७ वैशाख २०८१ शुक्रबार
अन्य

तरकारीमा व्यावसायिकता खोज्दै पूर्व बैंकर

श्रीमतीसँग किसान लालबहादुर खत्री । तस्बिरः कमल/नागरिक

‘कृषि पेसा घाटामा जाँदैन । मनग्गे आम्दानी नहोला । तर घाटा छैन । बजार व्यवस्थापन र भन्सारमा नियन्त्रण भए ठूलो आम्दानी देखिन्छ ।’ तरकारी खेतीबारे कुरा गरिरहँदा पूर्व बैंकर लालबहादुर खत्रीले भनेका कुरा हुन् यी । अभिलास जातको टमाटर एउटा बोटमा आठदेखि १० किलोसम्म फल्छ । त्यो २० देखि २५ रुपैयाँमा बिक्री भए पनि एक बिघाबाट करिब १० लाख आम्दानी हुन सक्छ ।खर्चको प्रतिशत धेरै भएर आम्दानी कम देखिएको हो । ज्याला, बीउ, विषादी, उपकरण र बजारमा सहयोग भए कृषि क्षेत्रले आर्थिक वृद्धि गर्ने तर्क राख्छन् बाँके खजुराका खत्री ।

खत्री अहिले ६१ वर्षका भए । खजुरा ‘ए’ गाउँमा दुई तले घर छ उनको । घरको भित्ता र रुखमा मौरीको घार छन् । घरको तल्लो तलामा एउटा माउन्टेन बाइक राखिएको छ । केही पर गएपछि बँदेल, कुखुरा र बाख्रा खोर देखिन्छ । करिब ५० मिटर पर गएपछि आउँछ टमाटर खेती । जहाँ तीन बिघामा आधुनिक तरिकाले टमाटर खेती गरिएको छ । त्यसको नजिकै एक बिघामा आलु खेती छ । गाउँमा प्रायःले थोरै जमिनमा तरकारीखेती गर्छन् । त्यो खेती आफ्ना लागि मात्र हुन्छ ।

जमिन भएर पनि त्यसको प्रतिफल लिन नसक्नु बाँके, बर्दियालगायत तराईका थुप्रै जिल्लाको समस्या हो । बजार, उपकरण, प्रविधि अभाव नेपाली किसानले भोगिरहेका मुख्य समस्या हुन् । जसले नेपालको कृषिलाई व्यावसायिक बन्न चुनौती दिइरहेको छ । कृषि क्षेत्रमा चुनौती छन् । चुनौती कहिल्यै सकिँदैन । तर चुनौतीभित्रै केही किसानले सम्भावनाको खोजी गरे । प्रयास गरे चुनौतीसँग जुध्न । देखाए आफ्नो क्षमता । लगनशीलता । अहिले देखिन थालिसकेको छ चुनौतीलाई पन्छाउँदाकोे परिणाम । जसले लालबहादुरको परिचयमा अर्को पदवी थपिदियो, ‘व्यावसायिक किसान’ ।

गाउँमा उनको परिचय बदलिरहेको छ । विगतमा कृषि पढेर जेटिए भएका थिए । केही वर्ष शिक्षक । कृषि विकास बैंकमा नाम निकालेर काम गर्न थालेपछि खजुरामा उनको परिचय बैंकर बन्यो । कृषि विकास बैंक खजुरा शाखाको नेतृत्व गरेर अवकाश लिएको चार वर्ष पुगिसक्यो । अहिले उनको परिचय बैंकरबाट व्यावसायिक कृषक बनेको छ ।

गाउँमा तरकारी खेतीबारे केही सिक्न परे उनकोमा आउने गर्छन् गाउँले । बिहीबार खजुरा गाउँपालिका–२ ‘ए’ स्थित उनको घरमा पुग्दा गाउँबाट केही पर पर्ने गौरिनगरबाट जगत शाही र लिलकुमारी महतो भेटिए । भर्खरै तरकारीखेती सुरु गरेकी जगतले टमाटर खेतीमा कीरा लागेपछि त्यसको निधानको उपाय सोधिरहेकी थिइन् लालबहादुर खत्रीसँग ।

खत्रीको बुझाइमा कृषि क्षेत्रमा अहिले व्यावसायिकताको आधार तयार हुँदैछ । भविष्यमा कृषि क्षेत्रले देशको अर्थतन्त्रलाई बलियो बनाउनेमा उनी ढुक्क छन् । त्यसका लागि आउने युवा पुस्ताले कृषिको नेतृत्व गर्नुपर्ने उनको सुझाव छ । गत वर्ष उनले १८ सय क्विन्टल टमाटर बिक्री गरे । यस वर्ष करिब २५ सय क्विन्टल टमाटर बिक्री गर्ने लक्ष्य छ । टमाटर बिक्री गर्ने क्रम सुरु भइसकेको छ । अहिले प्रतिकिलो ४० रुपैयाँको दरमा उनले नेपालगञ्जमा टमाटर पुर्‍याइरहेका छन् । नेपालगञ्जमा त्यही टमाटर ८०, ९० रुपैयाँमा बिक्री हुन्छ । यसले भने उनको आफ्नो मनमा पीडा हुने गरेको बताउँछन उनी । नेपालको कृषि उत्पादन बिचौलियाको कारणले मारमा परिरहेको छ । यसको निगमन गर्ने निकाय छैन । सरकारले पनि यसमा चासो दिएको छैन । जसका कारण नेपालको अर्बौँ रकम भारत र तेस्रो मुलुकमा गइरहेको छ ।

