६ वैशाख २०८१ बिहीबार
समाज

हिमाली क्षेत्रमा बास फेर्दै चितुवा

पोखरा- केही दिनअघि हिमालपारिको जिल्ला मनाङमा चितुवासँग सम्बन्धित दुई नयाँ प्रमाण भेटिए– उच्च हिमाली क्षेत्रमा सामान्य चितुवा र घना जंगलमा हिमचितुवा। चितुवा प्रजातिका यी दुई प्रमाण वन्यजन्तु क्षेत्रमा अनौठा मानिन्छन्। वनमा बस्ने चितुवा पछिल्लो समय हिमचितुवाको बासस्थानसम्म उक्लिन थालेको छ भने उच्च हिमाली क्षेत्रमा बस्ने हिमचितुवा जंगल पस्न थालेको छ। एकै प्रजातिका दुईखाले चितुवा एकअर्काको बासस्थानमा भेटिएपछि हिमाली क्षेत्रमा चितुवाले बास फेर्न थालेको अनुमान यसबारे जानकारले गरेका छन्।

मनाङको नेस्याङ भ्यालीमा सामान्य चितुवा र हिमचितुवा एकअर्काको ठाउँमा भेटिएका हुन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का मनाङस्थित अधिकृत पारसविक्रम सिंहका अनुसार समुद्री सतहको ३५ सय मिटरदेखि पाँच हजार मिटर उचाइसम्म हिमचितुवाको बासस्थान हो। तर, नेस्याङ भ्यालीमा करिब चार हजार मिटर उचाइमा सामान्य चितुवा भेटिएको छ। उनका अनुसार हिमाली क्षेत्रको चार हजार मिटर उचाइमा सामान्य चितुवा पुग्नु अनौठो हो।

'चितुवा चार हजार मिटरको खुला क्षेत्रमा भेटिएको छ, यो अनौठो हो,' उनले भने, 'किनकि चार हजार मिटरमा सामान्य चितुवा बस्नै सक्दैन। अधिक चिसो हुने र हिउँ पर्ने भएकाले चितुवा तीन हजार मिटरमाथि हतपती उक्लँदैन।'

चितुवा माथि उक्लिनु अनुसन्धानको विषय भएको उनले बताए। 'यसै त अर्काको बस्ती, त्यसमा पनि हिउँपर्ने ठाउँमा चितुवा पुगेको दृश्य क्यामेरामा कैद भएको छ,' उनले भने, 'मनाङमा पहिलोपटक यति धेरै उचाइमा चितुवा भेटिएको हो।'

त्यस्तै, खुला र उच्च हिमाली क्षेत्रमा ढुंगाको ओढार र खुला क्षेत्रमा बस्ने हिमचितुवा जंगल पस्न थालेको पाइएको छ। सिंहका अनुसार घना जंगलमा हिमचितुवा पाउनु अर्काे अनौठो हो। नेस्याङ भ्यालीकै घ्यारु गाउँको घना जंगलमा हिमचितुवा पहिलोपटक हिमचितुवा भेटिएको उनको भनाइ छ।

उनका अनुसार हिमाली क्षेत्रमा चार हजार मिटरसम्म वन क्षेत्र हुने भए पनि हिमचितुवा जंगलमा भेटिएको थिएन। 'हुन त ३५ सय मिटर उचाइसम्म हिमचितुवाको बासस्थान हुन्छ। जंगल क्षेत्रमा भने बसोबास रहेको पाएका थिएनौँ,' उनले भने।

घ्यारुको घना जंगलमा हिमचितुवा क्यामेरामा कैद भएको थियो। जलवायु परिवर्तन असरले हिमाली क्षेत्रको तापक्रम बढ्दै जाँदा वन्यजन्तुले बासस्थान फेरेको हुन सक्ने सिंहको भनाइ छ।

'हिमाली क्षेत्रको तापक्रम बर्सेनि ०.२ सेन्टिग्रेडका दरले बढिरहेकाले वन्यजन्तुलाई एकअर्काको ठाउँ अनुकूल भएको हुन सक्छ,' उनले भने, 'सामान्य चितुवा सिकार गर्नकै लागि धेरै उचाइमा जानुपर्दैन, त्यस्तै हिमाली क्षेत्रमा बस्ने हिमचितुवा पनि सिकार खोज्दै जंगल पस्नुपर्दैन।'

कस्तुरीको आनिबानी अध्ययनका लागि नेस्याङ भ्यालीमा ५२ वटा क्यामेरा राखेकामा दुईमा चितुवाको अवस्था कैद भएको सिंहले बताए। 'मुस्ताङमा दुई वर्षअघि चार हजार मिटर उचाइमा सामान्य चितुवा भेटिएपछि हामीले मनाङमा पनि पाइन सक्ने अनुमान गरेका थियौँ,' उनले भने।

सिंहका अनुसार हिमचितुवाको मन पर्ने आहार नाउर हो। अन्नपूर्ण क्षेत्रमा नाउर पाइन्छ। नाउर, थार र कस्तुरी नपाए हिमचितुवा भोकै हुन्छ। हिमचितुवा लज्जालु हिमाली वन्यजन्तु हो। मान्छेबाट सकभर टाढै रहन खोज्ने यो वन्यजन्तु मानवबस्ती नजिक पर्न खोज्दैन। 'कहिलेकाहीँ सिकार पछ्याउँदै जाँदा पनि जंगलमा पसेको हुन सक्छ,' उनले भने।

तल्लो क्षेत्रमा बस्दै आएका जनावर माथि सर्नु र माथिका जंगल पस्नु जलवायु परिवर्तनको असर हुन सक्ने स्नो लियोपार्ड कन्जर्भेन्सीका नेपाल प्रतिनिधि गंगाराम रेग्मीले बताए। 'जंगलमा भेटिएको हिमचिुतवाले सिकार पछ्याएको र सामान्य चितुवा निकै उचाइमा पुग्नु जलवायु अनुकूलनले हुन सक्छ,' उनले भने।

उनका अनुसार हिमाली क्षेत्रमा चितुवाको बासस्थान फरक पर्न थालेको धेरै भएको छैन। मुस्ताङमा दुई वर्षअघि र कञ्चनजंघा क्षेत्रमा तीन वर्षअघि करिब चार हजार मिटर उचाइमा सामान्य चितुवा पाइएको थियो। 'बस्ती तल–माथि हुँदा दुईखाले चितुवाको झगडा पर्न सक्ने खतरा छ। यो अनुसन्धान गर्नुपर्ने विषय हो,' रेग्मीले भने, 'एउटै सिकारका लागि पनि झगडा गर्नुपर्ने अवस्था आउन सक्छ। त्यसले वन्यजन्तुबीच द्वन्द्व बढाउन सक्ने जोखिम छ।'

प्रकाशित: १६ पुस २०७३ ०२:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App