coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

तारदेखि बेतारसम्म

काठमाडौं- देशका अधिकांश जनताले फोनसेट नदेखेको बेला दीपक मल्होत्राको घरमा फोनको घन्टी बज्यो। घन्टी पनि कति मिठो, बजिराखे हुन्थ्यो जस्तो लाग्ने! तर के गर्नु, घन्टी बजिराख्न त अरुको घरमा पनि फोन चाहियो नि!

कुरा २०२० साल तिरको हो। जुन बेला एकाध मान्छे घरमा फोन थियो। काठमाडौंमै घर भएका मल्होत्राका बुबालाई आफ्नो घरमा पनि फोनको घन्टी बजाउन मन लागेछ। नेपालमा व्यवसायिक रुपमा पहिलोपटक मोबाइल फोन आयात गर्ने मल्होत्राले नेपालमा दूरसञ्चारको विकास र बजारबारेको छलफलमासुनाएका थिए, 'कुनै समय थियो, फोनमा कुरा गर्न घन्टौं कुरेर बस्नु पर्थ्यो।'

'नयाँ पुस्तालाई त यो सुन्दा आश्चर्य लाग्न सक्छ,' मोबाइल फोन इम्पोर्टस् एसोसियसनका अध्यक्ष समेत रहेका मल्होत्राले आफ्ना बुबाले फोन लाइन जोड्दाका रोचक कुरा सुनाए, 'मलाई सम्झना छ, निवेदन दिएको ६ वर्षपछि घरमा फोन भित्रिएको थियो।' उनका बाबुले २०२० सालमा एक सेट (ल्यान्डलाइन फोन) पाउँ भनेर सरकार समक्ष निवेदन हालेछन्। निवेदनको सुनुवाइत भयो तर चार वर्षपछि। तत्कालीन दूरसञ्चारले २०२६ सालमा ५० वटा फोन लाइन वितरण गर्ने भनेर एक सूचना निकाल्यो। जसमा मल्होत्राका बुबाको नाम पनि थियो।

नाम त निस्कियो, फेरि लाइन जोड्न अर्को समस्या–फोनको पोइन्ट उपलब्ध हुन सकेन। 'फोनको लाइन दिने भनेर सूचना त निकाल्यो,' मल्होत्राले भने, 'त्यो फोन जोड्न फेरि ३ वर्ष कुर्नु पर्‍यो।'मल्होत्रा परिवारले २०२६ सालमा मात्र फोनका लाइन जोड्न पायो।

६ वर्षमा एक लाइन फोन जोड्न सफल परिवारका उनै व्यवसायी हुन् मल्होत्रा, जो अहिले दिनको हजारौं मोबाइल बेच्छन्। नेपालमा मोबाइल व्यवसायको विकास क्रमको उनी साक्षी हुन्। 'अहिले हरेक प्रविधि मोबाइलमा छ,' मल्होत्रा भन्छन्, 'हरेक काम मोबाइलबाट गर्न सम्भव भइसकेको छ।'

त्यसो त नेपालको दूरसञ्चारको इतिहास हेर्न बिक्रमको १९७० सालसम्म पुग्नु पर्छ। जुन बेला राणा शासनले आफ्नो प्रयोगको लागि टेलिफोन सेवा नेपालमा ल्याएका थिए। सर्वसाधारणका लागि टेलिफोन सेवा प्रयोग गर्न अनुमति थिएन। देशमा भित्रिएको टेलिफोन सेवा सर्वसाधारणले प्रयोग गर्न झन्डै ४२ वर्ष लाग्यो। देशमा आएको प्रजातान्त्रिक परिवर्तनसँगै२०१२सालदेखि मात्र सर्वसाधारणले टेलिफोन प्रयोग गर्न पाएका हुन्।

नेपालमा मोबाइल फोन आएको १८ वर्ष भयो। मल्होत्राले विसं. २०५३ ताका नेपालमा मोबाइल हेन्ड सेट आयात गर्न सुरु गरे। त्यही बेला छिमेकी देश भारतमा पनि पहिलोपटक मोबाइल सेट सार्वजनिक भएको थियो। भारतसँगै नेपालमा पनि एरिक्सन, पानासोनिक, नोकिया, मोटोरोला जस्ता ब्रान्डका मोबाइल आउन थाले। भारतमा भन्सार धेरै महँगो भएकाले नेपालमा आउने पर्यटकले यहाँ मोबाइल किनेर लानेगरेको मल्होत्रा बताउँछन्। 'सन् २००१ सम्म मैले सबै ब्रान्डका मोबाइल ल्याएँ,' मल्होत्राले भने, '२००१ मा सामसङको आधिकारिक बिक्रेता भएपछि अरु ल्याउन छोडिदिएँ।'

