coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

लुम्बिनी प्रादेशिक अस्पतालका सटरमा डोजर, व्यवसायी आक्रोशित

डोजर लगाएर भत्काइएका सटरहरु

रुपन्देही - प्रदेश सरकारको निर्णयअनुसार लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले भाडामा लगाएका सटरमा बिहिबार डोजर चलाएको छ। अस्पताल प्रशासनले पटक पटक सूचना दिएर सटर खाली गराउन भने पनि व्यवसायीहरुले ५ वर्षे टेन्डर सम्झौता पालना हुनुपर्ने भन्दै अदालत गएपछि बिहिबार अस्पताल प्रशासनले डोजर चलाएर अस्पतालका सटरहरु भत्काएको हो।

जिल्ला अदालत रुपन्देहीमा परेको मुद्दा उपर अदालतले सटर भत्काउन बाटो खुलाएको भन्दै अस्पताल बिकास समितिले बुधवार राति १२ बजेसम्म २४ घण्टे अल्टिमेटम दिएको थियो। तर सटर व्यवसायीका तर्फबाट यज्ञप्रसाद सापकोटाले फागुन २१ गते दायर गरेको रिटमा सर्वोच्च अदालतका न्यायाधिश पुरुषोत्तम भण्डारीको एकल इजलासले बुधबार दुबै पक्षलाई छलफलमा बोलाउने अन्तरकालीन आदेश दिएको थियो। यो आदेशको अस्पताल प्रशासनलाई जानकारी नभएको र व्यवसायीले अटेर गरेकाले ७३ वटा सटरमा डोजर चलाइएको अस्पताल प्रशासनले जनाएको छ।

विगत २७ वर्षदेखि अस्पताल परिसरका सटरहरु व्यवसायीहरुलाई भाडामा लगाउँदै आएको थियो।  २०७५ फागुन २८ गते टेन्डर निकालेको अस्पतालले जेठ २९ गतेदेखि सम्झौता लागू हुने गरि ५ वर्षका लागि व्यवसायहरुलाई सटर भाडामा लगाएको थियो। सटरभाडा वापत अस्पतालले बार्षिक ९ करोड आम्दानी गरेको थियो। प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले अस्पतालको स्तरबृद्धिका लागि निजी क्षेत्रलाई दिइएको सटर हटाउने निर्णय गरेको थियो। तर, सर्वोच्चले दुवै पक्षलाई बोलाएर छलफल गर्न भनेको बेला एकाएक डोजर चलाएपछि व्यवसायीहरु आक्रोशित भएका छन्।

बुटवल हस्पिटललाईनमा अहिले व्यवसायीहरुले सडकमा सामान राखेका छन्। भत्किएको सटरबाट सामान निकाल्न परेपछि व्यवसायीहरुले राज्यले आफूहरुलाई आंतककारीको जस्तो व्यवहार गरेको भन्दै अस्पताल प्रशासन विरुद्ध नाराबाजी समेत गरेका छन्। अस्पताल क्षेत्रमा अहिले बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ।

प्रकाशित: २३ माघ २०७६ ०८:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App