coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

एमसिसी पास गराउन कूटनीतिक पहल

काठमाडौं - सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरू अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को विपक्षमा उभिएपछि त्यसलाई पास गराउन कूटनीतिक पहल सुरु भएको छ। प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले संसद्बाट एमसिसी छिट्टै पास हुने बताए पनि अन्य नेताहरूले अहिले राखिएका प्रावधान संशोधन नभई पास नहुने बताएपछि अमेरिकाले कूटनीतिक पहल थालेको हो।

नेपालका लागि अमेरिकी राजदूत -यान्डी बेरीले बिहीबार पूर्वप्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता तथा विदेश मामिला विभाग प्रमुख माधवकुमार नेपाललाई उनकै निवासमा पुगेर भेट गरे। यता अमेरिकी राजदूतको भेटघाट बढिरहेका वेला एमसिसीका डेपुटी प्रमुख जोनाथन ब्रुक्स पनि नियमित परामर्शका लागि भन्दै नेपाल आएका छन्।

यसअघि माघ ३ गते अमेरिकी दूतावासले एमसिसीका १० महत्वपूर्ण बुँदासमेत सार्वजनिक गरेको थियो जसमा एमसिसी परियोजनामा कुनै सैन्य मामिला नजोडिएको स्पष्ट पारिएको थियो। त्यसपछि नेकपाको केन्द्रीय कमिटीको बैठकमा एमसिसीबारे व्यापक विरोध भएपछि राजदूत आफैं सक्रिय मात्रै भएका छैनन्, एमसिसीका युरोप–एसिया प्रशान्त उपप्रमुखसमेत रहेका ब्रुक्स स्वयं चार दिने भ्रमणका लागि नेपाल आएका हुन्।

‘सत्तारूढ दलभित्र व्यापक विरोध भएकाले त्यसबारे स्पष्ट पार्ने र कूटनीतिक लबिङ सुरु भएको देखिन्छ,’ नेकपाका एक नेताले नागरिकसँग भने। उनका अनुसार विदेश विभाग प्रमुख नेपालनिकट भीम रावलले बढी नै विरोध गरेका कारण राजदूतले नेपालसँग भेटघाट गरेका हुन्।

नेकपाको केन्द्रीय कमिटीको बैठकमा एमसिसीबारे व्यापक विरोध भएपछि राजदूत आफैं सक्रिय मात्रै भएका छैनन्, एमसिसीका युरोप–एसिया प्रशान्त उपप्रमुखसमेत रहेका ब्रुक्स स्वयं चार दिने भ्रमणका लागि नेपाल आएका हुन्।

दूतावासले कूटनीतिक पहल गरिरहेका बेला नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले आफू एमसिसीको पक्षमा रहेको बताए पनि अहिलेका सर्तमा केही संशोधन हुने संकेत गरेका छन्। उनले एमसिसीमा रहेका केही अस्पष्ट विषयलाई प्रस्ट पारेर पारित गर्ने पक्षमा आफू रहेको उल्लेख गरेका छन्। उनले पोखरा र काठमाडांैमा भएका छुट्टाछुट्टै कार्यक्रममा नेपाल–अमेरिका दुवै पक्षबाट एमसिसीबारे प्रस्ट पारिनुपर्ने केही विषय रहेको बताए। अमेरिकासँग नेपालको ऐतिहासिक सम्बन्ध रहेको बताउँदै उनले एमसिसीमार्फत अनुदान दिन लागिएको अर्बौं रकम नेपालका लागि अवसर भएको स्पष्ट पारे।

यता नेकपा केन्द्रीय कमिटीको बैठकको निर्देशनबमोजिम एमसिसीबारे स्पष्ट पार्न तीन सदस्यीय कार्यदल गठन भएर त्यसको दोस्रो बैठकसमेत बसिसकेको छ। पार्टीका वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा गठित उक्त कार्यदलमा स्थायी कमिटी सदस्य भीम रावल, परराष्टमन्त्री प्रदीप ज्ञवाली सदस्य छन्। खनाल र रावल दुवै एमसिसीको विपक्षमा छन्। कार्यदलको दोस्रो बैठकले सन्दर्भ सामग्रीको संकलन र अध्ययन गर्ने निर्णय गरेको छ।

कार्यदलका सदस्य रावलका अनुसार सन्दर्भ सामग्री संकलन गरेर अध्ययन गर्ने र त्यसबारे बैठकमा आफ्ना धारणा राख्ने निर्णय भएको जानकारी दिए। ‘सन्दर्भ सामग्री अध्ययन हुँदैछ। हामी कार्यदलमा बसेका सदस्यहरूले प्रतिवेदन नबुझाउन्जेल यो विषयमा कहीँकतै प्रतिक्रिया दिन नमिल्ने निर्णय भएकाले थप जानकारी दिन सकिँदैन,’ कार्यदल सदस्य रावलले भने।

कार्यदलमा रहेका वरिष्ठ नेता खनालले केही समयअघि एमसिसी नेपालको हितमा नरहेको र त्यसलाई जस्ताको तस्तै पारित गर्नुहुन्न भन्ने अभिव्यक्ति दिँदै आएका छन्। केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष दाहालले नेपालको भूराजनीतिलाई हेरेर एमसिसीबारे निर्णय गर्नुपर्ने, अमेरिकासँग वार्ता गरेर केही बुँदा सच्याउनुपर्ने र त्यसलाई राष्ट्रिय हितमा ल्याउनुपर्ने धारणा राखेका थिए।

प्रकाशित: २६ माघ २०७६ ०१:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App