काठमाडौं- चौधरी ग्रुपले युरोपमा आफ्नो लोकप्रिय ब्रान्ड वाइवाइको उत्पादन तथा वितरणको तयारी तीव्र बनाएको छ। युरोपेली राष्ट्र सर्बियाको रुमा सहरमा वाइवाइ प्लान्ट स्थापनाको कार्य अन्तिम चरणमा पुगेको छ। चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले बिहीबार सर्बियाको राजधानी बेल्ग्रेडमा सर्बियाका प्रधानमन्त्री अलेक्ज्येन्डर भुसिक र उर्जा, पर्यटन तथा कृषि मन्त्रीसँग र रुमा सहरका मेयर स्लोदान म्यान्सिकका साथ शिष्टाचार भेट गरे।
सो अवसरमा चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीलगायत ग्रुपका उच्चपदस्थ अधिकारीको पनि उपस्थिति थियो। यसअघि उनले रुमा सहरको रुम्स्का इन्डस्ट्रियल लुपमा प्लान्टको अवलोकन गरेकाा थिए। 'नेपालीहरुको आफ्नै लोकप्रिय ब्रान्ड वाइवाइलाई विश्वव्यापी रुपमा विस्तार गर्ने हाम्रो अभियान हो,' प्रधानमन्त्री भुसिकसँगको भेटपश्चात चौधरीले भने, 'सोही क्रममा हामीले वाइवाइको विस्तार युरोपमा गरेका हौं।' नेपाली उद्यम र व्यवसायलाई विश्वसामु लिएर जाने प्रयत्नको अर्को कडीको रुपमा यो विस्तार गरिएको चौधरीले बताए।
भेटमा प्रधानमन्त्री भुसिकले सर्बियामा वाइवाइ प्लान्ट स्थापना गर्ने योजना ल्याई लगानी विस्तार तथा रोजगारी सिर्जना गरेकामा चौधरी ग्रुपलाई धन्यवाद व्यक्त गरे। सो अवसरमा उनले विश्वव्यापी रुपमा सर्बियाको वैदेशिक लगानी विस्तारका लागि सहयोग गर्न समेत आग्रह गरे। त्यस्तै मेयर म्यान्सिकले सर्बियाको स्थानीय सरकार उद्यमीहरुसँग सहकार्य तथा सहयोगका लागि तयार रहेको बताउँदै चौधरी ग्रुपलाई उद्योग स्थापनाका लागि धन्यवाद व्यक्त गरे।
विश्वव्यापी रुपमा वार्षिक २ अर्ब २० करोड रुपैयाँ बराबरको बिक्री भइरहेको वाइवाइले विश्व तयारी चाउचाउ बजारको २.२ प्रतिशत हिस्सा ओगटेको छ। नेपालमा ६ र भारतमा ८ प्लान्टमार्फत उत्पादन भइरहेको नेपालको सर्वाधिक लोकप्रिय वाइवाइले भारतीय तयारी चाउचाउ बजारमा २७ प्रतिशत हिस्सा ओगटेको छ। बंगलादेश, केन्या र साउदी अरेबियामा पनि वाइवाइका प्लान्ट स्थापना गर्ने तयारीमा चौधरी ग्रुप रहेको छ।
प्लान्ट स्थापनासँगै विश्वभरका ३० मुलुकका उपभोक्ताले रुचाएको वाइवाइको व्यावसायिक उत्पादन सर्बियामा निकट भविष्यमै सुरु हुनेछ। यहीँबाट युरोपेली बजारमा चाउचाउ बिक्री वितरण सुरु गरिनेछ। युरोपेली महाद्वीपमा चौधरी ग्रुपको यो पहिलो उद्योग हुनेछ। यो तयारीसँगै चौधरी ग्रुप युरोपबाट तयारी चाउचाउको उत्पादन थाल्ने नेपालको पहिलो व्यावसायिक समूह हुनेछ। उद्योगले पहिलो चरणमा करिब ४ सय तथा उत्पादन र वितरण सुरु हुँदासम्म १२ सयभन्दा बढीलाई रोजगारी प्रदान गर्नेछ।
प्रकाशित: १५ पुस २०७३ ०३:२१ शुक्रबार