coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

श्री एयरलाइन्सको पोखरा–काठमाडौं उडान सुरु

श्री एयरलाइन्सको पहिलो उडानमा पोखरा विमानस्थलका जहाजबाट उत्रिदै यात्रु । तस्बिरः नागरिक

पोखरा- निजी वायुसेवा कम्पनी श्री एयरलाइन्सले शुक्रबारदेखि काठमाडौं–पोखरा–काठमाडौं रुटमा उडान सुरु गरेको छ। पर्यटकीय सहर पोखरा आउजाउ गर्ने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै दैनिक उडान थालेको एयरलाइन्सले जनाएको छ।

श्रीको पोखराका लागि पहिलो व्यावसायिक उडान शुक्रबार बिहान ७ बजेर १० मिनेटमा भएको थियो। ८० सिट क्षमताको बम्र्बाडियर ड्यास ८ क्यू४०० टर्वाेप्रप्स जहाजबाट श्रीले पोखरालाई हवाई सञ्जालमार्फत काठमाडौसँग जोडेको हो। शुक्रबार पहिलो उडानमा ८० जना यात्रुलाई जहाजले पोखरा उतारेको थियो। पोखराबाट ४० जना यात्रु काठमाडौं गएका थिए।

श्री एयरलाइन्सका कर्पाेरेट प्रबन्धक अनिल मानन्धरका अनुसार काठमाडौं–पोखरा–काठमाडौं रुटमा दैनिक दुई उडान राखिएको छ। पोखराका लागि दैनिक पाँच वटा सेड्यूल बनाए पनि सुरुवाती चरणमा दुई वटा उडान गर्ने मानन्धरले बताए। यात्रु थपिँदै गएपछि उडान पनि बढाउँदै जाने उनले बताए। चीनमा फैलिएको कोरोना भाईरसका कारण यतिबेला चिनियाँ पर्यटक आउन नपाएको र त्यो संक्रमणको त्रास अन्यत्र फैलिँदा अरु मुलुकका विदेशी पाहुनाको पनि आगमन कम भएको अवस्थामा यात्रु कम रहेको उनले बताए।

‘कोरोनाका कारण विदेशी पाहुना आएनन्। आन्तरिक यात्रुको भरमा मात्र हामीले उडान थालेका छौ। त्यही भएर सुरुका केही समय दैनिक दुई उडान गर्छाै,’ मानन्धरले भने, ‘कोरोना भाइरसको संक्रमण कम भएर विदेशी पाहुना आउँदा यात्रु बढेपछि उडान थपिनेछन्।’ पोखराका लागि गरिएको पहिलो उडानका सबै यात्रु आन्तरिक रहेको उनले बताए।

पोखरा–काठमाडौं रुटमा श्रीले आन्तरिक यात्रुका लागि एकतर्फि प्रतिव्यक्ति ३७ सय, ४२ सय, ४७ सय र ५ हजार रुपैयाँ भाडा तोकेको छ। विदेशीका लागि भने ८४, ११० र १२३ अमेरिकी डलर भाडादर कायम गरेको छ। प्रवद्र्धनात्मक दरमा अहिले उडान सुरु गर्दा काठमाडौं–पोखरा रुटमा दुई हजार र पोखरा–काठमाडौं रुटमा २६ सय रुपैयाँ भाडा तोकेको उनले बताए। ‘हामीले तोकेको भाडादर यात्रुको मागमा पनि भर पर्नेछ। यात्रु कम हुँदाको अवस्थामा केही सस्तोमा पनि यात्रा हुनेछ,’ उनले भने, ‘यात्रु अभाव भएपछि सबै एयरलाइन्सले सस्तोमा उडान गर्छन्। यतिबेला यात्रु अभाव हुँदा पोखरा उड्ने सबै उडानका यात्रुले सस्तोमा यात्रा पाएका छन्।’ यो बेला विदेशी पाहुना नभएकोले सबै हवाई कम्पनीलाई यात्रु अभाव रहेको उनले बताए।

