coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

दशौं राष्ट्रिय खेलकुद कर्णालीमा आयोजना हुने

दशौं राष्ट्रिय खेलकुद प्रतियोगीताका लागि राष्ट्रिय खेलकुद परिषद्ले तयार पारेको सुर्खेत रंगशालाको स्केच ।

सुर्खेत- दशौं राष्ट्रिय खेलकुद प्रतियोगीता कर्णाली प्रदेशमा आयोजना हुने पक्कापक्की भएको छ। नवौं राष्ट्रिय खेलकुद प्रतियोगीता गण्डकी प्रदेशमा आयोजना गर्ने तयारी गरिरहेको राष्ट्रिय खेलकुद परिषद्ले शून्य संरचना भएको कर्णालीमा दशौं प्रतियोगीता आयोजना गर्ने तयारी थालेको हो।

परिषद्का सदस्य–सचिव रमेश सिलवालले २०७९ कात्तिकभित्रमा कर्णालीमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगीता आयोजना गर्ने तयारी भइरहेको जानकारी दिए। परिषद्ले एक महिनादेखि कर्णालीमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगीताको संभाव्यता अध्ययनका लागि प्राविधिकहरु खटाएको छ।

शून्य संरचना भएको कर्णालीमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगीता आयोजना गर्नु चुनौतिपूर्ण छ। हरेक दुई–दुई वर्षमा हुने प्रतियोगीताको नवौं संस्करण २०७७ को फागुन २० देखि २७ गतेसम्म गण्डकी प्रदेशमा हुँदैछ। त्यसलगत्तै दशौं खेलकुदको तयारी थाल्दा कर्णालीमा आवश्यक संरचना निर्माण असंभव भएकाले अहिलेदेखिनै तयारी थालिएको सदस्य–सचिव सिलवालले बताए। ‘सामान्यतया एउटा प्रतियोगीता सम्पन्न भएपछि अर्को प्रतियोगीताको मिति तोकेर तयारीमा जुट्थ्यौं,’ राखेपका सदस्य–सचिव सिलवालले भने, ‘कर्णालीमा शून्य संरचना भएकाले यहाँ अहिलेदेखिनै तयारीमा जुटेका हौं।’

परिषद्ले दशौं राष्ट्रिय खेलकुद प्रतियोगीताका लागि आवश्यक पर्ने संरचनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारेको छ। एक महिना लगाएर तयार पारिएको डिपिआरमा प्रतियोगीताका लागि आवश्यक पर्ने खेलकुदका संरचना निर्माण गर्न पाँच अर्ब लाग्ने उल्लेख छ। ‘कर्णालीमा अहिलेसम्म खेलकुद गतिविधि सञ्चालन गर्नका लागि एउटै पनि स्थायी संरचना छैन,’ सदस्य–सचिव सिलवालले भने, ‘शून्यबाट संरचना निर्माणको काम गर्नुपर्ने भएकाले प्रतियोगीताको मिति घोषणा नहुँदै काम सुरु गरेका हौं।’

उनले दशौं राष्ट्रिय खेलकुद प्रतियोगीता आयोजनाका लागि कर्णाली प्रदेश सरकार र यहाँका स्थानीय तहहरु सकारात्मक रहेको बताए। दशौं राष्ट्रिय खेलकुद प्रतियोगीताको तयारीका लागि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर आएका सदस्य–सचिव सिलवालले मुख्यमन्त्री महेन्द्रबहादुर शाही, सामाजिक विकास मन्त्री दल रावल, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीलगायतलाई भेटेका थिए। भेटका क्रममा मुख्यमन्त्री शाहीले खेलकुदका संरचना निर्माणका लागि प्रदेश सरकारले सघाउने प्रतिवद्धता जनाएका छन्। ‘कर्णालीमा राष्ट्रिय खेलकुद प्रतियोगीताको आयोजना हुनु महत्वपूर्ण कुरा हो,’ मुख्यमन्त्री शाहीले भने, ‘प्रदेश सरकारले आर्थिक, भौतिक, प्राविधिक रुपमा संरचना निर्माणमा सघाउँछ।’

उनले अघिल्लो आर्थिक वर्षमा खेलकुदका संरचना निर्माणका लागि छुट्याइएको बजेट कार्यान्वयन हुन नसकेर फ्रिज भएकाले अवको बजेट दशौं राष्ट्रिय खुलकुद प्रतियोगीताका लागि केन्द्रीत गरिने बताए।

सदस्य–सचिव सिलवालले कर्णालीमा मंसिरबाटै हिउँ पर्न सुरु हुने भएकाले त्यसअघिनै प्रतियोगीता आयोजना गर्न उपयुक्त हुने बताए। ‘कर्णालीका पहाडी जिल्लाहरुमा पनि एक–एक वटा खेल सञ्चालन गर्ने उद्देश्य हामीले लिएका छौं,’ उनले भने, ‘मंसिरको सुरुबाटै हिउँ पर्ने भएकाले कात्तिकभित्रै प्रतियोगीता सम्पन्न गर्ने लक्ष्य परिषद्को छ।’

प्रतियोगीताका लागि सुर्खेतमा अन्र्तराष्ट्रिय स्तरको रंगशाला निर्माण गरिने छ। यसका लागि दुई अर्ब रुपैयाँ लाग्ने राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ। सुर्खेतमा निर्माण हुने रंगशाला १० हजार दर्शक क्षमताको हुनेछ। योसँगै अन्तराष्ट्रिय पौडी संघको मापदण्ड अनुसारको पौडी पोखरी र कवर्ड हल पनि निर्माण गरिने छ। ‘अन्य जिल्लाहरुमा प्रतियोगीता संचालनका लागि आवश्यक पूर्वाधार निर्माण गर्न थप दुई अर्ब खर्च हुन्छ,’ सदस्य–सचिव सिलवालले भने, ‘समग्रमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगीता सम्पन्न गर्नका लागि पाँच अर्बको खर्च अनुमान गरेका छौं।’

उनले तीन तहकै सरकारसँग सहकार्य गरेर बजेटको व्यवस्था गरिने बताए। ‘प्रदेश र स्थानीय तहले आवश्यक बजेटको व्यवस्था गर्छौ भनेर प्रतिवद्धता जनाउनु भएको छ,’ उनले भने, ‘अपुग रकम परिषद्ले व्यवस्था गर्छ।’ भौगोलिक विकटता र अहिलेसम्म अन्तराष्ट्रिय मापदण्डका संरचना कर्णालीमा नभएकाले अहिलेदेखिनै प्रतियोगीताको तयारी सुरु गरिएको बताए।

 

प्रकाशित: २३ माघ २०७६ १४:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App