८ वैशाख २०८१ शनिबार
समाज

'अनाहकमा गोली हानियो'

बर्दिया- तीन साताअघि बर्दिया, छोटकी डेउडाबाट मूर्ति बरामद गर्ने क्रममा प्रहरीको गोली लागेर घाइते डेउढाकला माछागढका रामबहादुर शाहीले आफूमाथि अनाहकमा गोली प्रहार गरिएको दाबी गरेका छन्। 'वैशाख अन्तिम साता ललितपुरको एक पसलबाट २५ हजार रुपैयाँमा मूर्ति किनेको हुँ, बढी मूल्य दिन खोजेकाले मूर्ति बेच्न खोजेको थिएँ,' जिल्ला अस्पताल, बर्दियामा प्रहरीको निगरानीमा उपचार गराइरहेका शाहीले भने, 'म माथि त्यत्तिकै गोली प्रहार गरियो।'

मूर्ति किन्ने भन्दै ग्राहकको भेषमा आएका प्रहरीले यसबारे सोधखोज नै नगरी आफूमाथि अन्धधुन्ध गोली हानेको उनको आरोप छ।

'मेरो गल्ती छैन, गोली नहान्नुस् भन्दाभन्दै तीन राउन्ड गोली चल्यो, पहिलोचोटि हवाई फायर, दोस्रो गोली घुँडामा लाग्यो, र तेस्रो गोली लागेर मेरो जुत्ता च्यात्तिएको छ,' शाहीले भने। स्थानीय बिहारीकृष्ण चौधरीले गाउँमा बुद्धको मूर्ति किन्ने व्यापारी आएका छन् भन्ने खबर गरेपछि घरायसी गर्जो टार्नका लागि उक्त मूर्ति बेच्न खोजेको परिवारको भनाइ छ।

घरमा पूजाआजा गर्न मूर्ति किनेर ल्याएको परिवारले जानकारी दिएको छ। पूजा गर्न आवश्यक पर्ने भएकाले बुबाले बुद्ध मूर्ति किनेर ल्याएको छोरा विवेक शाहीले जनाए। 'हाम्रो घरमा बुद्धको मूर्ति छ भन्ने सबैलाई थाहा थियो,’ उनले भने, 'पैसा खाँचो भएको र किनेको भन्दा बढी  मूल्य पाएकाले बेच्न लागेका थियौं, आखिर, यस्तो घटना भयो।'

बुबाले ललितपुरबाट मूर्ति किनेर ल्याएकोबारे आफूलाई जानकारी भएको उनले बताए।

शाहीलाई चिन्ने गाउँका स्थानीयले पनि उनी गलत धन्दामा लाग्ने गरेको बारे जानकारी नभएको बताएका छन्। 'हामीले थाहा पाएसम्म उनले अहिलेसम्म त्यस्तो अवैध काम गरेको जानकारी छैन,' नाम उल्लेख गर्न नचाहने एक स्थानीयले भने, 'एक्कासि उनीमाथि यस्तो घटना भएपछि अचम्म लागेको छ।'

नेपाल प्रहरी, सिआइबीको केन्द्रीय टोली, क्षेत्रीय अनुसन्धान ब्युरो र लक्ष्मना चौकीबाट परिचालित प्रहरीले छोटकी डेउडा नहरको पुलनजिक मंसिर २५ गते मूर्ति बरामद गर्ने क्रममा गोली प्रहार गर्दा  डेउढाकला माछागढका  शाही घाइते भएका थिए। बायाँ घुँडामा गोली लागेर घाइते भएका शाहीको चार दिनदेखि प्रहरी निगरानीमा जिल्ला अस्पताल, गुलरियामा उपचार भइरहेको छ। यसअघि उनको नेपालगन्ज अस्पतालमा उपचार गरिएको थियो।

अस्पतालका अनुसार प्रहरीले प्रहार गरेको गोली घुँडाको अघिल्लो भागमा लागेर पछाडिबाट निस्केको छ। प्रहरीले स्थानीय शाही र राधिका सिंहलाई नियन्त्रणमा लिएको छ। सिंह नाताले शाहीको फुपू पर्छिन्। हिरासतमा राख्न बुधबार शाहीलाई  जिल्ला प्रहरी कार्यालय ल्याइए पनि उनको घाउ पाकेकाले उपचारका लागि गुलरिया अस्पताल भर्ना गरिएको प्रहरीको भनाइ छ।

शाहीले प्रहरीको हतियार खोस्न खोजेपछि गोली प्रहार गरिएको क्षेत्रीय प्रहरी प्रमुख डिआइजी माधवप्रसाद नेपालले बताए। 'शाहीलाई नियन्त्रणमा लिन खोज्दा उनी घम्साघम्सीमा उत्रिएकाले प्रहरीले फायरिङ खोल्नुपरेको हो,' डिआइजी नेपालले भने।

बरामद 'बुद्ध मूर्ति' पुरातत्व पठाइयो

प्रहरीले छोटकी डेउडामा बल प्रयोग गरी बरामद गरेको 'बुद्ध मूर्ति' परीक्षण गर्न काठमाडौंस्थित पुरातŒव विभाग पठाएको छ।  

प्रहरीले उक्त मूर्ति तीन दिनअघि मात्र परीक्षणका लागि पुरातŒव विभागमा पठाइएको जानकारी दिएको छ। परीक्षणपछि मात्र  उक्त मूर्ति पुराताŒिवक महŒवको हो कि होइन भन्ने पत्ता लाग्ने उसको भनाइ छ। 'उक्त मूर्ति ऐतिहासिक महŒवको हो कि होइन भन्ने यकिन गर्न काठमाडौं पठाएका छौं, यस घटनाका अन्य पक्षबारे पनि अनुसन्धान भइरहेको छ,' एसपी भरतबहादुर बोहराले भने।

उक्त मूर्ति जुम्ला चन्दननाथ मन्दिरबाट  चोरी गरेको नभएको पुष्टि भइसकेको छ। शाहीलाई पुराताŒिवक वस्तु किनबेचसम्बन्धी मुद्दाअन्तर्गत कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका  प्रहरी निरीक्षक चक्रबहादुर डम्बर पालले जनाए।

प्रकाशित: १५ पुस २०७३ ०२:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App