७ वैशाख २०८१ शुक्रबार
अन्य

जननिर्वाचित नवराजबाट जन्मिएको श्री स्वस्थानी

राज्य सञ्चालक जननिर्वाचित हुनुपर्ने अवधारणालाई राजनीतिमा नयाँ अभ्यास मानिन्छ। जनताले रोजेकै शासकबारे  पञ्चायतकालमा  आवाज उठाइयो। त्यस्तै,  राणा शासनकालमा पनि जनताबाट प्रत्यक्ष–अप्रत्यक्ष रूपमा यस्तो आवाज उठाइएको थियो। धेरैले जननिर्वाचित शासकसम्बन्धी धारणालाई प्रजातन्त्रपछि देखा परेको माने, तर, यो अवधारण कैयौं वर्ष पुरानो हो। नेपाल संवत् २०६ मा जनताले जननिर्वाचित प्रतिनिधि हुनुपर्ने  माग गरेका थिए। त्यस्तै, श्री स्वस्थानी व्रतकथामा समाविष्ट दुई वटा कथा (नवराज र गोमा) जननिर्वाचित शासन प्रणालीमा केन्द्रित छन्।

१६औं शताब्दीमा जनतालाई नागा भनिन्थ्यो। किंवदन्ती र पुराणका आधारमा हेर्दा नेपालका प्रचलित जनजातिमा नागा जाति पर्छन्। भारतको आसामबाटै आएर नेपालमा नागा जातिले  बसोबास गरेको पाइएको छ। नेपालका उच्च भू–भाग र टाकुरामा उनीहरूको बसोबास थियो। त्यतिबेला नाताकै आधारमा राजा हुने चलन थियो। पछि राजाहरूबीच बेमेल भएपछि नातेदारी राजतन्त्र हटाएर जननिर्वाचित राजा चुन्ने अभ्यास सुरु भएको थियो।  उपत्यकाका विभिन्न ठाउँहरूमा रहेका नागदह छेउछाउमा बस्ने भएकाले उनीहरूलाई नागा भनिएको पाइन्छ। सुन्दरीजल, धापाखेल, टौदहलगायत स्थानमा नागपोखरी थिए, छन्। त्यतिबेला हात्तीलाई नागको प्रतीक मानिथ्यो। नागा जातिले नवराजलाई राजा बनाएका थिए।

राजाहरूबीचको भैँझगडाबाट वाक्कदिक्क भएका जनताले  जननिर्वाचित राजा हुनुपर्ने आवाज उठाए। र,  गोमाका छोरा नवराजले राजा बनेर शासन–सत्ता चलाउन थाले।

त्यसबेला भगवान् विष्णु र महादेवले नवराजलाई राजा बन्न शक्ति दिएका थिए। नवराजकी आमा गोमाले धेरै तपस्या गरेकाले नवराजले  राजा हुने शक्ति पाएको किंवदन्ती पाइन्छ।  राजा यक्ष मल्लको  पालामा नेपालको भू–भाग पश्चिममा गोर्खा र पूर्वमा कञ्चनजंगा हिमालसम्म फैलिएको थियो। यो प्रसंग योगिनीतन्त्र ग्रन्थ (नेपालश्य कञ्चनाद्री)मा उल्लेख छ। यो क्षेत्र नेपाल र भारतको सिमानामा पर्छ।

यक्ष मल्ल  भक्तपुर  दरबारमा बस्थे। उनको मृत्युपश्चात् उनका पाँच छोराहरूबीच राजा बन्ने विषयमा किचलो भयो। उनीहरूको सम्बन्ध बिग्रियो। जेठा छोरा राय मल्ल भक्तपुरका राजा भए। माइला छोरा रत्न मल्ल काठमाडौंका राजा भए। अरु तीनजना छोराहरू बनेपा, कीर्तिपुर र पाटनका राजा भए।
उनीहरूले यक्ष मल्ल (बाबु)को शव जलाउन समेत ध्यान दिएनन्। शव जलाउन भक्तपुरबाट पशुपति आर्यघाटमा ल्याइयो, तर काठमाडौंका राजा अर्थात् रत्न मल्ल (यक्ष मल्लका छोरा)ले बाबुको लास पशुपति आर्यघाटमा जलाउन दिएनन्। त्यसपछि पाटनको शंखमूलस्थित घाटमा लगेर यक्ष मल्लको अन्त्येष्टि गरियो।

राजाहरूबीचको धमिलो सम्बन्ध देखेपछि जनताहरू वाक्कदिक्क भए। परिवार मिलाउन नसक्नेले कसरी आफूहरूलाई मिलाउला भनेर जनताहरूले सोच्न थाले। त्यसपछि जनताले चुनेको व्यक्ति राजा हुनुपर्दछ भनेर आवाज उठाइयो। र,  गोमाका छोरा नवराजले राजा बनेर शासन–सत्ता चलाएको इतिहास पाइन्छ।

विगतदेखि नै जनताबाट चुनिएको व्यक्तिले राजसत्ता चलाउनुपर्छ भन्ने मान्यता बसेको थियो, त्यसलाई ग्रन्थहरूमा लिपिबद्ध गरियो, राज्य सञ्चालनमा पनि लागू गरियो।  यसबारे  श्री स्वस्थानी कथाको गोमा र नवराजको अंशमा विस्तृत रूपमा लेखिएको छ। जनताले चुनेको जनप्रतिनिधि राम्रो हुनुपर्छ र यसको अभ्यास भइरहनुपर्छ भनेरै कथा बनाइएको हुन सक्ने किंवदन्ती र विश्वास पाइन्छ। अहिले स्वस्थानीबारे  लेखिएको पहिलो संस्करणको कृति राष्ट्रिय अभिलेखालयमा राखिएको छ, यस किताबमा स्वस्थानी व्रतकथाको यथार्थता समेटिएको छ। सुरुको किताब पातलो र साना कथाहरू गाँसेर बनाइएको थियो। पछिपछि स्कन्द पुराण र लिंग पुराणबाट उद्धृत कथाहरू थप गरेर  श्री स्वस्थानी कथाको आकार बढाइएको हो।
जोशी, संस्कृतिविद् हुन्।
(नागरिककर्मी शिवहरि घिमिरेसँगको कुराकानीमा आधारित) 

प्रकाशित: २५ माघ २०७६ ०४:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App