coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

दुई वर्षपछि मध्यपश्चिममा भेटने बाचा

धरान- कमजोर पूर्वाधार, राजनीतिक द्वन्द्व, अनुशासनका गम्भीर प्रश्न, दयनीय व्यवस्थापन तथा अन्य धेरै विवादबीच अघिल्लो साता विराटनगरबाट सुरु सातौं बृहत् राष्ट्रिय खेलकुद दुई वर्षपछि मध्य पश्चिममा भेट्ने बाचासहित शुक्रबार धरानमा सम्पन्न भएको छ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिवले आठौं राष्ट्रिय खेलकुदको झण्डा मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीलाई हस्तान्तरण गरेपछि धरानस्थित एन्फा टेक्निकल सेन्टरमा सातौं राष्ट्रिय खेलकुद सम्पन्न भएको थियो। राष्ट्रिय खेलकुदको नवौं संस्करण भने पश्चिमाञ्चलमा गर्ने निर्णय पनि समापन समारोहमा सुनाइएको थियो।

यसअघि सातौं राष्ट्रियको ओलम्पिक दीप निभाउनुका साथै झण्डा झिकिएको थियो। विगतका तुलनामा अत्यन्तै फितलो रुपमा सम्पन्न समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि उपराष्ट्रपति नन्दबहादुर पुनले पूर्वाञ्चलमा पहिलो पटक भएको राष्ट्रिय खेलकुदमा धेरै समस्या भएकोबारे आफू जानकार रहेको बताए।

'नेपालको खेलभूमि पूर्वाञ्चलका विभिन्न जिल्लामा सञ्चालित राष्ट्रिय खेलकुदका गतिविधिबारे म सकेजति जानकार छु। समयमा पूर्वाधार नबन्नु, राम्रो व्यापक तयारी र उचित व्यवस्थापन नहुनु, कमजोर भौतिक पूर्वाधारबीच प्रतिस्पर्धा गर्नुपर्दा खेलाडीले भोग्नुपरेका समस्या मैले हृदयदेखि नै महसुस गरेको छु,' उपराष्ट्रपति पुनले भने, 'खेलकुदको क्रममा यहाँहरूले अन्य समस्या पनि भोग्नु भएको छ। हरेक काममा सानातिना समस्या र अवरोध त हुन्छन् नै। तर भद्रगोल हुनु र विवादले ठूलो रुप लिनु खेलकुद विकासका लागि सकारात्मक पक्ष होइन। मलाई विश्वास छ, सातौं राष्ट्रिय खेलकुदमा देखिएका समस्याहरू आठौं राष्ट्रिय खेलकुदमा दोहोरिने छैनन्।'

'सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अहिलेसम्मकै सबभन्दा राम्रो भौतिक पूर्वाधारमा सम्पन्न हुनेछ। इतिहासमा सातौं संस्करणले सुविधाको नयाँ स्तर मापन गर्नेछ,' दुई साताअघि राजधानीमा राखेपका सदस्यसचिव केशवकुमार विष्टले गौरवसाथ गरेको यस्तो घोषणालाई गिज्याउँदै सम्पन्न राष्ट्रिय खेलकुदको समापनमा उपराष्ट्रपति पुनले भौतिक पूर्वाधार, प्रतियोगिताको नियमिततालगायत विषयमा पनि चासो प्रकट गरे।

'राष्ट्रिय खेलकुद प्रत्येक दुई वर्षमा हुनुपर्ने हो। राष्ट्रिय खेलकुदको पहिलो संस्करण २०३८ सालमा भएको थियो। ३५ वर्षको अन्तरालमा १७ औं संकरण हुनुपर्नेमा हामीले बल्ल सातौं संस्करण सम्पन्न गरेका छौं। निर्धारित समयमा प्रतियोगिता नहुँदा सबभन्दा बढी समस्या खेलाडीले भोग्नुपर्छ,' उपराष्ट्रपति पुनले भने, 'एउटा खेलाडी उत्कृष्ट फर्ममा भएका बेला खेलकुद प्रतियोगिता हुन सकेन भने अन्ततः त्यो प्रतिभा नै मर्छ। समयमा राष्ट्रिय खेलकुद नहुँदा त्यस्ता धेरै प्रतिभा मरेका छन्। यो राष्ट्रकै लागि ठूलो घाटा हो। आगामी दिनमा समयमै राष्ट्रिय खेलुकद आयोजना गर्न सम्बद्ध सबै पक्षको ध्यानाकर्षण गराउन चाहन्छु। सातौं सम्पन्न गर्नु भनेको आठौंको तयारीमा जुटनु हो।'

उपराष्ट्रपति पुनले खेलाडी र राष्ट्रको भविष्य जोडिएको राष्ट्रिय खेलकुद कुनै पनि बहानामा निर्धारित समयभन्दा ढिला गर्नु नहुने विचार राखे। 'हाम्रा पूर्वाधार कमजोर छन्। निर्माण सुरु गरेका पूर्वाधार पनि निर्धारित समयमा सकिरहेका छैनौं। देशकै एकमात्र अन्तर्राष्ट्रिय स्तरको दशरथ रंगशालासहित धेरै पूर्वाधार भूकम्पले क्षति पुर्‍याएको छ,' उनले थपे, 'खेलकुद विकासका लागि पूर्वाधारको पनि विकास अनिवार्य छ। हाम्रा खेलाडी खाली खुट्टा दौडिएलान्, तर दौडिन पनि ठाउँ त चाहियो। खेलकुद पूर्वाधार निर्माणतर्फ म सबै पक्षको विशेष ध्यानाकर्षण गराउन चाहन्छु।'

युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाली र राखेपका सदस्यसचिव विष्टले सातौं राष्ट्रिय खेलकुद सम्पन्न गर्न सहयोग पुर्‍याउने सबैलाई धन्यवाद दिँदै आठौं संस्करणको तयारीमा तत्काल जुट्ने र समयमै सम्पन्न गर्ने प्रतिबद्धता जनाए।

'लामो समयदेखि जाम भएको राष्ट्रिय खेलकुद सम्पन्न गरेका छौं। एउटा नयाँ इतिहास रचेका छौं। कठिन समयमा नेतृत्वले ठूलो जोखिम मोलेर यो राष्ट्रिय खेलकुद गरेका हौं,' व्यवस्थापनमा कमजोरी भएको स्विकार्दै राखेपको अध्यक्षसमेत रहेका मन्त्री श्रीपालीले भने, 'थुप्रै कमजोरी भएका छन्। खेलाडीलाई धेरै समस्या परेका छन्। त्यसका लागि म क्षमायाचना गर्न चाहन्छु। सरकार खेलकुदको विकासका लागि गम्भीर छ। हामीले आजैबाट आठौंको तयारीमा ज्यान दिएर लाग्नुपर्नेछ। सँगै हामीले टोकियो ओलम्पिक २०२० का लागि पनि खेलाडी टोली तयार गर्नुछ। देशको प्रतिष्ठा जोडिएको १३ औं साग निर्घारित समयमा गर्नुछ। सबथोक हामी सही ढंगमा पूरा गर्नेछौं।'

नेपाली खेलकुदमा कार्यकारी प्रमुखको हैसियतमा रहेका राखेपका सदस्यसचिव विष्टले भने सातौं राष्ट्रिय खेलकुद अहिलेसम्मकै विवादरहित र भव्य रुपमा सम्पन्न भएको दाबी गरे। 'सीमित स्रोत र साधनबीच पूर्वाञ्चलका विभिन्न सहरमा सातौं राष्ट्रिय खेलकुद अहिलेसम्मकै विवादरहित र भव्य रुपमा सम्पन्न भएको छ,' सदस्यसचिवको दाबी थियो, 'हामीले सातौं खेलकुद गर्न साढे पाँच वर्ष प्रतिक्षा गर्नुपर्‍यो। आगामी संस्करण समयमै गर्न म आजैबाट तयारी सुरु गर्छु। यसपाली देखिएका केही समस्या आठौंमा सुधारिनेछ।'

पाँच विकास क्षेत्र र तीन विभाग (नेपाली सेना, नेपाल पुलिस र सशस्त्र प्रहरी बल) गरी आठ टोलीका ४ हजारभन्दा बढि खेलाडीको सहभागितामा राष्ट्रिय खेलकुदको सातौं संस्करणको औपचारिक सुरुआत अघिल्लो शुक्रबार विराटनगरको सहिद रंगशालाबाट भएको थियो। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतियोगिता उद्घाटन गरेकी थिइन्। ३५ खेल समावेश गरिएको भनिएको प्रतियोगितामा गतवर्ष सम्पन्न भइसकेका केही खेल पनि जोडिएका छन्।

सुविधाको दृष्टीले न्यूनतम मापदण्डभन्दा पनि कमजोर पूर्वाधारमा गरिएको सातौं राष्ट्रिय खेलकुद खेलाडीले रेफ्रीमाथि हातपात गरेको, खेलाडीको भत्तामा बसोबासको बहाना गर्दै पदाधिकारीले आँखा लगाएको, कमजोर व्यवस्थापनलगायत अनगिन्ति समस्याबीच आठ दिनसम्म पूर्वाञ्चलका झापा, मोरङ, सुनसरी, धनकुटा, सप्तरी, सिराहा र उदयपुर तथा मध्यमाञ्चलको काठमाडौं र ललितपुरसँगै पश्चिमाञ्चलको पोखरामा सम्पन्न भएको थियो।

अघिल्लो संस्करणमा एनेकपा माओवादीको पिएलए स्पोर्ट्स क्लबको सहभागिताका कारण राष्ट्रिय खेलकुद बहिस्कार गरेको नेपाली सेनाको त्रिभुवन आर्मी क्लब १ सय १३ स्वर्ण, ६४ रजत र ४८ कांस्य सहित २ सय २५ पदकका साथ सातौं राष्ट्रिय खेलकुदको च्याम्पियन हुँदा सशस्त्र प्रहरी बलको एपिएफ क्लब उपविजेता भयो। एपिएफले ५० स्वर्ण, ४८ रजत र ५८ कांस्य गरि १ सय ५७ पदक जितेको थियो। विभागीय टोलीको बर्चस्व रहेको राष्ट्रिय खेलकुदमा ४० स्वर्ण, ३८ रजत र ४१ कांस्य गरि १ सय १९ पदकसहित नेपाल पुलिस क्लबले तेस्रो स्थान हासिल गर्‍यो।

प्रकाशित: १६ पुस २०७३ ०३:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App