८ वैशाख २०८१ शनिबार
अर्थ

वीरगन्जमा प्रदेशस्तरीय रोजगार मेला

रोजगार मेलामा प्रदेश २ का मुख्यमन्त्री राउत । तस्बिरः नागरिक

वीरगन्ज- वीरगन्जमा पहिलो पटक प्रदेशस्तरीय रोजगार मेला आयोजन भएको छ। त्रिजुद्ध माध्यमिक विद्यालयमा आयोजित एकदिने ‘बृति परामर्श तथा रोजगार मेला’को उद्घाटन प्रदेश २ का मुख्यमन्त्री मोहमद लालबाबु राउतले गरे। बेरोजगार युवा र रोजगारदाताबीच सम्पर्क स्थापित गराएर रोजगारी वृद्धी गराउने उद्देश्यले सो मेला आयोजन गरिएको आयोजक वीरगन्ज महानगरपालिकाले जनाएको छ।

यहाँ ४६ वटा रोजगारप्रदायक कम्पनीहरुको ‘स्टल’ राखिएकोमा ५ हजारभन्दा बढी युवाहरु मेलाको अवलोकन गरे। यो आयोजनले रोजगारप्रदायक र रोजगारी चाह्नेहरुबीच पुलको काम गर्ने आयोजकको अपेक्षा छ।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकाी संस्थाका कामप्रति असन्तोष ब्यक्त गरे। उनले प्रदेश सरकारको समन्वय र सहकार्यविना उनीहरुले कार्यक्रम चलाएको कारण अपेक्षकृत परिणाम आउनु नसकेको बताए। मुख्यमन्त्री राउतले प्रदेश सरकारले एकद्वार प्रणालीबाट सामाजिक संस्थाहरुलाई काम गर्न गराउने कानुन ल्याउने प्रदेश सरकारको तयारी रहेको बताए। रोजगार मेलालाई उनले ‘सार्थक किसिमको आयोजन’ भने।

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिइभिटी) द्वारा सञ्चालित ‘दिगो तथा सम्मानित रोजगारीका लागि सीप’ भन्ने स्विटजरल्याण्ड सरकारको सहयोगमा सञ्चालित परियोजना अन्तरगत यो ‘बृति परामर्श तथा रोजगार मेला’ गरिएको हो। कार्यक्रममा बोल्दै सांसद प्रदिप यादवले सीपविना विदेशमा गएका युवाहरुले बिभिन्न समस्या भोग्नेदेखि ज्यान गुमाउनुसम्मका घट्नामा परिरहेको बताए। युवाहरुलाई आवश्यक तालिमको र शुन्य ब्याजमा ऋण उत्पलब्ध गराएर स्वरोजगारी मार्फत यसको समाधान खोज्न सकिने सांसद यादवले धारणा राखे।

वीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीले बेरोजगारी न्यूनिकरणका लागि बृति परामर्श रोजगारी मेलाको आयोजना गरिएको बताए। सहआयोजक संस्था वीरगन्ज उधोग वाणिज्य संघका कार्यवाहक अध्यक्ष सुबोध गुप्ताले नीजि क्षेत्रको लागि अनुकुल वातावरण सिर्जना भए स्वदेशमै रोजगारी बढ्ने दावी गरे। रोजगार तथा तालिम प्रदायक संस्थाका प्रदेश सचिव ललन तिवारी, वीरगन्ज महानगरपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत अरुणकुमार महतो लगायत बोलेका थिए।
 

प्रकाशित: २५ माघ २०७६ १३:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App