४ वैशाख २०८१ मंगलबार
राजनीति

कांग्रेसले संसद् र सडक ततायो

काठमाडौं – नेपाली कांग्रेसले बालुलाटारस्थित ललितानिवास जग्गा प्रकरणमा कांग्रेसका उपसभापति तथा संसदीय दलका उपनेता विजयकुमार गच्छदारलाई बदनियतपूर्ण तरिकाले भ्रष्टाचार मुद्दा लगाइएको भन्दै शुक्रबार पनि संसद् बैठक अवरुद्ध गरेको छ। प्रतिनिधि सभाको बिहीबारको बैठक अवरुद्ध गरेको कांग्रेसले दोस्रो दिनको बैठक पनि अवरुद्ध गरेको हो।

संसद्को पहिलो बैठक अवरुद्ध भएपछि शुक्रबार नै दोस्रो बैठक बोलाइएको थियो। दोस्रो बैठक बस्न नसकेपछि आइतबार १ः०० बजेसम्मका लागि सूचना जारी गरी स्थगित भएको छ। कांग्रेस संसदीय दलको शुक्रबार बिहान बसेको बैठकले शुक्रबारको संसद् बैठक अवरुद्ध गर्ने निर्णय गरेको थियो। यता संसद् अवरुद्ध भइरहँदा नेपाल तरुण दल र नेपाल विद्यार्थी संघले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ। अख्तियारले बुधबार गच्छदारसहित १ सय ७५ जनालाई बालुवाटार जग्गा प्रकरणमा मुद्दा दायर गरेको थियो। संसद्बाट कांग्रेसले र सडकबाट कार्यकर्ताले गच्छदारलाई कारबाही गर्ने भए सो प्रकरणमा जोडिएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेकपा महासचिव विष्णु पौडेल, उनका छोरा नवीन पौडेल, पूर्व मुख्यसचिव लीलामणि पौडेल र अन्यलाई पनि कारबाही गर्नुपर्ने माग राखेका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेस सांसद मीनबहादुर विश्वकर्माले सरकारकै प्रभावमा अख्तियार परेर कांग्रेसलाई मुद्दा लगाएको बताए। अख्तियारको दुरुपयोग भएको हेर्ने संस्था अख्तियारले आफै अख्तियारको दुरुपयोग गरेको उनले आरोप लगाएका थिए। सरकारको प्रभावमा परेर अख्तियारले ‘आफ्नोलाई बोक्ने र विरोधीलाई ठोक्ने’ प्रवृत्ति देखाएको उनले बताए। उनले भने, ‘जसले मन्त्रिपरिषद्को अध्यक्षता गरेर निर्णय गर्नुभयो, उहाँ पनि महान् व्यक्ति, जो निर्णयबाट लाभान्वित हुनुभयो र लालपुर्जा बोकेर हिँड्दै हुनुहुन्छ, उहाँ पनि महान् व्यक्ति। लालपुर्जा बोकेर अहिले पनि ४९ लाख रुपैयाँ ऋण त्यही लालपुर्जाबाट आइरहेको छ।’

‘बाख्री हरायो होइन, तस्कर पल्कियो भन्ने चिन्ता बढेको’ उनले सुनाए। उनले भने, ‘एउटा निर्दोषलाई पक्रेर सारा कसुरदारलाई उन्मुक्ति दिने पद्धतिको थालनी भएको छ।’

‘म लालपुर्जा फिर्ता गर्छु, म जग्गा फिर्ता गर्छु’ भनेको भरमा उन्मुक्ति दिएको हो भने त्यसमा आपत्ति हुने भन्दै उनले भने, ‘अहिले सामाजिक सञ्जालमा ठट्टामजाक हुने गरेको छ, एउटा डाक्टरले अस्पतालमा बिरामीको किड्नी चोरेछ, अब ४ वर्षअगाडि चोरिएको किड्नी फिर्ता ग-यो भने कारबाही हुन्छ कि हुँदैन ? कुनै एक चोरले एक वर्षपछि चोरेको सामान फिर्ता ग¥यो भने पक्राउ पर्छ कि पर्दैन ?’

तरुण दलका अध्यक्ष जितजंग बस्नेतले अख्तियारलाई बालुवाटारमा राखेर भ्रातृ संगठनजस्तो बनाउन आग्रह गरे। आफूहरू विजयकुमार गच्छदारलाई बचाउन नआएको उल्लेख गर्दै उनले भने, ‘मन्त्रिपरिषद्मा निर्णय गर्ने पूर्वप्रधानमन्त्री माधव नेपाल र मुख्यसचिव लीलामणि पौडललाई कारबाही किन नहुने ? जग्गाको लालपुर्जा लिने नेकपाका महासचिव विष्णु पौडेल र उनका छोरालाई कारबाही किन नहुने ?’

