coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

फुटबलको उपाधि सशस्त्रलाई

धरान- सशस्त्र प्रहरीको एपिएफ क्लबले पुरुष फुटबलको स्वर्ण जित्दै पूर्वाञ्चलमा आयोजित सातौं राष्ट्रिय खेलकुदमा सुखद अन्त्य गरेको छ। धरान–१७ स्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा सातौं खेलकुदको समापन समारोहसँगै आयोजित फाइनलमा एपिएफले त्रिभुवन आर्मी क्लबलाई २–० ले हराउँदै स्वर्ण पदक जितेको हो। एपिएफका लागि दुवै गोल अञ्जन विष्टले पहिलो हाफमा गरेका थिए। प्रतियोगिताको लिग चरण र सेमिफाइनलमा भने अञ्जन टिममा थिएनन्। फाइनलमा उनी एपिएफका लागि भाग्यमानी साबित भए। १३ औं मिनेटमा अञ्जनले गरेको प्रहार सिधै गोलमा परिणत भएको थियो। नविन लामाको पासमा उनले पेनाल्टी बक्स बाहिरबाट गरेको प्रहार आर्मीका गोलकिपर विकेस कुथुले भेउ नै पाएनन्। अञ्जनले ३० औं मिनेटमा अग्रता दोब्बर बनाए। करिब २५ यार्ड दूरीबाट उनले गरेको प्रहार गोलमा परिणत भएको थियो।

२४ औं मिनेटमा आर्मीका खेलाडी श्याम अर्यालले नियन्त्रण गुमाउँदा पाएको बल ‘वन भर्सेस वन’को अवस्थामा एपिएफका श्याम नेपाली गोल गर्न चुके। २९ औं मिनेटमा रामकुमार कुमाल एक्लैले विपक्षी खेलाडीलाई छक्याउँदै पोस्ट नजिकबाट गरेको प्रहार अकासिएको थियो। पहिलो हाफ दबाबमा खेलेको आर्मीले दोस्रो हाफमा आक्रामक हुँदै पुनरागमन गर्ने प्रयास गरे पनि सफल भएन। ६८ औं मिनेटमा आर्मीका विवेक बस्नेतको प्रहारमा एपिएफका गोलरक्षक अमृत चौधरी बिट भए पनि तोप विष्टले गोललाइनबाट हेड गरेर बचाएका थिए। ८० औं मिनेटमा भरत खवासको पासमा दीप लामाको प्रहार पोस्ट नजिकबाट बाहिरियो। त्यसको पाँच मिनेट नबित्दै नवयुग श्रेष्ठको हेड विपक्षी गोलरक्षकले असफल बनाए। लगत्तै नवयुगको अर्को हेडिङ पोलमा ठोक्किएर फर्किएपछि आर्मीको सम्भावना सकिएको थियो।

फाइनलमा पराजित आर्मीले रजतमा चित्त बुझायो भने बिहीबार मध्यमाञ्चललाई हराउँदै नेपाल पुलिस क्लबले कांस्य हात पार्‍यो। समापन समारोहमा फुटबलको स्वर्ण, रजत र कांस्य पदक विजेता खेलाडीलाई उपराष्ट्रपति नन्दबहादुर पुन र खेलकुदमन्त्री दलजीत श्रीपालीले पदक तथा प्रमाणपत्र वितरण गरेका थिए।

प्रकाशित: १६ पुस २०७३ ०३:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App