८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

झेल्नै नसकिने नयाँ दिल्लीको प्रदूषण

प्रदूषणको कुहिरोमा दिल्लीका युवा इन्डिया गेट नजिकै फुटबल खेल्दै।

जेवेल समाद

नयाँ दिल्ली – म संसारकै सबैभन्दा प्रदूषित सहरमा हुर्के। त्यसैले मलाई लाग्यो– नयाँ दिल्लीको हिउँदयाम, जसलाई प्रदूषणको सिजन पनि भनिन्छ, म सजिलै झेल्न सक्छु। म यसका लागि तयार छु भन्ठानेको थिएँ। तर, यो तयार हुन सकिने विषय रहेनछ।

मेरो बाल्यकाल बितेको सहर ढाकामा हुँदा हामी प्रदूषण सामना गथ्र्यौं। हामी बाहिर खेल्थ्यौं। र, सहजरूपमा हिँडडुल पनि गथ्र्याैं।

नयाँ दिल्लीमा आउँदा दिल्ली ढाकाभन्दा कति पो फरक होला र भन्ठानेको थिएँ। तर, जतिबेला यो भोग्दैछु, फरक पनि उत्ति नै पाइरहेको छु।

पछिल्लो एक महिनामा हामी घरभित्रै बस्ने कैदीजस्ता भएका छौं। जब हामी बाहिर निस्कन्छाैं, हाम्रा आँखा पोल्न थाल्छन्, खोकी लाग्न थाल्छ र सास फेर्नै कठिन भएझैं लाग्छ। भर्खरका केटाकेटी त झन् बढी प्रभावित हुने नै भए। त्यसैले म र श्रीमतीले हाम्रा पाँच र नौं वर्षीय छोरीहरूलाई सकेसम्म बाहिर जान दिँदैनौं।

हामी चार महिनादेखि दिल्लीमा छौं र हामी आएको तीन महिनापछि प्रदूषणको सिजन सुरु भएको हो। त्यसपछि हामी हावालाई स्वच्छ पार्ने संयन्त्रको साथ जीवननिर्वाह गरिरहेका छौं।

मेरो अपार्टमेन्टमा हावालाई कृत्रिमरूपमा शुद्ध पार्ने चार वटा एयर प्युरिफायर जडान गरिएको छ। मैले आफ्नो गाडीमा पनि एयर प्युरिफायर राखेको छु। कार्यालयमा पनि यही सुविधा छ। केटाकेटीको स्कुलमा खेलकुद मैदानसँगै हावा स्वच्छ पार्ने प्रणाली नै राखिएको छ। त्यही सुविधाले उनीहरूलाई एक पटक मात्रै भए पनि बाहिर खेल्ने मौका मिल्छ।


 ६ महिनाकी बालिका र उनको अपार्टमेन्टमा रहेको एयर प्युरिफायर। तस्बिर :  एएफपी

दिल्लीमा प्रदूषण हिउँद यामसँगै आउँछ र तीन महिना अत्यधिक हुने गर्छ। यसका विभिन्न कारण छन्। एक हो, किसानले बालीनाली भित्र्याइसकेपछि खैमल बाल्ने चलन। यसले यहाँको प्रदूषण ह्वात्तै बढाउँछ।

नयाँ दिल्लीको प्रदूषणले म आफ्ना केटाकेटीबारे बढी चिन्तित छु। उनीहरू बढी जोखिममा छन्। उनीहरूलाई प्रदूषणको यो अवस्थामा दमले सताउन सक्छ। त्यसैले उनीहरूलाई घरभित्रै सीमित राख्नुपरेको छ। हाम्रा आँखाले प्रदूषणको स्तरलाई लगातार नियालिरहेका हुन्छन्। जब प्रदूषण अलिकति कम हुन्छ, तब हामी केटाकेटीलाई नजिकै रहेको पार्कमा लैजान्छौं। तर, धेरैजसो समय उनीहरू अपार्टमेन्टभित्रै बिताउँछन्। जब घरभित्र हुन्छन्, तब उनीहरूको समय टेलिभिजन अथवा आइप्याडको स्क्रिनमा हुन्छ। हामीले नचाहेर पनि उनीहरूलाई यो सुविधा दिनुपरेको छ। कि त उनीहरूलाई यिनै स्क्रिन दिनुप-यो, कि त स्वास्थ्यको लागि हानिकारक हावा। सामान्य केटाकेटीझैं उनीहरू बाहिर जान चाहान्छन्। म उनीहरूलाई दुःखी भएको देख्छु।