‘सञ्चारमन्त्री गोकुल बाँस्कोटाले अख्तियारको कामलाई आफ्नो उपलब्धि भनेर व्याख्या गरेको भन्दै संवैधानिक निकायले गरेको काम सरकारको उपलब्धि हो भने त्यो गम्भीर कुरा हो,’ उनले भने, ‘यसबाटै देखिन्छ यो निकायले अब कांगेसलाई ताकी ताकी ठोक्नेछ।’ उनले संसद्को बैठक सञ्चालनका लागि सहयोग गर्न नसकिने भन्दै गर्दा कांग्रेसका सबै सांसद उभिएपछि बैठक अघि बढ्न सकेन। सभामुखले बारम्बार बस्न आग्रह गरे पनि कांग्रेस सांसद नबसेपछि संसद् बैठक आधा घण्टाका लागि स्थगित भएको थियो। करिब साढे १ बजे सुरु भएको बैठक १५ मिनेट अवरुद्ध भएको थियो। सभामुखले नेकपा र कांग्रेसका प्रमुख सचेतकसँग छलफल गरे पनि कांग्रेसले सदन अवरुद्ध गर्ने बताएपछि सूचना जारी गरी आइतबार १ बजेसम्मका लागि बैठक स्थगित भएको छ।

संसद्भित्र सांसदले विरोध गरिरहँदा राजधानीको माइतीघर मण्डलामा नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दल र नेवि संघले प्रदर्शन गरेका थिए। सयौं कार्यकर्ता सडकमा उत्रिएका थिए। वरिपरि सुरक्षाफौज तैनाथ गरिएको थियो। प्रदर्शनपछि कोणसभामा परिणत भएको थियो। प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै नेवि संघका अध्यक्ष राजीव ढुंगानाले कम्युनिस्ट नेतालाई बचाएर कांग्रेस नेतालाई फसाउने र बदनाम गर्ने आशयले मुद्दा दायर गरिएको बताए।

‘मन्त्रिपरिषद् निर्णयमा प्रधानमन्त्रीलाई छुट दिँदै मन्त्रीलाई फसाउने निर्णयको घोर विरोध गर्ने उनले बताए। निर्णय नसच्चिएसम्म आन्दोलन जारी रहने चेतावनी उनले दिए। जनतामा देखिएको निराशा चिर्नुको सट्टा प्रधानमन्त्री सरकारी सम्पत्ति व्यापारिक घरानालाई कौडीको मूल्यमा दिने निर्णय गर्दै गएको उनले बताए। अख्तियारलाई संवैधानिक अंगको रूपमा रहेर काम गर्न भन्दै उनले बालुटारको भ्रातृ संगठन बन्न खोजे आन्दोलनको आँधीले अख्तियार नै बगाउने चेतावनी समेत दिए। ‘अख्तियार भनेको संवैधानिक निकाय हो। यदि संवैधानिक निकायले आफ्नो संवैधानिक हैसियत पूरा गर्दैन भने, अख्तियार बालुवाटारको भ्रातृ संस्थाका रूपमा अगाडि बढ्न खोज्यो भने, अब आन्दोलनको आँधी सुरु भइसकेको छ, आन्दोलनको आँधीले सरकारलाई मात्र होइन अख्तियारलाई पनि बगाउँछ।’ कोणसभामा तरुण दलका अध्यक्ष जितजंग बस्नेतले नेकपा महासचिव विष्णु पौडेलका छोरा नवीन पौडेललाई जोगाउने गलत नजिरले नेपाल संस्थागत भ्रष्टाचारको दलदलमा फस्न लागेको प्रस्ट भएको बताए। उनले अख्तियार टंगाल बस्नु जरुरी नभएको भन्दै बालुवाटरबाटै चलाउन आग्रह गरे। ‘अख्तियारलाई बालुवाटारमा राखेर भ्रातृ संगठनजस्तो बनाए हुन्छ,’ उनले भने।

आफूहरू विजयकुमार गच्छदारलाई बचाउन नआएको उल्लेख गर्दै उनले भने, ‘मन्त्रिपरिषद्मा निर्णय गर्ने पूर्वप्रधानमन्त्री माधव नेपाल र मुख्यसचिव लीलामणि पौडललाई कारबाही किन नहुने ? जग्गाको लालपुर्जा लिने नेकपाका महासचिव विष्णु पौडेल र उनका छोरालाई कारबाही किन नहुने ?’ गच्छदारलाई मात्र कारबाही किन ?’

प्रदर्शनमा ‘बालुवाटार जग्गा प्रकरणमा आफ्नालाई जोगाउने अरूलाई फसाउने, तिलकुमारीलाई जेल विष्णु पौडेललाई माफी, क्याबिनेटको निर्णयमा मन्त्री जवादेही हुन्छ कि प्रधानमन्त्री’ लगायत प्लेकार्ड प्रदर्शनकारीले बोकेका थिए।

प्रकाशित: २५ माघ २०७६ ०१:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App