coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

छुइगोठमा नबस्न धामीझाँक्रीको सुझाव

छुइप्रथा उन्मूलनमा एक्येबद्धता जनाउँदै स्थानीय। तस्बिर : नागरिक

जुम्ला – छुइ (छाउ) भएको समयमा घर बस्न हुँदैन भन्ने यहाँका धामीझाँक्री पछिल्लो समयमा छुइगोठमा नबस्न, घरभित्रै बस्न सुझथालेका छन्। पातारासी गाउँपालिकाका चर्चित धामी धनबहादुर बुढा छुइ हुँदा महिला गोठमा बस्नुले असुरक्षा पैदा भएको बताउँछन्। उनले भने, ‘छुइ हुनु, फूल फुल्नु हो। फूल नफुल्दा फल लाग्न सक्दैन। त्यसैले छुइ हुनुलाई हाम्रो समाजले अन्यथा मान्नुहुँदैन। परम्परागत विभेदकारी प्रथा हटाउनुपर्छ।’

उनले छुइ भएको समयमा महिलाले नुवाइधुवाइ गरेर सफासुग्घर रहनुपर्नेमा जोड दिए। ‘छुइ भएको समयमा गोठमा राख्नुहुँदैन, बरु आराम गर्न दिएर पोषिलो खानेकुरा खुवाउनुपर्छ। यो निकै संवेदनशील अवस्था भएकोले स्वास्थ्य र सुरक्षाका क्षेत्रमा सबैको ध्यान पुग्नुपर्छ,’ उनले भने, ‘छुइ हुनु कुनै अभिशाप होइन। यो नियमित शारीरिक प्रक्रिया हो। यसमा आश्चर्य र अस्वाभाविक मान्नुपर्ने केही छैन।’

उनले आफ्नो घरमा छुइ भएको समयमा चुलोचौकोमा समेत लगाउने गरेको बताए। ‘धामीझाँक्री परिवर्तनको बाधक हुन सक्दैनन्, तर धामीझाँक्रीको अस्तित्व पनि सबैले राखिदिनुहोला,’ उनले भने।

हिमा गाउँपालिका–६ का चक्रबहादुर शाही मष्ट देवताका मुख्य धामी हुन्। तर उनी छुइ भएको समयमा महिलालाई घरभित्रै बसाल्छन्। ‘म मष्टाको मुख्य धामी हुँ। हाम्रो घरमा छइप्रथा मान्दैनौं,’ उनले भने, ‘अरूलाई पनि छुइप्रथा नमान भन्छौं।’ छुइप्रथा एकैचोटी उन्मूलन गर्न नसकिने भएकाले सचेतनाका कार्यक्रम निरन्तर गर्न उनले आग्रह गरे।

छुइ हुनु नियमित शारीरिक प्रक्रिया हो। यसमा आश्चर्य र अस्वाभाविक मान्नुपर्ने केही छैन।

‘अड्डाको ऐनभन्दा गाउँको चैन ठुलो हुन्छ। दमन गरेर यो प्रथा एकै पटक उन्मूलन गर्न सकिँदैन। तर पछिल्लो समयमा छुइ भएका महिला घरभित्र बसाल्न सबै सहमत नै छन्। बिनाफुल फल लाग्नै सक्दैन,’ उनले भने, ‘महिला छुइ हुँुदा दूध, दही दिनुहुँदैन भन्छन्। यो राम्रो पक्ष होइन। जसरी पनि छुवाछुत अन्त्य गर्नुपर्छ। म धाँमी भएकोले पहिलो सुरुवात मैले आफैंबाट गरेको छु। त्यसैले छुइ हुँदा गोठमा होइन घरमा बस्न लगाउनुपर्छ भनी समाजका अगाडि भन्न सक्छु। यो आँट सबैले गर्न जरुरी छ।’

अहिले जुम्लामा छुइप्रथा उन्मूलन महाअभियान जिल्लाभर चलिरहेको छ। यो अभियानले धामीझाँक्रीमा पनि नयाँपन दिएको छ। फलस्वरूप उनीहरू पनि छुइ हुँदा गोठमा बस्नुहुँदैन। घरभित्रै सुरक्षित रूपमा बस्न पाउनुपर्ने पक्षमा देखिएका छन्। धामीझाँक्री नै छुइप्रथा उन्मूलन महाअभियानमा सद्भावना दूत बन्न हानथाप गरिरहेका छन्। जिल्लाको एक नगरपालिकासहित आठवटा स्थानीय तहमा आठ जना धामी सद्भावना दूत बनेका छन्। उनीहरू नै गाउँगाँउमा पुगेर छुइ हुँदा गोठ नबस्न र नबसाउन सुझाव दिइरहेका छन्।

पहिले छुइ हुँदा घरभित्र पस्ने कुरामा धामीझाँक्री बाधक भएको भन्दै महिला आक्रोशित हुने गरेका थिए। तर अहिले धामीझाँक्रीले यस्तो बेलामा घरभित्र बस्न हुन्छ भनेकाले स्थानीय महिला उत्साहित भएको दिलमाया शाही बताउँछिन्। ‘अब छुइ भएको समयमा घर पस्न खासै धामीको छेकवार केही छैन,’ उनले भनिन्, ‘तर शिक्षित, बुद्धिजीवी भनाउँदा नै बाधक बन्ने देखिन्छ। अब यो अभियान समाजका अगुवा भनाउँदाहरूमा लागू गर्नुपर्छ।’

जुम्लाकी प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडे आफैं गाउँमा खटिएर छुइप्रथा उन्मूलन अभियानमा लागकी छिन्। उनले भनिन्, ‘अब जुम्लाका धामीझाँक्री छुइप्रथाको बाधक रहेनन्।’ उनले यो अभियानमा धामीझाँक्रीले गरेको सहयोग निकै प्रशंसनीय रहेको पनि बताइन्। अब गाउँमा छुइ भएर अलग्गै राखेको वा छुइप्रथा उन्मूलन अभियानलाई असफल बनाउन् हर्कत देखाउने जोसुकैविरुद्ध कानुनी उपचार थाल्ने उनको भनाइ छ।

जुम्लाका प्रतिनिधिसभा सांसद गजेन्द्रबहादुर महतले छुइप्रथाका नाममा घर भत्काउन लागेको भन्दै गृहमन्त्रालयविरुद्ध आक्रोश पोखेका थिए। तथापि यतिबेला प्रत्येक स्थानीय तह पनि छुइप्रथा उन्मूलन अभियानमा जुटेका छन्। उनीहरू छाउगोठमुक्त अभियानलाई जोडदारका साथ अघि बढाउँदैन्। हालसम्म जुम्लाका २६ बस्ती छाउगोठमुक्त भइसकेका छन्।

प्रकाशित: २८ माघ २०७६ ०१:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App