७ वैशाख २०८१ शुक्रबार
अर्थ

विमानस्थल पुन: संञ्चालनकाे पहल

कैलालीको टीकारपुरमा बन्द अवस्थामा रहेको विमानस्थल। तस्बिर : योगेश/नागरिक

टीकापुर - टीकापुर विमानस्थल सञ्चालनका लागि पहल सुरु भएको छ। टीकापुर नगरपालिकाले शुक्रबार सर्वपक्षीय/सर्वदलीय बैठक गरी हाल बन्द अवस्थामा रहेको विमानस्थल पुनः सञ्चालन गर्ने वा विकल्प खोज्ने भन्नेबारे छलफल चलाएको छ।

बैठकमा मेयर तपेन्द्रबहादुर रावलले हाल बन्द अवस्थामा रहेको विमानस्थल प्राविधिक कारणले पुनः सञ्चालनमा ल्याउन समस्या रहेको नागरिक उड्डयन प्राधिकरणको भनाइ राखेको बताए। उनले प्राधिकरणले हालको धावनमार्ग विस्तारमा समस्या र विमानस्थल बस्तीबीचमा समेत रहेकाले ठूलो जहाज सञ्चालन गर्न कठिनाइ हुने भनेपछि विकल्पबारे छलफल गर्न सबैको राय सुझावका लागि बैठक आयोजना गरिएको बताए।

हाल बन्द अवस्थामा रहेको विमानस्थल १.२५ किलोमिटर लम्बाइ, पाँच सय ९० मिटर धावनमार्ग र १.५ किलोमिटर चौडाइ मात्रै रहेको छ। प्राधिकरणले कम्तीमा पनि १६ सय मिटर लम्बाइ र तीन सय मिटर चौडाइ आवश्यक पर्ने जनाएको छ।
बैठकमा सहभागीले नगरपालिकालाई विमानस्थल सञ्चालनका लागि विकल्पसहितको सुझाव दिएका छन्। उनीहरुले टीकापुर नगरपालिका–५ मा रहेको नगर खेलकुद विकास समितिको २२ बिघा जमिनमा विमानस्थल निर्माण गर्ने र हाल बन्द अवस्थामा रहेको विमानस्थलको जमिन खेलकुद विकास समितिलाई दिनुपर्ने सुझाव दिएका छन्। बैठकले सोही अनुसारको निर्णय समेत गरेको छ।

निर्णयप्रति सहमति जनाउँदै खेलकुद विकास समितिका अध्यक्ष लक्ष्मण थापाले विमानस्थल सञ्चालनका लागि जग्गा सट्टाभर्ना गर्न पहल थाल्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले बस्तीबीच बन्द अवस्थामा रहेको विमानस्थल खेलकुदका लागि उपयुक्त हुने बताए। ‘विमानस्थल बन्छ भने हामी बाधक हुँदैनौ, अध्यक्ष थापाले भने, ‘हाम्रो पनि सहयोग रहन्छ। मेयर रावलले जग्गा सट्टाभर्ना गर्न मन्त्रीस्तरमा समेत सहमति भइसकेको बैठकमा जानकारी गराए। उनले बैठकमा आगामी वर्ष नगरपालिकाले विमानस्थल निर्माणका लागि बजेट विनियोजन गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे। ‘हामी तीन–चार करोड रुपैयाँ विनियोजन गर्छौं। छिमेकी पालिकाहरुले पनि सहयोग गर्छन्,’ उनले भने, ‘संघीय सरकार तयार छ। विमानस्थल निर्माणमा आर्थिक समस्या हुँदैन।

विमानस्थल निर्माणका लागि नगरपालिकालाई विभिन्न संघसंस्थाहरुले समेत साथ दिने प्रतिबद्धता व्यक्त गरेका छन्। टीकापुर उद्योग वाणिज्य संघले विमानस्थल सञ्चालनको एकल मागसहित टीकापुर महोत्सवको आयोजना गरेको छ। संघले आफ्नो माग सम्बोधन गराउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईबाट महोत्सवको उद्घाटन गराएको छ। माघ १४ गते महोत्सव उद्घाटन गर्दै मन्त्री भट्टराईले स्थानीय तहको सहकार्यमा विमानस्थल निर्माण गरिने प्रतिबद्धता व्यक्त गरेका थिए। सोही अनुरुप नगरपालिकाले विमानस्थल निर्माणको नेतृत्व सम्हालेको छ। हाल बन्द अवस्थामा रहेको विमानस्थल २०४१ वैशाख २० गतेबाट सञ्चालनमा आएको हो। अछामको साफेबगर र काठमाडौं हवाई उडान भर्दै आएको विमानस्थल २०५४ देखि बन्द अवस्थामा छ। विमानस्थल बन्द भएपछि २०६१ मा चार सय मुक्त कमैया परिवारले अतिक्रमण गरेका थिए। स्थानीय राजनीतिक दलको पहलमा २०६९ मा मुक्त कमैयालाई अन्यत्र स्थानान्तरण गरेर विमानस्थलको अतिक्रमित जमिन खाली गरिएको थियो।

त्यसपछि स्थानीय स्तरबाट विमानस्थल पुनः सञ्चालनको पहल भएको थियो। सोही अनुसार स्थानीय टीकाराम जैशीको संयोजकत्वमा टीकापुर विमानस्थल अध्ययन निर्माण तथा सञ्चालन समिति गठनसमेत भएको थियो। सो समितिले मालपोत कार्यालयसँगको सहकार्यमा २०७० मा विमानस्थल पुर्नसञ्चालनमा स्थानीयको सहभागीता भन्दै जग्गा खरिद बिक्रीमा अतिरिक्त दस्तुर संकलन गरेको थियो। सो क्रममा ३५ लाख रुपैयाँ संकलन भएको थियो। हाल सो रकम समितिले नगरपालिकालाई हस्तान्तरण गरेको छ।  समितिको पहलमा २०७१ मा तारा एयरले परीक्षण उडानसमेत भरेको थियो। विभिन्न कारणले तारा एयरले नियमित उडान भर्न सकेन। त्यसपछि भने विमानस्थल पुनः सञ्चालनको कुरा सेलाएर गयो।

टीकापुर उद्योग वाणिज्य संघले यस वर्ष महोत्सवको एकल मागका रुपमा अघि सारेपछि विमानस्थल पुनः सञ्चालनको कुराले चर्चा पाएको छ। संघका अध्यक्ष रामबहादुर भण्डारीले विमानस्थल आवश्यक भएकाले महोत्सवको एकल मागका रुपमा अघि सारिएको जानकारी दिए। उनले टीकापुरमा निर्माण हुने विमानस्थल कैलालीको पूर्वी र बर्दियाको पश्चिमी क्षेत्रका बासिन्दाका लागि मात्रै नभई छिमेकी मुलुक भारतका नागरिकलाई काठमाडौं ओहोरदोहोर गर्न समेत सहज हुने बताए। ‘यो विमानस्थल उत्तर प्रदेशको लखनउबाट सबैभन्दा नजिकको दूरीमा रहनेछ,’ उनले भने, ‘यो टीकापुरको सुन्दर भविष्यसँग जोडिएको कुरा हो। हाल टीकापुरका बासिन्दा हवाई सुविधाका लागि एक सय किलोमिटर टाढा रहेका धनगढी र नेपालगञ्ज विमानस्थलसम्म पुग्न बाध्य छन्।

प्रकाशित: २७ माघ २०७६ ०२:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App