coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

क्यान्सर निको हुँदाको खुशी

जव जीवन नै रहंदैन,त्यहाँ केही कुरा रहंदैन। जीवन पाउनु भनेको आफैमा अवसर हो। एक पटक क्यान्सर भएपछि निको भएकाहरुको यस्तै अनुभूति हुन्छ। मंगलवार  विश्व क्यान्सर दिवसको दिन सुदिप्त क्यान्सर सर्भाभर मिट(क्यान्सरवाट बाँचेकाहरुको भेट) को क्रममा यस्तै अनुभूतिहरु सुनाए।

गुलाफी रंगको टिसर्ट लगाएका महिलाहरु भेटघाटमा थिए। ती मध्येकी एक थिइन् काठमाडौं सीतापाइलाकी ४६ वर्षीया रोजिना मुल्मी। उनको १३ वर्ष अघि स्तन क्यान्सर भएको थियो। राति सुतेको बेला स्तनमा कडा गाँठो थाहा पाएपछि उनी आफन्तको ल्यावमा पुगिन्। ल्याव परिक्षण गर्दा दोस्रो तहको स्तन क्यान्सर भएको रहेछ। काठमाडौं स्थित  टिचिङ अस्पताल महाराजगंजमा शल्यक्रिया गरिन्। डा.प्रकाश शायमीले शल्यक्रिया गरी उनको स्तन पुरै निकाले। जतिवेला उनी ३५ वर्षकी मात्र थिइन्।

 एउटा मात्र स्तन लिएर बस्दा मान्छेले देख्दा अप्ठेरो महसुस हुन्थ्यो। क्रमश नेपालकै भक्तपुर,ओम अस्पतालमा उपचार गरी क्यान्सर पुर्ण निको भइन्। उनलाई विकसित देशमा स्तन प्रत्यारोपण गरेको कुरा थाहा थियो। आफुलाई पनि स्तन प्रत्यारोपण गर्ने सोंच आयो। नेपाल क्यान्सर अस्पतालका चिकित्सकलाई स्तन प्रत्यारोपण पढ्नको लागि अनुरोध गरिन्।

अस्पतालले नेपालमा यो आवश्यक भएको महसुस गरे र डा.कपेन्द्रको समुहले स्तन प्रत्यारोपण  अध्ययन गरे। त्यसपछि दुई वर्ष पहिले उनले डा.कपेन्द्रको समुहवाट स्तन प्रत्यारोपण गराइन्। लगातारको उपचार   पछि उनले आफ्नो  गुम्न लागेको जीवन पाइन् नै। गुमेको स्तन पनि फिर्ता गराउन सफल भइन्। ‘एउटा स्तन नहुँदा घरवाहिरका मान्छेले देख्दा अप्ठेरो लाग्यो,अनि आफै आँट गरेर प्रत्यारोपण गरें’ उनले नागरिकसित संघर्षका कथाहरु सुनाउँदै भनिन्। अहिले मुल्मी फेशन डिजाइनरको पेशामा आवद्ध छिन्। पेशा सफल छ र जीवन उत्तिकै हर्षमय। उनी मंगलवार क्यान्सर दिवसको दिन १६ वर्षे  चन्चले उमेरकी केटी जस्तो मुद्रामा ठट्यौली गर्दै गरेका भेटिइन्।

 उनी जस्तै चंचले देखिन्थे चाहविलकी ५० वर्षीया सुुनिता चापागाइँ र ललितपुरकी ४६ वर्षीया दीपा नेपाल। गुलाफी टिसर्ट,पाइन्ट र बुटमा सजिएका उनीहरु मिस नेपालमा भाग लिन हिंडेका  जस्ता जोशिला देखिन्थे। तर उनीहरु सवै स्तन क्यान्सरपछि निको भएकाहरु थिए। सुनिता चापागाइँले आफुलाई क्यान्सर होला भन्ने कुरा सपनामा पनि सोंचेकी थिइनन्। उनलाई ९ वर्ष अघि स्तन क्यान्सर भयो। पछि अन्य समस्या भएपछि टाउको र पाठेघरको समेत शल्यक्रिया गर्नु प-यो। अहिले उनी सत्य साई मन्दिर मार्फत आफु जस्तै क्यान्सर लागेका बिरामीहरुलाई आवश्यक परामर्श दिनमा  व्यस्त हुन्छिन्। ‘अस्पतालमा जान्छु,विरामीलाई परामर्श दिन्छु’चापागाइँले नागरिकसित भनिन्।

