८ वैशाख २०८१ शनिबार
फोटो फिचर

सुन्दर सौराहा, हात्ती–गैंडा र मोहित मनहरु

काठमाडौं- राजधानी उपत्यकाको धुलो, धुवाँ र अस्तव्स्तताबाट ग्रसित यी नजरलाई चितवनको हरियली, स्वच्छ हावा पानीले मोहित बनाएको छ। उपत्यकाको यस शहररुपी मानव जंगलबाट बाहिर निस्किएर केही दिनको चितवन भ्रमणले मलाई साँच्चिकै कुनै काल्पनिक स्वर्गमा पुगेर पुनः मर्त्यलोकमा फर्किएजस्तो अनुभूति भएको छ। पर्यटकीय नगरी सौराहामा हरेक वर्षजस्तै वर्ष २०७३ मा पनि चितवन हात्ती महोत्सव आयोजना गरिएको छ। यही महोत्सवमा सहभागी हुन कसोकसो चितवनको सौराहा पुग्ने अवसर मलाई पनि प्राप्त भयो।

राजधानी शहरबाट झण्डै १५० किलोमिटर दक्षिण दूरीमा पर्छ चितवन। करिब ४ देखि ५ घण्टाको सडक सवारीबाट पुग्न सकिने चितवन राजधानीबाट हेटौंडापछि सम्भवतः सबैभन्दा नजिकको शहर हो। मध्ये तराईमा रहेको, काठमाडौंपछिको नेपालको वैकल्पिक राजधानीसमेत बन्न सक्ने भनेर चर्चामा रहको यो जिल्ला साँच्चै नै सुन्दर र विशाल समथर भूमिसहितको रहेछ। व्यापारिक, औद्योगिक, भौगोलिक हरेक हिसाबले महत्वपूर्ण यस जिल्लाको सौराहा क्षेत्र अझ प्राकृतिक रोमाञ्चकताले भरिएको रहेछ।

जंगल, खोलानदी, सीमसार, तालले ढाकिएको समथर फैलिएको भूभाग, जैविक, धार्मिक, सांस्कृतिक, ऐतिहासिकलगायत विविधताको केन्द्रजस्तो लाग्ने यस ठाउँको तस्बिर मैले क्यामेरामा भन्दा आफ्नै मनमुटु र मानसपटलमा ज्यादा कैद गरेहुँला।

विश्वमै दुर्लभ मनिने एक सिङे गैंडाको स्वर्गीय क्रिडा स्थल पनि रहेछ यहीँ नजिक रहेको चितवन राष्ट्रिय निकुञ्ज। निकुञ्जका कार्यालय भनव छेउछाउमा समेत आएर चरिरहेका एकसिङे गैंडा, चितुवा, चराचुरुङीहरुको स्वच्छन्दतालाई देख्दा कुनै धार्मिक ग्रन्थमा व्याख्या गरिएको स्वर्गीय वन विहारको महसुस हुँदो रहेछ। 

यस ठाउँमा रहेको थारु समुदायलगायत व्यक्तिहरुले पाहुनाप्रति दर्साउने अगाध श्रद्धाभाव, सहयोगी भावना, व्यावसायीक पन, उनीहरुका संस्कार संस्कृति, थरु डँडिया नृत्य सबैसबै क्यामेरामा हैन मनमष्तिस्कमै कैद गरेको छु मैले। विस्मृतिमा जाने डरले तस्बिर संग्रहका पानाहरु पल्टाएर स्मृतिलाई ताजा बनाउन क्यामेराले पनि खिचिको छु मैले यी सुन्दर तस्बिरहरु।

भिडियो हेर्नुस्:

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App