८ वैशाख २०८१ शनिबार
खेल

एपिएफ र पुलिसको सहज जित

काठमाडौं– सशस्त्र प्रहरीको एपिएफ क्लब र नेपाल पुलिस क्लबले १५औं ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिताको दोस्रो चरणमा लगातार दोस्रो सफलता हात पारेको छ।

नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको मैदानमा आइतबार भएको खेलमा एपिएफले बुलबुले रारा भलिबल क्लबमाथि २५–१५, २५–१२ र २५–१६ को सहज जित हात पारेको हो। यससँगै एपिएफले ११ खेलबाट ३२ अंक जोडेर शीर्षस्थानलाई यथावत् राख्दै उपाधि जित्ने सम्भावना बलियो बनाएको छ।  

दोस्रो स्थानको नेपाल पुलिस क्लबले रारा भलिबल क्लबमाथि २५–१५, २५–१६ र २५–१९ को सहज जित निकाल्दै शीर्षस्थानको एपिएफलाई पछ्याइरहेको छ। जितसँगै पुलिसको ११ खेलबाट ३१ अंक पुगेको छ। दोहोरो हार बेहोरेको बुलबुले १३ अंकसहित छैटाैँ स्थानमा छ। होङ्ग्वान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबले चितवन टाइग्रेससँग ३–२ को हार बेहोरेको छ। न्यु डायमण्डले चितवनसँग २७–२५, २४–२६, १४–२५, २५–१७ र ७–१५ को हार बेहो-यो।

डायमण्डलाई हराएको चितवनले आर्मीसँग भने ३–१ को सेटमा स्तब्ध भयो। पहिलो र दोस्रो सेट २१–२५ र २५–२७ ले गुमाएको चितवनले तेस्रो सेट २७–२५ ले आफ्नो पक्षमा पारेको थियो। तर, चौथो सेट २५–१६ ले गुमायो। यससँगै डायमण्ड १० खेलबाट १९ अंक जोडेर चौथो स्थानमा यथावत् छ। चितवनको १३ खेलबाट १८ अंक पुगेको छ। आर्मी २४ अंक जोडेर तेस्रो स्थानमा छ। दोस्रो राउन्डमा सोमबार तीन खेल हुने आयोजकले जनाएको छ।

प्रकाशित: २७ माघ २०७६ ०१:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App