८ वैशाख २०८१ शनिबार
खेल

मच्छिन्द्र पुनः शीर्षमा

काठमाडौं – संकटा क्लबमाथि ३–१ को सहज जितका साथ मच्छिन्द्र क्लब राजधानीमा जारी कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा फर्किएको छ।

सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको अन्तिम खेलमा मच्छिन्द्रले संकटालाई ३–१ ले हराएको हो। १२ खेलको समाप्तिमा २८ अंकका साथ मच्छिन्द्र शीर्ष स्थानमा छ। एक खेल कम खेलेको त्रिभुवन आर्मी क्लब २६ अंकका साथ दोस्रो स्थानमा छ भने मनाङ मर्स्याङ्दी ११ खेलमा २२ अंकका साथ तेस्रो स्थानमा छ। ११ खेल खेलेका थ्री स्टार २० र जावलाखेल युथ क्लब १८ अंकका साथ क्रमशः चौथो र पाँचाैँ स्थानमा छन्। संकटा १२ खेलमा १५ अंकका साथ सातौं स्थानमा छ।

मच्छिन्द्रले लिगको अन्तिम खेलमा शनिबार त्रिभुवन आर्मीको सामना गर्नेछ। आर्मीले भने मंगलबार ब्रिगेड ब्बाइजविरुद्ध खेल्नेछ। मध्यान्तर हुन एक मिनेट बाँकी हुँदा देवेन्द्र तमाङले रेजिन धिमालको  कर्नरलाई हेडमार्फत जाली चुमाउँदै मच्छिन्द्रलाई अग्रता दिलाएका थिए। खेलको सुरुआतबाटै आक्रामक बनेको मच्छिन्द्र दोस्रो हाफमा पनि आक्रामक बनेको थियो। ६४ औं मिनेटमा विशाल राई ‘बी’ले मच्छिन्द्रको अग्रता दोब्बर पारेका थिए। ८२औं मिनेटमा दीपक राईले मच्छिन्द्रको अग्रता ३–० मा पु-याएका थिए। खेलको अन्तिम मिनेटमा मेसौकी ओलुमोउले संकटालाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त बनेन।

यता सोमबारै एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा एपिएफले फ्रेन्ड्स क्लबमाथि ५–२ को रबाफिलो जित हात पारेको छ।१२औं मिनेटमा आशिष लामाले एपिएफको गोल खाता खोलेका थिए। मध्यान्तर हुन ५ मिनेट बाँकी हुँदा लामाले एपिएफको अग्रता दोब्बर पारेका थिए। जारी लिगमा लामाको यो आठाैँ गोल हो र उनी शीर्ष गोलकर्ताको सूचीमा पहिलो स्थानमा छन्। ७ गोल गरेका च्यासलका कप्तान सन्तोष साहुखलले उनलाई पछ्याइरहेका छन्। ६९औं मिनेटमा फिलिपे डी सुजाले फ्रेन्ड्सलाई खेलमा फर्काउने संकेत गरेका थिए। त्यसको २ मिनेटपछि नै प्रवीनकुमार स्यानताङले एफिएफका लागि तेस्रो गोल गरे।

७६औं मिनेटमा विश्व अधिकारीले गोल गर्दै फ्रेन्ड्सलाई पुनः खेलमा फर्काउने संकेत गरेका थिए । इन्जुरी समयमा थप २ गोल गर्दै एपिएफले रबाफिलो जित पक्का गरेको हो। इन्जुरी समयको चौथो र पाँचौं मिनेटमा कप्तान टोपबहादुर विष्ट र प्रवीनले समान एक गोल गरेका थिए। १२ खेलमा ८ अंक जोडेको एपिएफ लिगको १३औं स्थानमा छ भने समान खेलमा १४ अंक जोडेको फ्रेन्ड्स १०औं स्थानमा छ।

लिगमा आज
त्रिभुवन आर्मीविरुद्ध बिबिसी ८ः४५
थ्री स्टारविरुद्ध एनआरटी १२ः१५
मनाङ मर्स्याङ्दीविरुद्ध नेपाल पुलिस ३ः३०
एन्फा कम्प्लेक्स,सातदोबाटो

प्रकाशित: २८ माघ २०७६ ०१:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App