१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

धिमेबाजाले गुन्जियो भक्तपुर

भक्तपुर- शनिबार भक्तपुरमा कुनै चाँंडवाँंड थिएन। न त जात्रापर्व नै थियो। न त कतै ठूलो भोजभतेर अनि सभासमारोह नै। तर यस्तै चाँंडवाँंड, जात्रापर्व, भोजभतेर अनि सभासमारोहमा मात्रै बजाउने धिमेबाजाले शनिबार बिहानदेखि दिनभर भक्तपुर नगर गुन्जायमान बन्यो।

भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुर जिल्लास्तरीय धिमेबाजा प्रतियोगिताको क्रममा प्रतिस्पर्धी सबै बाजा टोलीलाई बाजा बजाएर बजार परिक्रमा गराउन लगाएपछि धिमेबाजाले पूरै नगर गुन्जायमान हुन पुगेको हो। प्रतिस्पर्धी प्रत्येक धिमे टोलीहरुलाई भक्तपुर नगरको पश्चिममा रहेको इनागबाट बाजा बजाएर नगर परिक्रमा गर्न लगाइएको थियो। त्यहाँंबाट भार्बाचो, टेखापुखु, बंशगोपाल, नासमना, बुल्चा, टौमढी, क्वाछें, साकोठा, सुकुलढोका, गोल्मढी, इनाचो हुँंदै नगरको पूर्वमा रहेको दतात्रयसम्मको रुट छुटाइएको थियो। त्यही रुटमा प्रतिस्पर्धीले बाजा बजाएर हिड्दा नगरभरि धिमेबाजाको गुन्जायमानले गर्जेको हो।

प्रतिस्पर्धी टोलीहरुलाई तीसदेखि ५० मिटरको फरकमा राखेर नगर परिक्रमा गराइएको थियो। यति फरकमा दिनभर लहर रहेपछि दिनभर धिमेबाजाले नगर गुन्जयमान बनेको हो।

आयोजक नगरपालिकाले जनाए अनुसार प्रतिस्पर्धामा ७७ वटा टोलीहरु सहभागी छन्। योजना अनुसार एकदिनमा प्रतियोगिता सम्पन्न गराउने रहेको थियो। तर सोचे भन्दा बढि प्रतिस्पर्धी सहभागी हुन आएपछि एकैदिन सबैलाई नगर परिक्रमा गराउन नभ्याउने भएर प्रतियोगिता शनिबार र आइतबार दुई दिन हुने गरी लम्ब्याउनु परेको आयोजकले जनायो। प्रतिस्पर्धीमध्ये पहिलो दिन शनिबार ४० वटा प्रतिस्पर्धीहरुलाई बाजा बजाएर बजार परिक्रमा गराइने र बाँंकीलाई अन्तिम दिन आइतबार बजार परिक्रमा गराउने योजना राखिएको छ।

प्रतियोगीहरुमध्ये उत्कृष्टलाई अन्तिम दिन आइतबार साँंझ पुरस्कृत गरिने योजना बनाइएको छ। यसका लागि एक सय पूर्णाङकमा टोलीहरुको मूल्यांकनको व्यवस्था गरिएको छ। ८० पूर्णाङक स्थलगत मूल्यांकनमा छुटाइएको छ। त्यसका लागि प्रत्येक टोलीले बजार परिक्रमाको अन्तिम स्थल दतात्रयमा बाजा बजाएर देखाउने छन्। यहाँं गरिने ८० पूर्णाङक ६ भागमा विभाजन गरिएको छ। बोल, ताल र लयकारीमा ३०, समयको परिपालनामा पाँंच, अनुशासनमा पाँंच, हाउभाउमा १०, भेषभूषामा १० र प्रष्टतामा २० पूर्णाङक राखिएको छ।

उता बजार परिक्रमाको क्रममा राखिएको २० पूर्णाङकमा पनि चार भागमा छुटाइएको छ। २० पूर्णाङकमा बोल, ताल र लयकारीमा पाँंच, संख्यामा पाँंच, अनुशासनमा पाँंच र आकर्षणमा पाँंच पूर्णाङक छुटाइएको छ। मूल्यांकनका लागि ठाउँंठाउँंमा मूल्यांकन टोलीको व्यवस्था गरिएको जनाइएको छ।

यसअघि कार्यक्रमको उदघाटन बिहान रयाली सुरु हुनु अघि र्‍याली सुरु हुने स्थान नगरको पश्चिममा रहेको इनागमा गरिएको थियो। धिमे बजाउने टोलीमा धिमे(बाद्यबादक) बजाउने दुई जना, भुछ्याँं (बाद्यबादक) बजाउने एक जना र सिछ्या(बाद्यबादक) बजाउने एक जना घटीमा चार जनाको टोली समावेश हुनुपर्छ। प्रतिस्पर्धी टोलीमा एक वा सोभन्दा बढि प्रतियोगी टोली सहभागी हुन पाउने व्यवस्था रहे पनि बाजा बनाउने कलाकार भने दोहरिन नहुने निमय बनाइएको छ।

आयोजक भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरको कला, संस्कृतिलाई जोगाइराख्न प्रतियोगिता आयोजना गरेको बताए। भक्तपुर महोत्सवको सिलसिलाको रुपमा प्रतियोगिता गरेको उनले बताए। भक्तपुर महोत्सव चैत चार गतेदेखि ८ गतेसम्म हुँंदैछ।   

 

प्रकाशित: २५ माघ २०७६ १२:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App