भाग्यवश, उनीहरूको स्कुल यसमा संवेदनशील छ, जहाँ उनीहरूलाई प्रदूषण स्वास्थ्यका लागि हानीकारक रहेको सिकाइन्छ र बाहिर निस्कँदा मास्क लगाउनुपर्ने भनेर भनिन्छ। स्कुलभित्रै प्रदूषण नाप्ने मिटर जडान गरिएको छ। हरियो रंग ठिक, पहेलो रंग खतरातिर उन्मुख, रातो स्वास्थ्यका लागि नराम्रो र बैजनी त सबैभन्दा नराम्रो भनेर उनीहरूलाई थाहा छ। मेरो एउटी छोरीले वैजनी रंग मन पराउँछे। तर, यही रंगले उसलाई नराम्ररी प्रभाव पार्छ।

यो वर्ष मात्रै स्कुलले बाहिर रहेको खेलमैदानसँगै औद्यौगिकरूपमा प्रयोग गरिने ठूलोखाले हावा स्वच्छ पार्ने संरचना स्थापना गरेको छ। यसले केटाकेटीहरू बाहिर निर्धक्क खेल्न सक्ने भएका छन्। खेलमैदानमा चारैतर्फ झन्डै आठ फिट उचाईका पाइप राखिएका छन् र यी पाइपले खैलमैदानको वरपरको तीन मिटरसम्मको हावा स्वच्छ पार्छ।

मेरी श्रीमतीका लागि पनि दिन कठिन छन्। हामी अमेरिकामा हुँदा उनी केटाकेटीहरू स्कुल गएपछि कि त घरायसी काममा व्यस्त हुन्थिन् कि त सपिङ जान्थिन्। तर, यहाँ उनी मात्र पढ्छिन् र उनले धेरै पढेकी छन्।

हामी सबैलाई यो कठिन समय बनेको छ। नयाँ ठाउँमा वरपर घुम्न मन सबैलाई मन पर्छ र त्यहाँको रहनसहन र संस्कृति बुझ्न उत्तिकै इच्छा हुन्छ। तर, हामी घरभित्रै नजरबन्दमा छौं र हामी कहिले हिउँदयाम सकिएला र प्रदूषणको कुहिरो फाट्ला भन्ने प्रतीक्षामा छौं।

मेरो रुचि नै सकेसम्म बाहिर बिताउने हो। मेरो काम नै फोटो खिँच्ने भएकाले बाहिर त निस्कनै प¥यो। मलाई मास्क लगाउन मन पर्दैन, जब म मास्क लगाउँछु, तब सास फेर्न गाह्रो भएझैं लाग्छ। सुन्दा यो अचम्म लाग्ला। तर, यही सत्य हो।

त्यसैले म दिल्लीमा बाहिर निस्कँदा कुनै विपदको अवस्थामा फोटो खिँच्ने जिम्मेवारी पाएझैं ठानी निस्कन्छु। मैले आफ्नो सोचलाई विपदको स्थिति झेल्न तयार बनाउँछु र काममा निस्कन्छु।

एक दिन प्रदूषणको समाचारका लागि फोटो खिँच्न म बाहिर निस्किएँ। एक–दुई घन्टा लगाएर केही तस्बिर पनि खिँचे। तर, जब म अफिस पुगे, मलाई टाउको दुख्न थाल्यो, म खोक्न थाले र  झन्डै बेहोस हुँलाझैं भयो।

अचम्मको कुरा के हो भने यहाँका स्थानीयलाई यसलाई आत्मसाथ गरिसकेका छन्। उनीहरू जगिङमा निस्केका छन् र क्रिकेट पनि खेल्न भ्याएका छन्। उनीहरू प्रदूषणसँगै हुर्केका छन् र उनीहरूका लागि यो दैनिकी भएको छ। उनीहरूलाई हेर्दा यस्तो लाग्छ– केही भएकै छैन। केहीले मास्क लगाएका छन् भने अरुले लगाएको पनि देखिँदैन। मैले उनीहरूलाई सोध्दा उनीहरू यसलाई झेल्नबाहेक अरु विकल्प नरहेको बताउँछन्।

म उनीहरूको कुरा बुझ्छु। केटाकेटी हुँदा प्रदूषणको उच्च स्तर हुँदा पनि ढाकामा घरभित्रै बसेको मलाई याद छैन। मैले २२ वर्षअघि ढाका छोडेको हुँ। एसियाका धेरै देशमा काम गरिसकेपछि मैले अमेरिकामा ११ वर्ष काम गरे र अमेरिकामै मेरा दुई छोरी जन्मिए। मैले जसरी ढाकामा समय बिताए, त्यसैगरी दिल्लीलाई त्यसैगरी झेल्न सक्छु ठानेको थिएँ। तर, सकिरहेको छैन।
हामी कहिले यो हिउँद सकिएला र नयाँ घरको वरपर निर्धक्क घुम्न सकिएला भन्ने प्रतीक्षामा छौं।
(लेखक एएफपीका लागि दक्षिण एसियाका प्रमुख फोटोग्राफर हुन्।)

प्रकाशित: २३ माघ २०७६ ०४:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App