सोही समुहमा भेटिएकी ललितपुरकी दीपा नेपाल पनि उन्मुक्त मुस्कानमा थिइन्। उनले छाति गह्राै भएपछि कोलस्ट्रोल बढेको होला भन्ने शंका जाँच्न जाँदा स्तन क्यान्सर भएको पत्ता लागेको थियो। स्तनमा क्यान्सर भएको थाहा पाएपछि उनको परिवार आत्तिएर उनलाई दिल्लीको राजिवगान्धी अस्पतालमा पु-याए। त्यहीं उनको स्तनको शल्यक्रिया र अन्य उपचार भए। ८ पटक किमोथेरापी र ३१ पटकको रेडियोथेरापी पछि उनले क्यान्सरलाई जितेकी हुन्। नेपालमा स्तन क्यान्सरको उपचार हुन्छ थाहा नभएर दिल्ली पुग्नु परेको उनले सुनाइन्। पोखरेलका अनुसार उनमा वंशाणुगत कारणले स्तन क्यान्सर भएको थियो। अहिले पनि क्यान्सर नहोस् भनेर प्रत्येक वर्ष स्वास्थ्य जाँच गर्ने गरेको सुनाइन्।

उनी सहित अन्य क्यान्सरवाट बचेकाहरुको यतिखेर एउटै लक्ष्य हुने गर्छ। आफु जस्तै क्यान्सर भएकाहरुलाई परामर्श र सहयोग दिनु। नसके भेट भएर खुशी हुनु। क्यान्सर भएपछि ढिला उपचारमा पुगेर धेरैले जीवन गुमाएका कथाहरुले आफुलाई पे्ररणा मिल्ने गरेको उनीहरुले सुनाए। ‘यतिका खुशी किन ? ,उनीहरुले एकैस्वरमा जवाफ दिए,‘ नयाँ जीवन पाएका छौं,अहिले जे जे गर्न नपाएका कुरा थिए,ती सवै गरौ जस्तो लाग्छ’। ‘मृत्युको मुखमा पुगेर आएका हौं,जीवनको भरोसा नहुने रहेछ,अहिले खाइहालौं,लाइहालौं जस्तो लाग्छ’दीपा नेपालले भनिन्। ‘क्यान्सर कति बेला कसलाई लाग्छ,थाहै नहुने रहेछ’ मुल्मीले हँसिलो पारामै भनिन्।

उनीहरुले लगाएको गुलाफी टि–सर्टमा‘टुगेदर फर होप’ अर्थात् आशाको लागि संगै हुनु पर्छ भन्ने नारा लेखिएको थियो। नेपाल क्यान्सर अस्पतालले बिगत एक वर्षदेखि ‘सुदिप्त क्यान्सर सर्भाइभर’हरु वीच जमघट गर्दै आएको छ। हरेक जमघटमा भिन्न क्यान्सरको बारेमा जनचेतना जगाउने र निको भएकाहरु मार्फत नयाँ क्यान्सरका विरामीलाई आशा प्रेरणा दिन यस्तो गर्ने गरेको अस्तालमा क्यान्सर सर्जन डा.कपेन्द्रमान अमात्य बताउँछन्। ‘एक पटक क्यान्सर भइसकेकाहरुले आपसमा अनुभव साट्ने अवसर पनि हो,उनीहरुवाट जनचेतना पनि जगाउन सकिन्छ’उनले भने। त्यो भन्दा बढी सन्देश त क्यान्सर रोग छिटो पहिचान भए निको हुन्छ र नेपालमा यसको उपचार छ भन्ने सन्देश दिनु रहेको उनको भनाइ छ।

प्रकाशित: २५ माघ २०७६ ०३:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App