७ वैशाख २०८१ शुक्रबार
समाज

दाङसहित १३ जिल्लामा हात्तिपाईले रोगविरुद्धको औषधि खुवाईँदै

दाङ- दाङलगाएत १३ जिल्लामा शनिबारदेखि हात्तिपाईले रोगविरुद्धको औषधि खुवाउन सुरु गरिएको छ। जिल्लाका प्रत्यक नागरिकलाई औषधि खुवाउने लक्ष्य अनुरुप स्वास्थ्यकर्मीहरु ग्रामिण तहमा खटिएका छन्। सर्वसाधारणहरुले हात्तिपाईले रोगविरुद्धको औषधि खान नमानेका कारण औषधि खुवाउने सरकारी अभियान १० औँ चरणमा पुगेको छ।

सरकारले ६ वर्षमै यो रोग निर्मुल पार्ने लक्ष्य अनुरुप अभियान सुरु गरेको थियो। ‘विभिन्न स्वास्थ्य समस्या आउने त्रासका कारण सर्वसाधारणहरुले यो औषधि सेवन गर्न नमान्ने यथार्थता हो,’ जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सुनिता पौडेलले भनिन् ‘तर अहिले हामी यो चुनौतीलाई सहजै चिर्दै सबै नागरिकहरुलाई औषधि खुवाउने छौँ।’ उनका अनुसार यो औषधि सेवन गर्दा कुनै पनि समस्या नहुने भनेर सर्वसाधारणहरुलाई विश्वस्त पारिने छ।

१० औँ चरणको यो अभियान अन्तर्गत दाङसहित झापा, मोरङ, धनकुटा, बारा, लमजुङ, पर्वत, बालुङ, बपिलवस्तु, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा औषधि खुवाईँदै छ। ६ वर्षअघिदेखि थालिएको सो अभियानका क्रममा दाङमा अहिलेसम्म ५८ प्रतिशतले मात्रै औषधि सेवन गरेको जिल्ला स्वास्थ्य प्रमुख पौडेलले बताइन्। जनस्वास्थ्यका अनुसार जिल्लामा हात्तिपाईलेका कारण हाईड्रोशिल भएका १ हजार ६ सय १९ जना बिरामी छन्। यसैगरि खुट्टा सुन्निएका ४ सय २९, र हाईड्रोशिलसँगै खुट्टा सुन्निएका १६ गरि जिल्लामा २ हजार ५६ जनामा हात्तिपाईलेको संक्रमण रहेको छ।

दाङका ६ लाख ४४ हजार ५ सय ६३ जनालाई हात्तिपाईले रोगविरुद्धको औषधि खुवाउने लक्ष्य राखिएको पनि जिल्ला स्वास्थ्य कार्यालय प्रमुख पौडेलले जानकारी दिईन्। ‘हामीहरु सर्वसाधारणहरुको घरघरमै पुगेर पनि यो औषधिका फाईदा बारे जानकारी गराउँछौँ,’उनले भनिन् ‘उहाँहरुलाई कन्भिन्स गरेर औषधि खुवाउने लक्ष्य लिएका छौँ।’ उनले जिल्लाबासीहरुलाई विना त्रासदी औषधि सेवन गर्न पनि अनुरोध गरिन्।   

 

प्रकाशित: २५ माघ २०७६ ०९:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App