विश्वमा आएको मोबाइल फोनको बढ्दो प्रयोगलाई पछ्याउँदै नेपाल टेलिकमले२०५५ सालमा पहिलोपटक मोबाइल फोन सेवाको सुरुवात गरेको थियो। मोबाइल फोन सेवाको सुरुवात गरेसँगै टेलिकमले १० हजार मोबाइल सिम वितरण गर्ने घोषणा गर्‍यो। १० हजार सिम सक्न झन्डै २ वर्ष लागेको थियो। 'उपभोक्तालाई मोबाइल फोन बोक्नु भनेको एक विलासिताको साधन जस्तो थियो,'मल्होत्रा सम्झन्छन्। सेवा पनि उत्तिकै महँगो। फोन गरेको मात्र होइन, उठाएको समेत पैसा लाग्थ्यो ग्राहकलाई। एक कल फोन गरेको ८ रुपैयाँर रिसिभ गरेको ४ रुपैयाँको हाराहारीशुल्क लाथ्यो।

त्यसरी सुरु भएको मोबाइल सेवा अहिले हरेक व्यक्तिको जीवनशैली बनेको छ। २०५८ सालमा पहिलोपटक सामसङ मोबाइल ल्याँउदा वर्षमा ४–५ हजार सेट पनि बिक्री हुँदैनथ्यो। अहिले महिनाकै लाखौं मोबाइल बिक्री हुन्छन्।

१८ वर्षको अन्तरालमा समयले 'यु–टर्न' गरिसकेको छ। मोबाइल नबोक्ने हो भने काममा बाधामात्र होइन, चल्दै नचल्ने भइसक्यो। एक दशकअघिसम्म मोबाइल बोक्ने मान्छे देख्दा अचम्म लाग्थ्यो, अहिले मोबाइल नबोक्ने देख्दा अचम्म लाग्छ।

छोटो समयमा नेपालीको जीवनशैली फेरिनुमा नेपालीको पहुँच पुग्ने प्रविधि हो भन्छन् व्यवसायी। प्रविधि र सेवा शुल्क सस्तो हँुदै जाँदा सर्वसाधारणको पहुँचमा आइसकेको मोबाइल। हत्तपत्त कसैले पनि मोबाइल किन्ने आँट गर्दैनथे। अहिले यो अवस्था रहेन। सामान्य नेपालीले किन्नसक्ने मोबाइल बजारमा उपलब्ध छन्।

१० वर्ष अवधिमा नेपालीको क्रयशक्ति त्यति धेरै बदलिएको छैन। यहाँ उद्योग, कलकारखाना स्थापित हुन सकेका छैनन्। रोजगारी सिर्जना हुन सकेको छैन। तैपनि नेपाली विश्वमै रहेका प्रविधि अंगाल्नसक्ने भएका छन्।

यसो हुनुमा सस्तो प्रविधि, मोबाइलमा इन्टरनेट र थप सुविधाका साथै विदेशसम्म नेपाली विस्तारले मोबाइलमा उपभोक्ताको आकर्षण भएको व्यवसायीको तर्क छ।

पहिलो कुरा त मोबाइल नै यति धेरै सस्तोसम्म पाइने भयो कि संसारका कुनै गरिब मुलुकका बासिन्दाले किन्न सक्ने भए। त्यसैगरी दूरसञ्चार सेवा प्रदायक कम्पनीहरू पनि बढेका छन्। उनीहरूबीचको ग्राहक तान्ने प्रतिस्पर्धाले सेवा शुल्क सस्तो हुँदै गएको छ। कम्पनीहरूले विभिन्न प्याकेज, इन्टरनेट जस्ता अतिरिक्त सुविधा उपलब्ध गराउँदा मोबाइल सर्वसाधारण्को आकर्षण बनेको छ।

अहिले मोबाइल फोन गर्ने र उठाउने मात्र सिमीत रहेन। यसमा इन्टरनेटको सुविधा, विभिन्न एप्लिकेसनले उपभोक्ताको काम सघाइरहेका छन्। 'मोबाइल एकै ठाउँ मनोरञ्जन, सूचना र कामको सहयोगीको दिन सक्ने भएको छ,' मल्होत्राले भने, 'यसले मोबाइल प्रयोगलाई व्यापकता ल्याएको छ।'

अर्को कारण हो यो १० वर्षको अवधिमा लाखौंै नेपाली विभिन्न मुलुकमा पुगे। अर्बौं रेमिटेन्स भिœयाइरहेका छन्। रेमिटेन्ससँगै मोबाइलका सेट पनि भित्रिरहेका छन्। विदेशमा पुगेका आफन्तसँगको सम्पर्कमाध्यम भनेकै मोबाइल बनेको छ। प्रत्येक घरमा उतैबाट मोबाइल आउँछ, या त नेपालमै पनि जुनसुकै मूल्यमा किन्न पाइने भएको छ।

