७ वैशाख २०८१ शुक्रबार
राजनीति

‘अभद्र व्यवहार’ फसाउने फर्मूला

काठमाडौं – मुलुकी अपराध संहिताको दफा ११८ (१)मा उल्लेख गरिएको ‘अभद्र व्यवहार’सम्बन्धी कानुन प्रहरी र पहुँचवालाले प्रतिशोध साँधी सर्वसाधारण जो कोहीलाई फसाउन सकिने सजिलो ‘फर्मूला’ बनेको छ। सामान्य भनाभन, झैझगडा, रुखो व्यवहार, आमने–सामने हुने कुराकानीलाई पनि ‘अभद्र व्यवहार’ को सजाय माग गर्दै प्रहरीमा जाहेरी दिनेको संख्या बढ्दो छ। घटनाको प्रकृति र जाहेरीलाई हेर्दा जाहेरीकर्ताले नै प्रतिशोध र फसाउने नियत राखेको पाइएको छ।

यसअघिका अभद्र व्यवहार सम्बन्धि कारबाहीलाई हेर्दा प्रहरीले पनि प्रतिशोध राखेको देखिएको छ। प्रतिशोध साधेर अभद्र व्यवहारमा धेरैमाथि कारबाही गराउनेमध्ये प्रहरी पनि छन्। आइतबार त्रिभुवन विमानस्थलमा कार्यरत एक कर्मचारी र प्रहरीबीच सामान्य भनाभन भएपछि प्रहरी कर्मचारीले प्रतिशोध राख्दै महानगरीय प्रहरी परिसर जावलाखेलमा अभद्र व्यवहारको कारबाही माग गर्दै जाहेरी दिएका थिए। जिल्ला प्रशासन कार्यालय ललितपुरले बुधबार ती कर्मचारीलाई एक दिन हिरासतमा राखि ९ हजार धरौटीमा रिहाइ गरेको थियो।

माघ १ गते त्रिभुवन विमानस्थलको चेकिङ कक्षमा कार्यरत प्रहरी जवान रमीता श्रेष्ठ र गायिका आस्था राउतबीच भनाभन भयो। प्रहरी महिलाले आफूमाथि अभद्र व्यवहार भएको दाबीसहित महानगरीय प्रहरी परिसर काठमाडौंका जाहेरी दिइन्। एकदिन हिरासतमा बसेपछि गायिका राउत चार हजार धरौटीमा रिहाई भइन।

गायक भिटेन भनिने समीर घिसिङसँग गीतको बारेमा सोधपुछ गर्ने क्रममा प्रहरीलाई नै अभद्र व्यवहार गरेको भन्दै कात्तिक ७ गते प्रहरीले भिटेनविरुद्ध महानगरीय अपराध महाशाखामा मुद्दा दर्ता गराएर प्रहरीले कारबाही गरेको थियो।
प्रहरीले नै नियत राखेर गरेका केही अभद्र व्यवहारका कारबाहीका दृष्टान्त हुन् यी। प्रहरी वा माथिल्लो निकायका व्यक्तिले अभद्र व्यवहारसम्बन्धि कानुनको फाइदा लिएर कारबाही थालेको कानुनी अधिकारीहरुको बुझाई छ। अधिवक्ता सरोज गिरीले प्रहरी वा राज्यका माथिल्लो निकायका व्यक्तिले कोहीप्रति सनक चढ्यो भने यसै कानुनमा टेकेर फसाउन सक्ने बताए। उनका अनुसार कसैलाई नियन्त्रणमा लिई दुःख दिनलाई प्रहरीले आफै अपनाउन सक्ने सहज ‘फर्मूला यही कानुन बनेको छ। अन्य व्यक्तिहरुले पनि दुःख दिने नियतले अभद्रमा कारबाही गराएका छन्। ‘प्रहरी वा माथिल्लो निकायका व्यक्तिले कसैलाई तत्काल नियन्त्रणमा लिनको निम्ति यो तरीका अपनाउँछन्, यसमा न पर्याप्त तथ्य चाहिने र कुनै आधार नै,’ उनले भने, ‘तर, कानुनले तोकेका शीर्षकबाहेक अरु सजायमा मुद्दा चलाउन पाइँदैन, यो कानुनको दुरुपयोग हो।’

