coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

प्रहरीसँगको मिलेमतोमै कालो कारोबार

प्रहरीले नियन्त्रणमा लिएकाे तस्करीको अवैध मालसमान। तस्बिर: नागरिक

रौतहट – रौतहटको मठिया प्रहरी चौकीको मिलोमतोमा नै खुलेआम तस्करी भइरहेको पाइएको छ। आइतबार बिहान रौतहटको मठिया नाकाबाट ठुलो परिमाणमा तस्करीको अवैध मालसमानसहित एक जना भारतीय तस्करलाई प्रहरीको विशेष टोलीले पक्राउ गरेपछि तस्करीको यस्तो रहस्य सार्वजनिक भएको हो।

प्रदेश २ बाट खटिएको प्रहरीको विशेष टोली र जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले संयुक्त रूपमा प्रहरी चौकीदेखि करिब सय मिटर पूर्व रहेको सडक भएर तस्करीको समानसहित भारत बिहार पूर्वी चम्पारन ग्रमपञ्चायत चैनपुरका १८ वर्षीय सचिन गोसाइँलाई नियन्त्रणमा लिएपछि प्रहरीकै मिलेमतोमा हुने गरेको तस्करीबारे पोल खुलेको हो।

नेपाल–भारत सीमा क्षेत्रको मठिया नाका हुँदै १५/२० जनाको समूहमा रहेका तस्करहरूले भारततर्फ लैजाँदै गरेको अवस्थामा गौंडा ढुकेर सीमा–नाकामा बसेको प्रहरीको विशेष टोलीले रोक्न खोज्दा तस्करहरू भाग्न थालेपछि प्रहरीले तीन राउन्ड हवाई–फायरसमेत गरेको थियो। त्यही क्रममा प्रहरी टोलीले एक जनालाई नियन्त्रणमा लिएको थियो भने अन्य तस्करहरू भाग्न सफल भएका थिए।

तस्करीको केराउसहित पक्राउ परेका गोसाइँको बयानका आधारमा भन्डारण गरेको तस्करको गोदाममा समेत प्रहरीले छापा मारेको छ। गोदाममा छापा मार्दा करिब ७० बोरा केराउ बरामद भएको छ। स्थानीयले प्रहरी चौकी मठियादेखि करिब सय मिटर पूर्वको बाटोबाट नेपाल र भारत दुवैतर्फबाट तस्करी हुने गरेको भन्दै प्रदेश २ का प्रहरी प्रमुख प्रधुम्न कार्की र रौतहट प्रहरी प्रमुख रविराज खड्कालाई बारम्बार गुनासो गरेका थिए। स्थानीयको गुनासोपछि प्रहरीले तस्करी निरुत्साहित गर्न विशेष टोली परिचालन गरेको थियो। रौतहट प्रहरी प्रमुख खड्काले फरार तस्करहरूको खोजी भइरहेको र पक्राउ परेको गोसाइँलाई जिल्ला प्रहरीका कार्यालयमा राखिएको बताए।

गौंडा ढुकेर सीमा–नाकामा बसेको प्रहरीको विशेष टोलीले रोक्न खोज्दा तस्करहरू भाग्न थालेपछि प्रहरीले तीन राउन्ड हवाई–फायरसमेत गरेको थियो।

जिल्लाको लक्ष्मीपुर बेलविछवा, बन्जरहा, मठिया र बंकुल नाकाको सुरक्षा जिम्मा लिएर डिउटी बसेका नेपाल प्रहरी र सशस्त्र प्रहरीको मिलोमतोमा नेपाल भारतबीच खुला रहेको सीमाको दुरुपयोग गर्दै दैनिक ठुलो परिमाणमा कालो कारोबार हुने गरेको छ। भन्सार छली गरिने त्यस्तो कारोबारमा व्यापारीदेखि लिएर सीमा वारिपारि सामान किनबेच गर्ने महिला तथा पुरुषहरू अहिले दैनिक उपभोग्य वस्तुहरू चामल, दाल, चिनी, खानेतेल, कपडा, महँगा मोटरपार्टस्का सामानहरू, चप्पल, स्टिलका पार्टपुर्जाहरू नेपालतर्फ भन्सार छलेर भित्र्याउने काममा संलग्न हुने गरेका छन्। त्यस्तै, नेपालबाट भारततर्फ रक्सी, अलैंची, केराउ, छोकडा, चाउचाउ, गुट्खा, चुरोट, टुथपेस्ट, विभिन्न क्रिमहरूको तस्करी भइरहेको छ।

जिल्ला प्रहरी प्रमुख एसपि खडकाले आफूले कमान्ड सम्हालेको करिब महिना दिनको अवधिमा भारतीय नम्बरवाला गाडी, मदिरा, कपडा, खाद्यान्न गरी करिब एक करोड बढीभन्दा बढीको मालसमान बरामद गरेको तथा केही तस्करहरूलाई पक्राउ गरी भन्सार कार्यालयमा बुझाएको बताए। उनले स्थानीय तस्करहरूसँग मिलेका प्रहरीहरूलाई पनि कडा कारबाही गरिने बताए। त्यस्तै, सशस्त्र प्रहरीको ११ नम्बर गण प्रमुख एसपी रोविनराज कार्णजितले यो महिनामा ६० लाख बराबरको मालसामान पक्राउ गरी भन्सार कार्यालय दाखिला गरेको बताए।

नेपाल–भारत सीमाक्षेत्रमा कालो कारोबार हुने गरेका कारण माघ महिनामा भन्सार–राजश्वमा समेत कमी भएको छ। गौर भन्सार कार्यालयका अधिकृत आशुतोष राईका अनुसार माघ महिनामा तीन करोड भन्सार राजश्वको लक्ष्य राखे पनि माघ अन्तिम सातासम्म एक करोड साठी लाख रुपैयाँमात्रै भन्सार–राजश्व संकलन भएको छ।

प्रकाशित: २७ माघ २०७६ ०२:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App