खत्रीजस्तै केही मिहिनेती किसानले बाँकेलाई तरकारीमा आत्मनिर्भर बन्न सघाइरहेको छ । खत्रीका अनुसार तरकारीमा उनको गाउँ मात्र होइन नेपाल आत्मनिर्भर हुँदैछ । खत्रीको भनाइलाई जिल्लास्थित कृषि कार्यालयको तथ्यांकले पनि पुष्टि गर्छ ।

चार वर्षअघि बाँकेको कुल जनसंख्या चार लाख ९१ हजार तीन सय १३ रहेको थियो । प्रतिव्यक्तिलाई दैनिक तीन सय ग्राम तरकारी चाहिन्छ । यो अनुपातमा दैनिक बाँकेको जनसंख्यालाई एक सय ४७ दशमलव ३९ मेट्रिक टन तरकारी चाहिन्छ भने वार्षिक ५३ हजार सात सय ९७ मेट्रिक टन तरकारी आवश्यक पर्छ । बाँकेमा अहिले ६ हजार सात सय २९ हेक्टर जमिनमा तरकारीखेती गरिने गरिएको जिल्लास्थित कृषि कार्यालयको तथ्यांकले देखाएको छ ।

तथ्यांकअनुसार उक्त जमिनमा ७४ हजार १३ मेट्रिक टन तरकारी उत्पादन हुने गरेको छ । उत्पादित तरकारी जिल्लामा खपत गरेर पनि बाहिरी जिल्लामा निर्यात् गरिने गरिएको छ । हाल जिल्लाको जनसंख्यालाई आवश्यक ५३ हजार सात सय ९७ मेट्रिक टन खपत गरेर उत्पादित बाँकी २० हजार दुई सय २१ मेट्रिक टन तरकारी बाहिरी जिल्लाका साथै भारतीय बजारसम्म निर्यात हुने गरेको कृषि विकासको तथ्यांकले देखाएको छ । र यो बढ्दो क्रममा छ ।

उत्पादन बढिरहे पनि नेपाली किसानका समस्या भने घटेका छैनन् । नेपाली किसानले भारतीय बजारसँग प्रतिस्पर्धा गरिरहनु परेको छ । भारतमा किसानलाई पानी निःशुल्क उपलब्ध छ । बिउ, मल, उपकरण र बजारमा सरकारले सहयोग छ । किसानको लागत खर्च कम छ । उत्पादन धेरै हुन्छ । नेपाली बजार पनि भारतीयकै प्रभाव छ । यसको प्रत्यक्षमा मारमा छन् सीमावर्ती क्षेत्रमा कृषि पेसा गरिरहेका किसान । बिहान उठ्ने बित्तिकै भारतीय बजारबाट साइकल, रिक्सा, टोकरीमा तरकारी ल्याएर बिक्री गरेको देखिन्छ । उनीहरूले तरकारी ल्याउँदा भन्सार कर पनि तिर्दैनन् । अर्को कुरा विषादीयुक्त तरिकारी नेपाली बजारमा आइरहेको छ ।

भारतीय बजारसँग प्रतिस्पर्धा गरेर पनि नेपालका केही किसानले राम्रो आम्दानी गरिरहेका छन् । सरकारले संरक्षण दिए कृषिमा आत्मनिर्भर हुने लालबहादुर बताउँछन् ।

नेपाली किसानको प्रमुख समस्या बनेको छ बजार । बिचौलियाको हातमा छ बजार । खत्री भन्छन, ‘किसानले सही मूल्य पाउँदैनन् । ठ्याक्कै आधा रकम बिचौलियाले एक दिनमा आम्दानी गर्छन् । उपभोक्ताले महँगोमा किन्न परिरहेको छ । यसमा सरकारले रोकिदिए नेपाल छिट्टै तरकारीमा आत्मनिर्भर हुन सक्छ ।’

बजारमा देखिएका समस्यालाई पन्छाउने हो भने कृषि क्षेत्रले खजुराका जनताको भविष्य उज्ज्वल देखिन्छ । खत्री भन्छन्, ‘युवा कृषिमा आउनु पर्छ । विदेशमा गएका युवालाई कृषिमा लगाउन सक्नुपर्छ । सरकारले सकेजति गर्न सकेको छैन । तर बाटो कोरेको छ । भविष्यमा राम्रो हुनेछ । त्यसका लागि किसानले व्यावसायिक सोचका साथ मिहिनेत गर्न छोडनु हुन्न ।’

 

 

प्रकाशित: २५ माघ २०७६ ०६:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App