८ वैशाख २०८१ शनिबार
समाज

पहाड र तराईका गाउँबीच 'मितेरी साइनो'

काठमाडौं – ग्रामीण पर्यटनमा टेवा पु-याउने उद्देश्यले पहाडका दुई र तराईका दुई गाउँबीच आपसमा मितेरी साइनो गाँसिने भएको छ। होमस्टे पर्यटन अभ्यास गर्दै आएका गाउँहरुबीच साइनो गाँसिएपछि सांस्कृतिक आदानप्रदानमा समेत सघाउ पुग्ने छ।
 
गाउँ पर्यटन प्रर्वद्धन मञ्च (भिटोफ) नेपाल, गण्डकी शाखाको आयोजनामा शुक्रबार बर्दियामा मितेरी कार्यक्रम हुँदैछ। कार्यक्रममा कास्कीको ताङतिङ सामुदायिक होमस्टे र बर्दियाको गोविन्दपुर सामुदायिक होमस्टेबीच र पर्वतको भुक देउराली नमुना गाउँ सामुदायिक होमस्टे र बर्दियाकै खाता जैविकमार्ग होमस्टेबीच मितेरी साइनो गाँसिने कार्यक्रमका संयोजक तारानाथ पहारीले जानकारी दिए।

‘जाऔं है घुम्नलाई, मितेरी जोडेर सुरु गरौं भ्रमण वर्षलाई’ भन्ने नाराका साथ आयोजना गरिने कार्यक्रममा आपसी सद्भाव, खाना र संस्कृतिको आदान प्रदान गरिनेछ। ताङतिङ र भुक देउराली गुरुङ गाउँ हुन् भने गोविन्दपुर र खाता गाउँ (डल्ला)मा थारु समुदायको बसोबास छ।

‘मितेरी गाउँहरूले कम्तिमा वर्षको एकपटक ती गाउँ घुम्ने वातावरण बनाउँछौं’, कार्यक्रमका संयोजक पहारी भन्छन्, ‘साथै तराईमा आउने पर्यटकलाई पहाडमा र पहाडमा आउने पर्यटकलाई तराईमा घुम्न प्रेरित गरिनेछ।’

नयाँ नेतृत्व आएसँगै भिटोफ गण्डकीले सक्रियता बढाएको छ। ‘हामी मितेरी साइनो गाँस्ने कार्यक्रमलाई निरन्तरता दिनेछौं’, भिटोफका अध्यक्ष नवराज अधिकारी भन्छन्, ‘यस्तै नयाँनयाँ उपायले गाउँ पर्यटनको विकासमा योगदान गर्नेछौं।’

प्रकाशित: २३ माघ २०७६ ०५:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App