coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

१७ नयाँ भवन बनाउँदै वाणिज्य बैँक

काठमाडाैँ - कमजोर व्यवस्थापनका कारण लामो समय घाटामा सञ्चालन भएको सरकारी मातहतको वाणिज्य बैँकले नाफा वृद्धि गरेसँगै नयाँ भवन निर्माण गर्ने भएको छ।

कार्यालय प्रयोजनका लागि मुलुकका १७ स्थानमा नयाँ भवन निर्माणका लागि आवश्यक काम भइरहेको बैँकले जनाएको छ। बैँकले घर भाडामा लिई बैँकिङ सेवा दिँदै आएका स्थानमा आफ्नै भवन निर्माण गर्ने योजनमा रहेको बैँकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) किरणकुमार श्रेष्ठले बताए। ‘कुशल व्यवस्थापनको अभावमा लामो समयपछि सम्पूर्ण स्रोत परिचालन गरी नाफामा लैजान सफल भएका छाैँ, सिइओ श्रेष्ठले भने, ‘नयाँ भवन निर्माण सम्पन्न भएपछि बैँकको नाफा अझै बढ्ने छ।

नयाँ १७ भवनमध्ये हाल पाँचवटा निर्माणाधीन अवस्थामा रहेका बैँकका सम्पत्ति विभागका प्रमुख नारायण लामिछानेले बताए। उनका अनुसार हाल काठमाडाैँको थापाथली, वसन्तपुर, कास्कीको पोखरा, रुपन्देहीको भैरहवा र बुटलवमा नयाँ भवन निर्माणाधीन छन्। यी पाँचवटा भवनको निर्माण चालु आव ०७६/७७ को असार मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको उनले बताए। यी भवन निर्माणका लागि करिब एक अर्ब रुपैयाँ खर्च लाग्ने लामिछानेले बताए। त्यसैगरी, भरतपुरको चितवन, बाजुरा, सप्तरीको हनुमाननगर, पाँचथरको फिकल, पाल्पा, कालीकोट, धुलिखेल, सुर्खेत, कञ्चनपुर, लहान र झापाको विर्तामोडमा नयाँ भवन निर्माणका लागि प्रारम्भिक चरणमा काम भइरहेको उनले बताए।

एक दर्जन नयाँ भवनका लागि छनोट तथा टेन्डर प्रक्रियामा रहेको बताउँदै उनले भने, ‘नयाँ बन्ने भवन बैँकिङ प्रयोजनका लागि मात्र प्रयोग हुनेछन्।’ गत वर्ष बैँकले करिब पाँच अर्ब चार करोड रुपैयाँ नाफा गरेको बताउँदै उनले नयाँ भवन निर्माण सम्पन्न भएपछि नाफा अझै बढ्ने बताए। बैँकले चालु आवको दोस्रो त्रैमासिक अवधिमा करिब एक अर्ब ३९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ। त्यसैगरी, सोही अवधिमा करिब दुई अर्ब आठ करोड रुपैयाँ नाफा गरेको प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताए।

बैँकले चालु आवको ६ महिनाको अवधिमा करिब एक अर्ब ५४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। जसमध्ये करिब ७९ करोड रुपैयाँ सहुलियत कर्जा प्रवाह गरेको बैँकले जनाएको छ। उक्त सहुलियत कर्जा नौ सय ९० जनालाई वितरण गरेको प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताए। मुलुकका ७७ जिल्लामा बैँकिङ सेवा दिँदै आएको बैँकका करिब ३० लाख ग्राहक पुगेका छन्। कूल २२ अर्ब रुपैयाँ नेटवर्थ रहेको बैँकको आधार दर अन्य वाणिज्य बैँकभन्दा कम रहेको छ। हालसम्म दुई सय ३८ वटा शाखा कार्यालय, दुई सय पाँच एटिएम बुथ, २८ वटा एक्सटेन्सन काउन्टर र ९३ शाखा रहित बैँकिङ सेवा सञ्चालनमा रहेका छन्।

बैँकले नाफा मात्र नभई सर्वसाधारणलाई चालु आवदेखि निक्षेपमा दिने ब्याज पनि प्रतिस्पर्धी बनाएको उनले बताए। बैँकको सम्पूर्ण स्रोत परिचालन गरी क्लिन एन्ड स्मार्ट आरबिबी विथ कन्सोलटेसन’ अभियान सञ्चालन गरेको बताउँदै श्रेष्ठले पहिलो चरणमा वर्षाैंदेखि बाँकी रहेका बेरुजु, खराब कर्जालगायत किताबी हिसाब किताबका काम सुरु भइसकेको बताए।

प्रकाशित: २७ माघ २०७६ ०२:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App