नेपालमै सस्तो र राम्रो मोबाइल पाइने भएपछि विदेश पुगेका पनि काठमाडौंमै आएर मोबाइल किन्न सुरु गरेकका छन्। व्यवसायीका अनुसार काठमाडौंमै सम्पूर्ण नेपालीले किन्नसक्ने खालका मोबाइल छन्। विदेशबाट आएकाले पनि पाको न्युरोड आएर मोबाइल किन्न थालेका छन्।

व्यवसायीका अनुसार अहिले बजारमा मध्यमस्तरका मोबाइलको माग धेरै छ। बजारमा १ हजारदेखि १ लाख रुपैयाँसम्मका हरेक ब्रान्डका मोबाइल उपलब्ध छन्। सामसङ, सोनी, नोकिया, कलर्स, ह्वावे, जियोनी, एप्पल, इन्टेक्स, डिटिसी, माइक्रोम्याक्स, माइक्रोसफ्ट, एचटिसी, ब्ल्याकबेरी, पानासोनिक, लेनोभो, सेलकोन, लाभा, बिक्यु, जोलो, विनकम, फ्लाई, भिडियोकन, बर्डलगायत मोबाइल ब्रान्ड नेपाली बजारमा उपलब्ध छन्। व्यवसायिक अनुसार हाल ४२ भन्दा धेरै ब्रान्डका मोबाइल बजारमा उपलब्ध छन्। 

यीमध्ये १० हजारदेखि २० हजारसम्मका मोबाइलमा नेपालीको रुचिमा पर्छन्। व्यवसायीका अनुसार ६० प्रतिशत मोबाइल यही रेन्जमा बिक्री भइरहेका छन्।

नेपाल दूरसञ्चार प्राधिकरण्को तथ्यांक अनुसार वैशाख १ गतेदेखि मंसिर मसान्तसम्ममा करिब ६८ लाख ११ हजार आइएमइआई(मोबाइल हेन्डसेट नम्बर) नम्बर दर्ता भएका छन्। यो तथ्यांक अनुसार मासिक औसत ८ लाख ५१ हजार ३ सय ७५ मोबाइल नेपालमा भित्रिरहेका छन्। यसबाहेक पनि प्रत्येक महिना व्यक्तिगत रुपमा पनि मोबाइल नेपाल आइरहेका हुन्छन्।

२–३ वर्षको अवधिमा मोबाइल व्यवसायको वृद्धि ४० प्रतिशत रहेको छ। अहिले देशमा ११३.६८ प्रतिशतको मोबाइल पेनिट्रेसन रहेको तथ्यांकमा देखिएको छ।

मोबाइल व्यवसायी अब राज्यको अभिन्न र राजस्वको मूल स्रोत बन्न बनिसकेको छ। व्यवसायी तथा एसोसियसनका महासचिव अमित अग्रवालका अनुसार आर्थिक वर्ष ०७२/७३ मा देशभर झन्डै २५ अर्बको मोबाइल फोनको व्यापार भएको थियो। चालु आर्थिक वर्षको पहिलो ४ महिनामा १२ अर्ब जतिको व्यापार भइसकेको छ भने चालु आर्थिक वर्षभरिमा ३६ अर्ब बराबरको व्यापार पुग्ने देखिन्छ। विगत आर्थिक वर्षमा सरकारलाई १ अर्ब ६५ करोड रुपैयाँ कर तिरेको यो व्यवसायले यस वर्ष ३ अर्ब ४० करोड भ्याटबाट योगदान गर्ने देखिन्छ।

अर्का व्यवसायी तथा एसोसियसनका उपाध्यक्ष संजय अग्रवालका अनुसारअहिले नेपालको सबैभन्दा धेरै व्यापार गर्ने प्रथम तीन वस्तुमा मोबाइल फोन पर्छ। डिजेल, फलाम पछि नेपालको तेस्रो ठूलो व्यापार गर्ने व्यवसाय मोबाइल फोन बनेको छ। गत वर्ष चौथोमा थियो। जसरी तीव्र रुपमा यसको व्यवसाय बढकेको छ यसले गर्दा निकट भविष्यमै प्रथम व्यापार बन्ने देखिन्छ।

देशमा अझै पनि मोबाइल व्यवसायको ठूलो सम्भावना बाँकी रहेको बताउँछन्। उनीहरूका अनुसार देशमा अझै पनि झन्डै ६० प्रतिशत नेपालीले स्मार्टफोन बोक्न बाँकी छ। यही स्कोप देखेर विदेशी ब्रान्डहरू पनि नेपालको बजारलाई ताकिरहेका छन्।

प्रकाशित: १५ पुस २०७३ ०३:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App