coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

कृत्रिम शत्रुको खोजी

भनिन्छ, राजनीतिमा कोही पनि स्थायी शत्रु र स्थायी मित्रु हुँदैन। नेपालजस्तो संसदीय व्यवस्था अँगालेको मुलुकमा त यो भनाइ हुबहु लागु हुन्छ। करिब दशकअघि नेपालले आफ्नो राजनीतिक 'कोर्स' परिवर्तन गर्दै लोकतान्त्रिक गणतन्त्रको मार्गमा हिँड्ने प्रयास गरिरहेको छ। हाम्रा लागि यो नितान्त नौलो बाटो हो। यो बाटोमा हिँड्दा ठेस लाग्नु, कहिलेकाहीँ बाटै भुल्नु पनि अन्यथा होइन। तर, ठेस लाग्दा जुरुक्क उठ्न अनि बाटो भुल्दा सम्हालिएर पुनः सही बाटोमा आउन राजनीतिक दलहरूबीच सहमति, सद्भाव र आपसी विश्वासजस्ता तŒव आवश्यक पर्छन्। अहिले यिनै तŒव हराएका कारण मुलुकको राजनीति पुसको जाडो जस्तै नराम्ररी चिसिन पुगेको छ। एकआपसमा शत्रुतापूर्ण व्यवहार हुन थालेको छ। राजनीतिक दलहरूबीच अविश्वास चुलिनु, शत्रुतापूर्ण व्यवहार हुनु अनौठो होइन, ती नयाँ सरकार गठनको अवस्थामा पुग्दा फेरि मिल्न थाल्छन्। तिनले पुराना शत्रु भनिएकासँग अँगालो मार्न थाल्छन् भने नयाँ शत्रु तयार गर्छन्। यसकारण पनि हाम्रा दलहरू कृत्रिम शत्रु तयार गरेर जनतामा भ्रम छर्न सिपालु रहेका देखिन्छन्। अहिले सत्ताका आँखामा विपक्षी नेकपा एमाले घोर शत्रु हुन पुगेको छ। मधेस केन्द्रित दल पनि सत्तारुढका मित्रु बनिसकेका छैनन्। कृत्रिम शत्रुताको यो खेलले संविधान कार्यान्वयन हुन सकिरहेको छैन भने नगरिनहुने तीन तहका निर्वाचनसमेत अन्योलमा परेको छ।

पञ्चायतकालमा त्यसका पक्षधरलाई बहुदलवादी शत्रु लाग्थे। २०४६ सालमा बहुदल बहाल भएपछि संविधानसभा, नयाँ संविधान, संघीयता, गणतन्त्र तथा राजा हटाएर राष्ट्रपति राख्नेजस्ता कुरालाई हाम्रा कतिपय राजनीतिक दलले शत्रु देखे। तर, समयक्रमसँगै ती चिन्तन तथा राजनीतिक दर्शनमा परिवर्तन आयो र हिजोका शत्रु मित्रु हुन थाले। अहिले पनि कतिपय राजनीतिक दलका निम्ति संघीयता, नयाँ संविधान, प्रदेश निर्माण तथा विकेन्द्रित शासकीय स्वरूप शत्रुजस्तो लागिरहेको छ। मधेस केन्द्रित दलले नयाँ संविधानलाई शत्रु देखिरहेको छ। त्यसमा आवश्यक संशोधन गर्दै जाने र अपनत्व बढाउने कुरामा पनि मधेसी दल अन्योलमै छ। बुधबार तीन ठूला दल नेपाली कांग्रेस, नेकपा एमाले तथा नेकपा माओवादी केन्द्रले पहिला स्थानीय निकायको निर्वाचन (नयाँ संरचनामा) आगामी बैशाखभित्रै गर्ने कुरामा सहमति गरे। यसमा पनि मधेस केन्द्रित दलले आशंका जनाउँदै निर्वाचनलाई आफ्नो शत्रु देखिरहेको छ। वास्तवमा जसले जसलाई, जस्तोरूपमा शत्रु देखे पनि यी सबै कृत्रिम शत्रुमात्र हुन् भन्ने बु‰न नसक्दा समस्याले किनारा नभेटेको हो।

जब कृत्रिम शत्रुका कुरा बढी हुन्छन्, तब आशंका चुलिन्छ र दलहरूबीच मतान्तर बढ्न थाल्छ। हाम्रा राजनीतिक दलहरूका दृष्टिमा कहिले भारत त कहिले चीन शत्रु बनेर उभिदिन्छ। सत्तारोहणका निम्ति तिनले यस्ता कार्डहरू बेलाबखत प्रयोग गर्दै आएका छन्। यी दुवै निकटतम छिमेकीसँग सन्तुलित सम्बन्ध राख्दै कसरी बढीमात्रामा तिनबाट फाइदा लिने भन्नेबारे राज्यसंयन्त्रले सोच्न नसक्दा ती कहिले शत्रु त कहिले मित्रुका रूपमा देखिएका हुन्। विश्वशक्ति बन्ने होडमा दौडिएका यी दुई मुलुकबाट नेपालले लिन सक्ने फाइदा अनेक छन्। यी मुलुकसँग मात्रै अन्तरनिर्भरताको अवस्था निर्माण गर्न सक्दा सानो मुलुक नेपाल उन्नत बनिहाल्छ। त्यतातिर ध्यान नदिई बेकारको कृत्रिम शत्रु र मित्रु बनाउने होडमा लाग्नु हाम्रा निम्ति हितकर छैन। कृत्रिम शत्रुको खोजीमा सारा समय व्यतीत गर्दा वास्तविक शत्रुको खोजी छायाँ पर्दै आएको छ। को हो नेपाल र नेपालीको वास्तविक शत्रु? उत्तर सामान्य नेपालीलाई पनि थाहा छ भने राजनीति गर्ने जनप्रतिनिधिको परिचय पाएका व्यक्तिलाई यसको पत्तो नहुने कुरै भएन। गरिबी, अशिक्षा, चेतनाको अभाव, निषेधको राजनीति हाम्रा वास्तविक शत्रु हुन्। यस्ता शत्रुलाई बेलैमा निदान गर्न र निर्मूल पार्न सर्वप्रथम दलहरूबीच साझा धारणा बन्न जरुरी छ। धारणा बनाउने स्थान भनेको संसद् हो। त्यसलाई अवरुद्ध पार्नु मुलकको गति रोक्नुजस्तै हो। संविधान, लोकतान्त्रिक गणतन्त्र, संघीयताका अवयवजस्ता कुरा केवल साधन हुन्। साध्य त मुलुकको समृद्धि, विकास, राज्यसंयन्त्रमा समान सहभागिता, समतामूलक–समावेशी समाज निर्माण हो। वास्तविक शत्रु बलियो बन्दै हाम्रै वरिपरि मडारिइरहेको छ, दलहरू भने कृत्रिम शत्रुको खोजीमा समय बिताउँदैछन् र जनतालाई निराश बनाउँदैछन्!

प्रकाशित: १५ पुस २०७३ ०३:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App