७ वैशाख २०८१ शुक्रबार
समाज

नगरपालिका प्रशासनिक भवन पनि यसै वर्ष सकिने

३ नं. वडा सातपत्रेस्थित वडा भवनको शिलान्यास गर्दै मेयर थापा र उपमेयर चौधरी । तस्बिरः माझखर्क

रामपुर- उदयपुरको बेलाका नगरपालिका चालु आर्थिक वर्षभित्रै नयाँ भवनबाट सेवा प्रवाह गर्ने लक्ष्यका साथ अघि बढेको छ। जस अनुसार नगरपालिकाको प्रशासनिकदेखि सबै वडा कार्यालयका भवन धमाधम निर्माण भईरहेको छ।

अहिलेसम्म ४, ५ र ८ नं. वडा भवनहरु निर्माण गरिसकेको नगरपालिकाले बाँकी वडा भवनहरु पनि बनाउने ठेक्का लगाईसकेको छ। बेलाकाले चालु आर्थिक वर्षभित्रै बाँकी ५ वटा वडालाई भवनयुक्त बनाउन निर्माण कार्य थालिसकेको जनाएको छ। ९ वडा रहेको बेलाकामा चालु वर्षभित्र ८ वटा भवन बनिसक्ने नगरप्रमुख दुर्गाकुमार थापाले बताए। उनका अनुसार १ र २ नं. वडामा भने सामान्य बिवादले काम गर्न केही ढिला भएको छ।

१ नं. मा भवन बनाउने ठाउँबारे उब्जिएको बिबादले काममा ढिला भए पनि भर्खरै बिबाद सल्टिएपछि ठेक्का लगाउने तयारी भईरहेको छ भने २ नं. मा ठाउँकै बिबादले भवन बनाउने टुंगो लाग्न सकेको छैन। चाँडो बिवाद टुंग्याएर भवन बनाउन सुरु गर्न नगरपालिका लागि परेको मेयर थापाले बताए। बिवाद सल्टिए चालु वर्षभित्रै बेलकाका सबै वडाहरु भवनयुक्त हुने उनले बताए। २ नं. मा बिवाद नमिले ८ वटा वडामा भने यसै वर्ष भवन बनाई सकेर वडाबासीलाई आप्mनै भवनबाट सेवा दिने योजना मेयर थापाले सुनाए।

लालबजारमा सभाकक्षसहितको ४ कोठे भवन सकेर वडाले सेवा सुरु गरिसकेको छ। ३७ लाख लागतमा सत्य सीता कन्सट्रक्सन प्रालिले भवन बनाएको हो। त्यस्तै ३५ लाखकै लागतको सभाकक्षसहितको ५ नं. को ६ कोठे भवन पनि बनिसकेको तर, कार्यालय सार्न बाँकी छ। उक्त भवन पनि सत्य सीता कन्सट्रक्सनले नै निर्माण गरेको हो। ७ नं. वडाभवन चतरा पुलनजिकै सोमबारेमा ट्रस प्रविधिको १२ लाख रुपैंयामा निर्माण भईसकेको छ।

१ को भवन भालमन्तीमा निर्माण गर्न ठेक्का प्रक्रिया सुरु भईसकेको छ भने ३ नं. वडा भवन सातपत्रेमा बनाउन सिल्यान्यास भएको छ। ३७ लाख लागतमा निर्माण हुने उक्त भवनको मेयर थापाले भर्खरै शिल्यान्यास गरे। आउँदो वैशाख १५ गतेभित्र बनाईसक्ने उक्त भवन बेल्टारे निर्माण सेवाले जिमा लिएको वडाध्यक्ष भरत दर्लामी मगरले बताए। उता ७ नं. वडाभवन बासिराम टेम्वास्थित मैनाममैनी निर्माण सेवाले बनाउने गरी ठेक्का प्रक्रिया अघि बढेको छ भने ९ नं. को नगरपालिका नजिकै रामपुरमा वडा भवन निर्माण सुरु भएको छ। सभाकक्षसहित ४ कोठे सो भवन ३७ लाखकै लागतमा बन्ने छ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुस्कर भट्टराईले नगरपालिका र सबै वडाहरुलाई यसै वर्षभित्र भवनयुक्त बनाउने योजना रहेको बताए। उनले १ नं. बाहेक बाँकी ८ वटै वडाका भवन चालु वर्षभित्रै सक्ने गरी निर्माण कार्य युद्धस्तरमा भईरहेको बताए। यसवर्षभित्र नगरपालिका र सबै वडाको भवन बनाई सकेर नगरबासीलाई आप्mनै भवनबाट चुस्त दुरुस्त सेवा प्रवाह गर्ने योजना रहेको उनले बताए।

भट्टराईले ८ वटा वडा भवन बनाउन नगरपालिकाले लगभग ३ करोड रुपैयाँ खर्च गर्ने बताए। उनले नगरपालिकाको प्रशासनिक भवन पनि निर्माणाधीन अवस्थामा छ। हाल इलाका स्वास्थ्य चौकी र परिसरमा केही टहरा बनाएर सञ्चालनमा रहेको नगरपालिकालाई नयाँ भवनमा सार्नेगरी दु्रत गतिमा निर्माणाधीन छ। वडा नं. ६ को बुद्धचोकमा निर्माणाधीन अढाई तले नगर प्रशासनिक भवनमा २ वटा सभाकक्षसहित २२ कोठा हुने छन्।

नगर भवनमा बेलाकाले २ करोड १५ लाखको प्राविधिक इस्टीमेट गरेकोमा घटाघट प्रतिस्पर्धामार्फत १ करोड ९० लाखमा निर्माण गर्ने गरी सगरमाथा/घिमिरे निर्माण सेवाले ठेक्का सकारेको भट्टराईले बताए। उनका अनुसार आउँदो असार मसान्तसम्ममा सक्नेगरी निर्माण भईरहेको भवनको हालसम्म ३३ प्रतिशत काम सकिएको छ।
    
 

प्रकाशित: २३ माघ २०७६ १३:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App