श्रीसँग अहिले जेट इन्जिनयुक्त सिआरजे २०० मोडलका ५० सिट क्षमताका दुई, सिआरजे ७०० मोडलका ७० सिट क्षमताका दुई र ड्यास ८ क्यू४०० टर्वाेप्रप्स मोडलका ८० सिट क्षमताका दुईगरि ६ वटा जहाज छन्। पोखराको चालु विमानस्थलमा ८० सिट क्षमताका ड्यास ८ क्यू४०० टर्वाेप्रप्स जहाज मात्र अवतरण र उडान गर्न सक्छ। धावनमार्ग छोटो हुँदा जेट इन्जिनयुक्त सिआरजे २०० र ७०० मोडलका जहाज पोखरा उड्न सक्दैनन्।

पोखरामा निर्माणाधिन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि भने जेट इन्जिनयुक्त जहाजबाट पनि सेवा दिन सकिने मानन्धरले बताए। तर श्रीले ड्यास ८ क्यू४०० टर्वाेप्रप्स मोडलका थप तीनवटा जहाज भित्र्याउने तयारी पनि गरिरहेको उनले बताए। ‘नयाँ जहाज आउन केही महिना लाग्ने र त्यो बेलासम्म पोखराको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पनि तयार भईसक्ने हुँदा यात्रु थपिँदाको अवस्थामा उडान संख्या बढाउन समस्या छैन,’ उनले भने।

पोखरा घुम्न आउने आन्तरिक पर्यटकको संख्या बढिरहेकोले पनि यात्रु अभाव नहुने मानन्धरले बताए । पोखराका हरेक उडानका करिब ७० प्रतिशत यात्रु पर्यटकको रुपमा आउजाउ गर्ने यात्रु हुने गरेको उनले बताए। २२ वर्षअघि स्थापित श्री एयरलान्सले २०५६ देखि एमआई–१७ हेलिकोप्टरबाट हवाई सेवा सुरु गरेको थियो। यही एयरलाइन्सले नै एकदशकदेखि संयुक्त राष्ट्रसंघ अन्तर्गत शान्ति मिसन र विश्व खाद्य कार्यक्रमका लागि हेलिकप्टरको चार्टर उडान समेत गर्दै आएको छ। चार वर्षअघिदेखि यो कम्पनीले सिआरजे २०० र ७०० जेट विमानबाट आन्तरिक गन्तव्यमा उडान थालेको थियो। जेट इन्जिनयुक्त जहाजबाट श्रीले काठमाडौंदेखि भद्रपुर, विराटनगर, राजविराज, भैरहवा, नेपालगञ्ज, धनगढी तथा माउन्टेन फ्लाइट गरिरहेको छ।

ड्यास ८ क्यू४०० टर्वाेप्रप्स जहाजबाट भने काठमाडौंबाट पोखरा, जनकपुर र सिमरा लगायतका विमानस्थलमा उडान गरिरहेको मानन्धरले जानकारी दिए। नेपाल भ्रमण वर्ष २०२० मा आउने विदेशी तथा आन्तरिक गन्तव्यमा आउजाउ गर्ने स्वदेशी पाहुनालाई सहज यातायातको सेवा दिलाउन पोखरासम्म उडान थालेको उनले बताए।

नियमित उडान गर्ने योजना अनुरुप श्रीले माघ पहिलोसाता पोखरामा परीक्षण उडान गरेको थियो। अहिले काठमाडौं–पोखरा रुटमा बुद्ध, यती र सिम्रिक एयरलाइन्सले नियमित उडान गरिरहेका छन्। यो रुटमा अहिले दैनिक दुई दर्जनको हाराहारीमा एकतर्फी उडान हुने गरेको पोखरा विमानस्थलले बताएको छ। सन् २०१९ मा पोखरा विमानस्थलल ७ लाख २० हजार ७ सय १४ जना हवाई यात्रुलाई सेवा दिएको थियो ती मध्ये १ लाख ९३ हजार ४ सय ४२ जना विदेशी यात्रु थिए।

 

प्रकाशित: २४ माघ २०७६ ११:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App