coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

उपकुलपति नियुक्ति सिफारिस अझै पारदर्शी भएन

धरान - बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपकुलपति नियुक्तिका लागि तीनजनाको नाम सिफारिस भएको एक साता बितिसक्दा पनि नाम सार्वजनिक भएको छैन। सहकुलपति एवं स्वास्थ्यमन्त्री भानुभक्त ढकाल अध्यक्ष रहेको तीन सदस्यीय समितिले गत साता आइतबार नै कुलपति एवं प्रधानमन्त्रीसमक्ष तीनजना प्राध्यापकको नाम सिफारिस गरेको थियो।

विभिन्न सञ्चारमाध्यममा विराट मेडिकल कलेजका सञ्चालक एवं मुटुरोग विशेषज्ञ प्राडा ज्ञानेन्द्र गिरीसँगै प्रतिष्ठानकै कार्यवाहक उपकुलपति प्राडा गुरु खनाल र मेडिसिन विभागप्रमुख एवं मुटु रोग तथा मिर्गौला रोग विशेषज्ञ प्राडा सञ्जीव शर्मा सिफारिस भएको समाचार आइरहेका छन्। तर, सिफारिस समितिले भने एकसाता बितिसक्दा पनि उपकुलपतिमा सिफारिस गरेका नाम सार्वजनिक गरेको छैन।

प्रतिष्ठानका चिकित्सक एवं कर्मचारीले नियुक्ति प्रक्रिया पारदर्शी नभएको भन्दै असन्तुष्टि जनाएका छन्। प्रतिष्ठानस्थित चिकित्सा तथा दन्त चिकित्सा शिक्षक कल्याण समाजले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै छनोट प्रक्रिया पारदर्शी गर्न सरकारसँग माग गरेको थियो। सुशासनको पहिलो कडी पारदर्शिता भएको उल्लेख गर्दै समाजले भनेको छ, ‘उपकुलपति छनोट गर्दा विश्वविद्यालयको भेउ पाउने (पूर्वउपकुलपति, योजना आयोगका प्रमुख इत्यादि), तत्सम्बन्धी अनुभव भएका, निष्पक्ष विज्ञको छनोट समिति बनाएर छान्दा मात्र उपयुक्त पदाधिकारी छान्न सकिन्छ।’

उपकुलपति नियुक्तिका लागि सहकुलपतिको अध्यक्षतामा कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पुसमा ३ सदस्यीय सुझाव समिति गठन गरेका थिए। समिति गठन भएपछि स्वास्थ्य मन्त्रालयले योग्यता पूरा भएकाहरूलाई आवेदन दिन आह्वान गरेको थियो। समिति एवं मन्त्रालयले पनि अहिलेसम्म कति जनाले आवेदन दिए भन्ने पनि सार्वजनिक गरेको छैन।

केही सञ्चार माध्यमले १६ जनाको सूची सार्वजनिक गरे पनि आधिकारिक पुष्टि भएको छैन भने सिफारिस भएका ३ जनाबारे पनि अन्योल कायमै छ। ‘तीनजनाको नाम मिडियाबाट सुनिरहेका छौं, तर कसले कुन मापदण्ड पूरा गरेको हो वा उनीहरू के आधारमा सिफारिसमा परेका हुन् भन्ने जानकारी अहिलेसम्म दिइएको छैन,’ कल्याण समाजका अध्यक्ष डा. विष्णु पोखरेलले भने, ‘बाहिर सुनिए जस्तै आफ्नो मान्छे नै नियुक्ति गर्नु थियो भने यत्रो समय र प्रक्रिया किन खर्च गर्नु ?’

समाजले प्रतिष्ठान २६ वर्ष पुरानो स्थापित संस्था भएकाले अहिलेको अवस्थामा आफ्नो संस्था बुझ्ने, आफ्नै संस्थामा लामो अनुभव भएको, समस्याहरूसँग जानिफकार रहेको गैरराजनीतिक व्यक्तिलाई उपकुलपति नियुक्ति गर्दा उपयुक्त हुने जनाएको छ। यस्तै, अध्ययन, अध्यापन, अनुसन्धान र स्वास्थ्य सेवामा पनि दक्खल भएका प्रतिष्ठानकै प्राज्ञ प्राध्यापक हुनुपर्ने समाजको विज्ञप्तिमा उल्लेख छ।

उपकुलपतिमा सिफरिस भएका भनिएका डा. गिरीलाई स्वास्थ्यमन्त्रीको साथ रहेको चर्चा छ। यस्तै, प्रतिष्ठानका हाल कार्यवाहक उपकुलपति डा. खनाललाई नियुक्ति गर्न नेकपाको दबाब छ भने अर्का चिकित्सक डा. शर्मा अन्तर्राष्ट्रिय स्तरमा ख्यातीप्राप्त दक्ष एवं इमानदार विशेषज्ञ चिकित्सक भए पनि उनको राजनीतिक पहुँच कम छ।

डा. खनाललाई नेकपा धरानको सिफारिस
कार्यवाहक उपकुलपति रहेका रेक्टर प्राडा गुरु खनाललाई प्रतिष्ठानको उपकुलपतिमा नियुक्ति गर्न नेकपा धरान उपमहानगर कमिटीले सिफरिस गरेको छ। माघ २३ गते नेकपा धरानका अध्यक्ष नारायण सुवेदी र सचिव सुदर्शन श्रेष्ठले स्वास्थ्य तथा जनसंख्यामन्त्रीलाई पत्र पठाउँदै डा. खनाललाई नै उपकुलपति बनाउन सिफारिस गरेका छन्। यो पत्र शुक्रबार सामाजिक सञ्जालमा सार्वजनिक भएपछि नेकपाको चौतर्फी आलोचना भइरहेको छ। उपकुलपतिमा गैरराजनीतिक व्यक्ति नियुक्ति गर्नुपर्नेमा नेकपाले राजनीतीकरण हुने गरी सिफारिस गरेको भन्दै सामाजिक सञ्जालमा टीकाटिप्पणी भइरहेको छ।

प्रकाशित: २६ माघ २०७६ ०१:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App