७ वैशाख २०८१ शुक्रबार
समाज

अढाई वर्षपछि फुक्यो पुलको गाँठो

वीरगन्ज - बेल्वा र मुसैलीबीच अवस्थित भेंडहा खोलाको पुल निर्माण सम्पन्न भएको अढाई वर्षसम्म सञ्चालनमा आउन सकेको थिएन। बाटोसँग नजोडिँदा निर्माण सम्पन्न पुल खोलामाथि त्यत्तिकै उभिएको थियो। अब भने सांसद, नगरप्रमुख र प्रमुख जिल्ला अधिकारी पुलमै पुगेर विवादको फुकाएपछि उद्देश्यअनुसार पुलको प्रयोग हुने भएको छ।

सो पुल पर्साको वीरगन्ज महानगरपालिका–३१ देखि दक्षिण–पश्चिमस्थित २९ नम्बर वडाको मुसैलीमा पर्छ। मुसैली हुँदै जाने सो ग्रामीण बाटो पश्चिममा पर्साकै पर्सागढी नगरपालिका हुँदै सखुवा पसौनी, जिराभवानी र ठोरीसम्मलाई जोड्छ। बाह्रै महिना पानी रहने भेंडहा खोलाले वर्षामा भने राष्ट्रिय वनबाट भेल बोकेर ल्याउने गर्छ। खोलावारि र पारिका स्थानीयले यस समस्याबाट छुटकारा पाउन चाहेका थिए।

स्थानीयको चाहनाअनुसार २०७२ कात्तिकमा पुल निर्माण कार्य सुरु भयो। पुललाई जोडने दुवैतर्फको सडक वेलवा र मुसैलीबासीको निजी जग्गाबाट भएर जाने भएका कारण प्रभावित स्थानीयले विरोध गरे। निर्माणस्थल खोलाको जग्गामा भएका कारण पुल निर्माण कार्यमा भने कसैले अवरोध गरेनन्। २०७४ सालमा पुल निर्माण कार्य सम्पन्न भयो। तर जग्गाधनी स्थानीयले पुल जोड्ने बाटो दिएनन्, जसले गर्दा पुल सञ्चालनमा हुन सकेन।

गत सोमबार दिउँसो पर्सा क्षेत्र–१ का सांसद प्रदीप यादव, वीरगन्ज महानगरपालिका प्रमुख विजयकुमार सरावगी, पर्साका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, सशस्त्र प्रहरी उपरीक्षक दीपेन्द्र कुँवर, सडक डिभिजन कार्याल हेटौंडाका डिभिजनल इन्जिनियर सुमन योगेश र प्रहरी नायब उपरीक्षक गौतम थापालगायतले पुलमै पुगेर स्थानीयसँग छलफल गरे। संवादले निकास दिन्छ भन्ने भनाइ सत्य साबित भयो। विवादको गाँठो फुक्यो। महानगरले आवागमनयोग्य बाटो बनाइदिने भयो। यसरी बनेको साढे दुई वर्षपछि भेंडहा पुल सञ्चालन हुने भयो।

उक्त पुल जोड्ने दुवैतर्फको बाटोका सम्बन्धमा स्थानीयका तर्फबाट पर्सा जिल्ला तथा पुनरावेदन अदातलसम्म विवाद र मुद्दा पुगेको थियो। अहिले भने समस्या समाधान भएपछि स्थानीय हर्षित छन्। सांसद प्रदीप यादवले पुल निर्माणको प्रारम्भिक चरणमा भएको लापरबाहीका कारण पुलको दुवै मोहडा निजी जग्गासँग जोडिन पुगेको बताए।

उनले पुल सञ्चालन भएपछि यो बाटो भएर आउने–जाने हजारौं तथा वारिपारि दुवै तर्फका गाउँबासीलाई प्रत्यक्ष फाइदा हुने बताउँदै सडकमा पर्ने जग्गाधनीसँग बाटो निर्माणका लागि सहयोगको याचना गरेका थिए। नभन्दै छलफलपछि सहमति पनि भयो।

वीरगन्जका नगरप्रमुख विजयकुमार सरावगीले भेंडहा खोलाको बाढी नियन्त्रणका लागि विशेष पहल गरिरहेको बताएपछि समझदारीको वातावरण बनेको थियो। पप्पु समा ज्वाइन्ट भेन्चर निर्माण कम्पनीले ६ करोड ५० लाखको लागतमा २०७४ सालमा सो पुल निर्माणको काम पूरा गरेको थियो।

प्रकाशित: २६ माघ २०७६ ०१:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App