coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

यस्तो रहेछ प्रहरी चौकी आक्रमण गर्नुको कारण (अप्डेट)

आक्रमण गरिएको प्रहरी चौकी तिपेनी ।

सिन्धुपाल्चोक- मादक पदार्थ सेवन गरेर लठ्ठिएको समूहले फेरि रक्सी थप्न नपाएको झोँकमा जिल्लाको तिपेनी प्रहरी चौकीमा आक्रमण गरेको खुलेको छ।

सात–आठवटा मोटरसाइकल चढेर १०–१५ जनाको संख्यामा आएको समूहले शनिबार मध्यराति साढे १२ बजेतिर पाँचपोखरी थाङपाल गाउँपालिका–८ खाल्डेमा रहेको चौकीमा आक्रमण गरेका थियो। आक्रमणबाट चौकी इन्चार्ज असई सन्तोषकुमार झा र हवल्दार हरिबहादुर मगर घाइते भएका थिए।

प्रत्यक्षदर्शी स्थानीयका अनुसार आक्रमणकारीको समूह नजिकै गाउँको एउटा पूजाबाट घर फर्कँदै थियो। सो पूजामै मदिराले लठ्ठिएको थियो। खाल्डे पुगेपछि चौकी अघि पुगेर उनीहरुले मादक पदार्थ थप्न एक पसल खुलाउने प्रयास गरेका थिए। सञ्चालकले नखोलेपछि होहल्ला गर्दै उनीहरुले पसलमा ढुंगा बर्साउन थाले। नजिकबाट यी सबै देखिरहेका चौकीका प्रहरी सम्झाउन त्यहाँ पुग्दा उनीहरुमाथि उल्टै आक्रमण गरिएको हो। घाइते असई झा बर्दीमै सम्झाउन पुगेका थिए। उनको कमाण्डमा चौकीमा पाँच सुरक्षाकर्मी मात्र थिए।

प्रहरीमाथि आक्रमण गर्दै आक्रमणकारीले चौकी तोडफोड प्रयाससमेत गरेका थिए। तोडफोडबाट चौकीमा सामान्य क्षति पुगेको छ। चौकीका झ्याल, ढोका फुटेका छन्। इलाका प्रहरी कार्यालय मेलम्चीका प्रमुख इन्स्पेक्टर बलबहादुर तामाङले मादक पदार्थ सेवन गरेर होहल्दा गर्दै आएको समूहलाई चौकीका सुरक्षाकर्मीले सम्झाउँदा उल्टै आक्रमण गरेको बताए। ‘मदिराले लठ्ठिएर होहल्ला गर्दै थिए। सम्झाउँदा प्रहरीमाथि नै आक्रमण गरे,’ उनले नागरिकसँग भने।

उनका अनुसार आक्रमणकारी समूहले चौकीमा ढुंगामुढा गर्दै सुरक्षाकर्मीलाई काठको चिर्पटले हिर्काएका थिए। सो समूहले प्रहरीलाई निशाना बनाउँदै चौकी तोडफोडको प्रयास गरेपछि सुरक्षाकर्मीले चार राउण्ड हवाइफायर गरेका थिए। हवाइ फायरपछि मात्र आक्रमणकारी भागेका थिए। भाग्ने क्रममा प्रहरीले आक्रमणकारीमध्येका एक मेलम्ची नगरपालिका–९ सुनखानीका सोमबहादुर तामाङलाई पक्राउ गरेको छ। उनलाई हिरासतमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। स्थानीयका अनुसार तामाङ अवकास प्राप्त सशस्त्र प्रहरी हुन्।

असई झाको गम्भिर अवस्थामा राजधानीको महाराजगञ्जस्थित नेपाल प्रहरी अपतालमा उपचार भइरहेको छ। अनुहारमा गम्भिर चोट लागेका उनलाई राति नै उपचारका लागि लगिएको थियो। घाइते हबल्दार मगरको भने मेलम्चीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।

प्रहरीले आक्रमणकारीले प्रयोग गरेका चारवटा मोटरसाइकल नियन्त्रणमा लिएको छ। हवाइफायरपछि केही मोटरसाइकलै चढेर भागेका थिए। कोही भने मोटरसाइकल छोडेर पैदलै भागे। इन्स्पेक्टर तामाङले आक्रमणकारी सबैको पहिचान भइसकेको बताए। फरार आक्रमणकारीको खोजी भइरहेको उनले जानकारी दिए। साँझसम्म एक जनाबाहेक कोही पक्राउ परेका छैनन्।  

 

 

प्रकाशित: २५ माघ २०७६ १२:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App