७ वैशाख २०८१ शुक्रबार
खेल

क्रिकेटको स्वर्ण एपिएफलाई

विराटनगर- भुवन कार्कीको अलराउन्ड प्रदर्शनमा सशस्त्र प्रहरीको एपिएफले शुक्रबार त्रिभुवन आर्मी क्लबलाई ४९ रनले हराउँदै सातौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरूष क्रिकेटको स्वर्ण पदक जितेको छ। तेस्रो स्थानका लागि भएको खेलमा नेपाल पुलिस क्लबले मध्यमाञ्चललाई ३३ रनले हराएपछि क्रिकेटका सबै पदकमा विभागीय टोलीले कब्जा गरेका छन्।

मोरङको बैजनाथपुरस्थित क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको एपिएफले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २१ रन बनाएको थियो। जवाफमा त्रिभुवन आर्मीले १७.४ ओभरमा ७२ रन बनाउँदा अलआउट भयो।

एपिएफका भुवनले अविजित २४ रन बनाए भने ४ ओभरमा ११ रन दिएर ४ विकेट लिए। १२ बल सामना गरेका भुवनले २ चौका र १ छक्का प्रहार गरेका थिए। कप्तान पारस खड्काले १ चौका र १ छक्कासहित ३३ रन बनाए भने पृथु बास्कोटाले १५ बलमा १ चौका प्रहार गर्दै १२ रन बनाए।

आर्मीका सोमपाल कामी, विक्रम सोब र चन्द्र साउदले २/२ विकेट लिए भने सागर पुन र अविनाश कर्णको नाममा १/१ विकेट रह्यो।

आर्मीका नरेश बुढाएरले १७ रन बनाउनुबाहेक अन्यले राम्रो प्रदर्शन गर्न सकेनन्। एपिएफका भुवनले ४ विकेट लिँदा शक्ति गौचन र यज्ञमान कुमालले २/२ विकेट लिए। करण केसी र वसन्त रेग्मीले १/१ विकेट लिए।

प्रतियोगिताको एकमात्र शतक आफ्नो नाममा लेखाएका पारस सबैभन्दा धेरै रन बनाउने खेलाडी बने। उनले प्रतियोगितामा १ सय ८४ रन बनाए। दोस्रो स्थानका आर्मीका सागर पुनले १ सय ५६ रन बनाए भने १ सय ५० रन बनाएका आर्मीकै नरेश बुढाएर तेस्रो स्थानमा रहे।

प्रतियोगितामा सबैभन्दा धेरै विकेट ललित भण्डारीले लिए। उनले १२ विकेट लिए। १० विकेट लिएका भुवन कार्की दोस्रो स्थानमा रहे भने मध्यमाञ्चलका रसिद खान तेस्रो स्थानमा रहे। रसिदले ९ विकेट लिए।

कांस्य पदक जित्नेक्रममा पुलिस क्लबले ३३ रनको जित हात पार्‍यो। टस जितेर ब्याटिङ गरेको पुलिसले ७ विकेट गुमाएर १ सय ५५ रन बनाएको थियो। पुलिसका ओपनर दिलिपनाथले ३१ रन बनाए भने कप्तान मञ्जित श्रेष्ठले ३६ रनको योगदान गरे। दिपेन्द्र ऐरीले २७, सिद्धान्त लोहनीले २३ र आरिफ शेखले १६ रन बनाए।

मध्यमाञ्चलका रिजन ढकाल, रसिद खान, इरसद अहमद, सुशील कँडेल, हरिशंकर शाह र हसिम अन्सारीले १/१ विकेट लिए।

१ सय ५६ रनको लक्ष्य पछ्याएको मध्यमाञ्चलले ८ विकेट गुमाएर १ सय २२ रन मात्र बनाउन सक्यो। मध्यमाञ्चलका ओपनर हरिशंकरले ५२ रन जोडे पनि टोलीलाई जिताउन भने सकेनन्। जितेन्द्र ठकुरीले २८, रसिद खानले १७ र पवन श्रेष्ठले ११ रन बनाए।

आर्मीका ललित भण्डारीले ३ विकेट लिए भने रामनरेश गिरी, आरिफ र सिद्धान्तले १/१ विकेट लिए।

प्रकाशित: १६ पुस २०७३ ०३:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App