७ वैशाख २०८१ शुक्रबार
कला

प्रेमको परिभाषा खोज्दै चित्रकला

काठमाडौं – प्रेम दिवस नजिकिँदै यसको परिभाषालाई फराकिलो पार्दै चित्रकार ईशान परियार र सविता डंगोलको चित्रकला प्रदर्शनी भइरहेको छ। गत माघ २३ देखि बबरमहलस्थित आर्ट काउन्सिलमा सुरु भएको प्रदर्शनीमा प्रेम कथामा आधारित चित्रकलाहरू राखिएका छन्।

प्रेमको परिभाषालाई फराकिलो ढंगमा बयान गदै उनीहरूले चित्रकला कोरेका छन्। उनीहरूको वैवाहिक सम्बन्धमा आधारित रहेका चित्रकला तयार गरिएका थिए। तीन वर्षअघि प्रेम विवाह गरेका यी चित्रकार दम्पतीले चित्रको माध्यमबाट प्रेम र सम्बन्धलाई प्रस्तुत गरेका छन्। ‘हाम्रो जीवनको यात्रालाई प्रेमसँग तुलना गरेर चित्रकलामार्फत प्रस्तुत गरेका छौं। प्रेमको परिभाषालाई फराकिलो बनाएर तयार भएका चित्रकला प्रदर्शनीमा राखिएका छन्,’ चित्रकार ईशान परियारले भने, ‘प्रेम सम्बन्धमात्र नभएर यसले संसारभरका मानिसलाई आत्मीय भावसहित प्रस्तुत हुन प्रोत्साहित गरेको छ। हाम्रो जीवनको यात्रालाई एउटै गन्तव्य बनाएर तयार गरेका चित्रकला प्रदर्शनीमा समावेश छन्।’

प्रदर्शनीमा राखिएको एक चित्रकलाले प्रेम सम्बन्धले एक अर्काप्रति सम्मान र विश्वास गर्न प्रोत्साहित गरेको छ। ‘प्रेम सम्बन्धको परिभाषा मानिस र सम्बन्धका आधारमा फरक हुन सक्छ। दुई आत्माको आत्मीयतालाई हामीले चित्रकलामार्फत बयान गरेका छौं। सकारात्मक सोच र एक अर्काप्रति गरिने विश्वासले प्रेमलाई प्रगाढ बनाउँछ,’ चित्रकार सविता डंगोलले भनिन्। उनले दैनिक जीवनका अनुभव र अनुभूतिलाई कलामार्फत प्रस्तुत गरेको बताइन्।

प्रेम र सद्भावलाई प्राथमिकतामा राखेर तयार भएको ९० वटा चित्रकला प्रदर्शनीमा राखिएका छन्। अधिकांश चित्रकलामा पेन र इंकको प्रयोग गरिएको छ। प्रदर्शनी अवलोकन गर्न पुगेका कलाकार मुकेश मल्लले चित्रकलाहरूको समीक्षा गरेका थिए। ‘प्रदर्शनीमा राखिएका चित्रकलाले प्रेम र सद्भावको बयान गरेको छ,’ उनले भने।

प्रकाशित: २८ माघ २०७६ ०४:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App