले एक लाख ८० हजार अनुदान सहयोग गरेको छ। ‘२० वटा घार थप्न कृषि विकास कार्यालयले सघाएको थियो, बाँकी आफैँले थप्दै आएको छु,’ थापाले भने।
थापाले श्रीमती र बुहारीलाई समेत माहुरीको स्याहार गर्न सिकाएका छन्। ‘उनीहरूलाई सिकाएपछि मलाई पनि सहज भएको छ,’ उनले भने।
उनले अहिले माहुरीसहित घार समेत बिक्री सुरु गरेका छन्। गत वर्ष थापाले माहुरीसहित घार बिक्री गरेर एक लाख ४० हजार आम्दानी गरेको बताए। ‘प्रतिघार सात हजार रुपैयाँमा बिक्री हुन्छ,’ उनले भने, ‘गत वर्ष २० घार गोला बेचेँ, यो वर्ष ३५ वटा जति बिक्री गर्ने योजनामा छु।’
मौरीपालक महासंघको केन्द्रीय सदस्य एवं जिल्ला अध्यक्ष समेत रहेका थापा शिक्षक पेसाबाट अवकाश लिएर मौरीपालनको अभियान नै सञ्चालन गर्ने सोचमा छन्। ‘यहाँ मौरीपालनको राम्रो सम्भावना छ,’ थापाले भने, ‘अवकाशपछि विभिन्न ठाउँमा अभियान सञ्चालन गर्ने सोचमा छु।’
प्रकाशित: १६ पुस २०७३ ०३:३६ शनिबार