coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

चीनबाट उद्धार गर्न ढिलाइ

काठमाडौं – सरकारले राख्ने ठाउँको टुंगो लगाउन नसक्दा नोवल कोरोना भाइरसको महामारी फैलिएको चीनको हुबेई प्रान्तमा रहेका नेपाली नागरिकको उद्धार अन्योलमा परेको छ। सरकारले उद्धार गरेर ल्याइएका नेपालीलाई राख्न उपत्यकाका चार ठाउँ छनोट गरेको भने पनि अझै टुंगो लाग्न सकेको छैन।

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा चीनबाट उद्धार गरी ल्याउन लागिएका व्यक्तिलाई राख्ने ठाउँ तोकिएको विवरण बिहीबार नै सार्वजनिक भएको थियो। तर स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारीका अनुसार उद्धार गरेर ल्याइएका नागरिकलाई राख्न उपयुक्त संरचना र आवश्यक जनशक्ति तयार पार्न समय लाग्ने देखिएको छ।

उद्धार गरेर ल्याएका व्यक्तिलाई राख्न क्वारेनटाइनका लागि तोकिएका भवनको निरीक्षण गरी विशेषज्ञ टोलीले उपयुक्त भनी सिफारिस गर्नुपर्ने र लिन जाने व्यक्तिलाई तालिम दिनुपर्ने भएकाले उद्धारको विषय सोचेजति सहज नरहेको ती अधिकारीको भनाइ छ। विशेषज्ञ टोलीले ठाउँको विषयमा अध्ययन गरिरहेको र उद्धारमा संलग्न हुने कर्मचारीलाई तालिम दिने काम भइरहेको उनले बताए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले चीनबाट फर्किएकालाई राख्ने ठाउँबारे सरकारले तयारी गरिरहेको बताए। अन्य विषयमा सरकारले चाँडै व्यवस्थापन गर्ने उनको भनाइ छ। प्रधानमन्त्री ओलीको निर्देशनमा खरिपाटीसहित इचंगुनारायण, सूर्यविनायक र शिवपुरीमा क्वारेनटाइन स्थल व्यवस्थित गर्ने भनिएको थियो। खरिपाटीबाहेक अन्य ठाउँमा अध्ययन नभएको प्रधानमन्त्री कार्यालयका एक अधिकारीले नागरिकलाई बताए। खरिपाटीमा राख्ने विषयमा पनि स्थानीय बासिन्दासहित जनप्रतिनिधिको अवरोध रहेकाले कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल चलिरहेको उनको भनाइ छ।

सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलालले चीनबाट ल्याइएकालाई खरिपाटी, शिवपुरी, सूर्यविनायक र इचंगुनारायणमा राख्नेगरी छलफल भइरहेको जानकारी दिँदै आइतबारसम्ममा निकास खोजिने बताएका छन्।

चीनबाट उद्धार गरेर ल्याइएकालाई राख्न खरिपाटीमा नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा रहेका दुईवटा भवन खाली गराइएको छ। भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले प्रधानमन्त्रीको निर्देशनअनुसार खरिपाटीमा भवन व्यवस्थापन गरिएको बताइन्। ती भवनमा ४८ कोठामात्र रहेकाले उद्धार गरिएका अन्य व्यक्तिलाई राख्न अन्य ठाउँको पनि खोजी भइरहेको जानकारी पाएको प्रमुख जिल्ला अधिकारी पाण्डेको भनाइ छ। सूर्यविनायकमा रहेको कृषिको भवन र नगरकोटमा पनि राख्ने विषयमा कुराकानी भइरहेको जानकारी प्राप्त भएको बताउँदै उनले त्यसका लागि टोली नै गठन भएको जानकारी दिइन्।

सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलालले चीनबाट ल्याइएकालाई कहाँ राख्ने भनेर निर्णय भइनसकेको बताए। खरिपाटी, शिवपुरी, सूर्यविनायक र इचंगुनारायणमा राख्नेगरी छलफल भइरहेको जानकारी दिँदै उनले आइतबारसम्ममा निकास खोजिने बताए। ‘विभिन्न ठाउँको अध्ययन गर्ने काम भइरहेको छ’, महानिर्देशक गेलालले भने, ‘ती ठाउँमा रहेका भवनमा राख्न उपयुक्त देखिएमा चाँडै निर्णयमा पुग्छौं।’

सरकारले चीनबाट फर्काइएकालाई खरिपाटीमा राख्ने तयारी गरेसँगै सो स्थान पर्ने चाँगुनारायण नगरपालिकाले विकल्प खोज्न सरकारलाई सुझाव दिएको छ। कोरोना भाइरसको महामारीको प्रकोप फैलिएको वुहानबाट फर्किएका व्यक्तिहरुलाई खरिपाटीमा राख्ने निर्णयसँगै स्थानीयको दबाब आउन थालेपछि अन्यत्रै व्यवस्थापन गर्न संघीय सरकारलाई अनुरोध गरिएको नगरप्रमुख सोमप्रसाद मिश्रले बताए।

वुहानमा रहेका नागरिकलाई स्वदेश फर्काउन सरकारले तयारी थालेपछि त्यहाँ रहेका एक सय ८० नेपालीले आवेदन दिइसकेका छन्। चीनमा रहेको नेपाली दूतावासले विमान चार्टर गरेर स्वदेश फिर्ता ल्याउने भन्दै इच्छुक नेपालीलाई फारम भर्न भनेको थियो। फारम भरेको एक साता हुँदा पनि ठाउँको व्यवस्थापन नहुँदा कहिले फिर्ता ल्याउने भन्ने विषयमा सरकारी अधिकारी नै अन्योलमा छन्। वुहानमा रहेका नेपालीका अभिभावकले भने छिटो फिर्ता ल्याउन सरकारलाई निरन्तर दबाब दिइरहेका छन्।

 

प्रकाशित: २६ माघ २०७६ ०१:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App