८ वैशाख २०८१ शनिबार
खेल

विजय युथको विजयी सुरुआत

हेटौंडा- घरेलु टोली प्राइम पोलिक्लिनिक विजय युथले दोस्रो अन्तर्राष्ट्रिय फुटबल गोल्डकपमा विजयी सुरुआत गरेको छ। सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानले आयोजना गरेको प्रतियोगितामा विजय युथले सरस्वती युथ क्लब काठमाडौंलाई टाइब्रेकरमा ३–१ ले हरायो।

निर्धारित समय खेल १–१ बराबरीमा टुंगिएपछि खराब प्रकाशका कारण अतिरिक्त समयको खेल खेलाइएन। खेलको निर्णय सोझै टाइब्रेकरका आधारमा गरियो।

युथको जितमा सुनिल बल, मार्टिन अजिद र सुरज विष्टले गोल गरेका थिए। विजय युथका सञ्जय राजवाहकको प्रहार बाहिरिएको थियो। सरस्वतीका लागि जनम लिगले मात्र ट्राइब्रेकरमा गोल गरेका थिए। सरस्वतीका कुमार गिरी, तीर्थ बस्नेत र बबीका प्रहार विजय युथका गोलरक्षक अशोक बरारले बचाए।

बरार एएफयु म्यान अफ दि म्याच घोषित भए।

२२ औं मिनेटमा सुनिल बलले गोल गर्दै विजय युथलाई अग्रता दिलाए। सरस्वतीका गोलरक्षक एलन न्यौपानेले विजय युथका आधा दर्जनभन्दा बढी प्रहार बचाए। सरस्वतीका कुमार गिरीले खेलको ८० औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए।

‘धेरै खेलाडीलाई मौका दिन खोज्दा कठिन जित हात पर्‍यो। हाम्रा तीन जना खेलाडी सातौं राष्ट्रिय खेलकुदमा भएका कारण खेल केही कठिन भएको हो। सरस्वतीका डिफेन्डरको राम्रो प्रदर्शनका कारण हाम्रा फरवार्ड खुलेर खेल्न सकेनन्,’ विजय युथका प्रशिक्षक सुविन घिमिरेले पहिलो खेलमा भएको गल्ती आगामी दिनमा सच्याउने बताए।

सरस्वतीका टोली व्यवस्थापक प्रशिक्षक प्रदीप नेपालले नयाँ र जुनियर खेलाडीलाई मौका दिँदा सोचेअनुरुप प्रदर्शन गर्न नसकेको बताए। पुस २३ सम्म सञ्चालन हुने प्रतियोगितामा २ विदेशीसहित १० टोलीको सहभागिता छ।

प्रकाशित: १५ पुस २०७३ ०३:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App