७ वैशाख २०८१ शुक्रबार
राजनीति

आठौं प्रदेश बनाए निकास : गच्छदार

काठमाडौं- मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले सीमांकन विवाद समाधान गर्न आठौं प्रदेशमा जान सकिने  विकल्प अघि सारेको छ।  प्रदेश विवाद मिलाउन झापा, मोरङ, सुनसरीलाई २ नम्बर प्रदेशमा राख्नुपर्ने, त्यो हुन नसके झापा, मोरङ, सुनसरी, सिराह, सप्तरी र उदयपुरलाई मिलाएर आठौं प्रदेश बनाउनुपर्ने निष्कर्ष पार्टीले निकालेको छ।

'झापा, मोरङ, सुनसरीलाई २ नम्बर प्रदेशमा राख्नुपर्ने, त्यो हुन नसके झापा, मोरङ, सुनसरी, सिरहा, सप्तरी र उदयपुर मिलाएर आठौं प्रदेश बनाउनुपर्ने।

केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले गरेका निर्णयबारे जानकारी गराउन बिहीबार पार्टी कार्यालय तीनकुनेमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष विजय गच्छदारले कैलाली र कञ्चनपुरलाई ५ नम्बर प्रदेशम मिलाउनुपर्ने बताए। 'सबैभन्दा राम्रो बाटो झापा, मोरङ, सुनसरी, सिराह, सप्तरी र उदयपुरलाई मिलाएर आठौं प्रदेश बनाउनु नै हो',  गच्छदारले भने, 'यसरी आठौं प्रदेश बनाउँदा मधेसमा तीन प्रदेश हुनेछन्।'

मधेसमा तीन प्रदेश भएमात्र अहिलेको राजनीतिक गतिरोधले निकास पाउने धारणा पनि उनले राखे।

उनले संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पास गरेर चुनावमा जानुपर्नेमा जोड दिए। उनले एमालेले उठाएको मुद्दालाई  सम्बोधन गरेर अघि बढ्नुपर्ने पनि बताए।

उनले वर्तमान सरकार निर्माणको औचित्य सकिँदै गएको दाबी गरे। उनले भने, 'अब हामी केही दिनमात्र पर्खन्छौं। केही दिनभित्र पनि सरकारले निकास दिन सकेन भने समर्थन फिर्ता लिन्छांै।'

संविधान संशोधन प्रस्ताव परिमार्जन गरी अघि बढेमा मुलुकले निकास  पाउने र सरकारको औचित्य पनि रहने उनको भनाइ थियो।

पार्टी सरकारमा जान्छ भन्ने प्रश्नको जबाफमा उनले भने, 'सकारमा  जाने विषयलाई हामीले गौण बनाएका छौं।'

बैठकमा अधिकांश केन्द्रीय सदस्यले पार्टी सरकारमा पनि नगएको र विपक्षी आन्दोलनमा पनि सहभागी नभएको भन्दै नेतृत्वको आलोचना गरेका थिए। यसबारे सञ्चारकर्मीको जिज्ञासामा गच्छदारले पार्टीले बीचको लाइन लिएको प्रतिक्रिया दिए।

गच्छदारले एक दुईजनाले पार्टी छाड्दैमा केही फरक नपर्ने बताए। 'एकजनाले पार्टी छाडेमा म दसजनालाई ल्याउँछु', उनले भने।

प्रकाशित: १५ पुस २०७३ ०२:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App