मुलुकी अपराध संहिताको दफा ११८ (१) अनुसार कसैले सार्वजनिक स्थान वा प्रवेश गर्न कानुनी अधिकार नभएको ठाउँमा प्रवेश गरी कसैलाई अभद्र व्यवहार गर्न वा सार्वजनिक स्थानमा महिला, बालबालिका वा शारीरिक रुपमा अशक्त व्यक्तिलाई हातपात वा हैरानी गर्न वा त्यसको उद्योग गर्न हुँदैन। यदि कसैले यो बुँदाविपरीत व्यवहार गरेको छ भने १ वर्षसम्म कैद, दस हजार जरिबाना वा दुवै सजाय हुने व्यवस्था छ।

वरिष्ठ अधिवक्ता सविता भण्डारीले जाहेरीकर्ताले दुःख दिने नियतले नै अभद्र व्यवहारमा जाहेरी दिने गरेको बताइन्। ‘गल्तीको कारण थाहा हुँदैन तर अभद्रमा मुद्दा दर्ता भइसकेको हुन्छ, अझ अभद्रमा मुद्दा हालिदिन्छु भनेर हप्काउने प्रहरी र माथिल्लो निकायका व्यक्ति नै हुन्छन्,’ उनले भनिन्, ‘यसरी कानुनको धाक देखाउनु राम्रो होइन।’ उनका अनुसार जबरजस्ती करणी, बलात्कार, अभद्र व्यवहारमा फसाउन सकिने धेरै आधार भएकाले पीडितको संख्या बढेको बताइन्। ‘हरेक कार्य सहमतिमा हुन्छ, जब चित्त बुझ्दैन तब फसाइदिन्छन्,’ उनले भनिन्। अपराध प्रस्ट खुलेको छ भने त्यही मुद्दा र नखुलेका अभद्र व्यवहारमा कारबाही हुने गरेको उनको भनाइ छ।

कोहीप्रति प्रतिशोध राखेर अभद्र व्यवहारसम्बन्धी कारबाहीका घटना बढेका छन्। मुद्दालाई जता पनि मोड्न मिल्ने भएपछि प्रहरीमा दर्ता भएका अभद्र व्यावहारसम्बन्धी मुद्दा र जाहेरीको चाङ छ। कोहीप्रति प्रतिशोध राखी कारबाही गर्न चाहनेलाई यो कानुन जाहेरीकर्ता वा प्रहरीलाई ‘लाइसेन्स’ मिलेजस्तै भएको छ। महानगरीय प्रहरी परिसर काठमाडौं, भक्तपुर र ललितपुरमा दिनहुँ पाँचवटा भन्दा बढी अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता हुने गरेका छन्। असारयता काठमाडौं परिसरमा ४ सय ३०, भक्तपुरमा ३ सय र ललितपुरमा ५ सय ६० भन्दा बढी अभद्र व्यवहारका मुद्दा दर्ता भएका छन्।

यी मुद्दाका रहस्य र कारण भने त्यति गहिरो छैन। जाहेरीकर्ताले जो सुकैलाई पनि अभद्र व्यवहार भनेर जनाउन सक्छन्। काठमाडौं परिसरका प्रवक्ता होबिन्द्र बोगटीले अभद्र व्यवहारका मुद्दाको दर बढेको बताए। ‘अभद्र व्यवहारसम्बन्धि कानुन जता पनि मिल्दो छ, कारोबार हुँदा आमुन्नेसामुन्ने कुराकानी भएको हुन्छ, यदी अरु कारोबार हुँदा व्यक्तिले बेइमानी ग-यो भने पीडितले अभद्रका जाहेरी बोकेर आउँछन्,’ उनले भने, ‘एक हिसाबले ठिकै हो, तर, अरु कानुन लाग्ने गल्ती गरेको छ भने अभद्रकै जाहेरी बोकेर आउनु गलत हो।’ उनका अनुसार गालीगलौज, बैंकिङ ठगी, कुटपीट, मापसे सेवन गरी होहल्ला गरेको, मानसिक समस्या दिएको, जग्गा किनबेच भएको बेइमानी जस्ता विषयमा पीडितले अभद्र व्यहारको जाहेरी दिन्छन्। तर, यस्तो हुनु अस्वभाविक भएको बोगटीको भनाइ छ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेयले ठूल्ठूला गिरोहलाई अन्य मुद्दाको प्रवेश नै अभद्र व्यवहारबाट हुने गरेको बताए। उनले भने, ‘सुरुमा अभद्र व्यवहारको मुद्दा चलाएर पक्राउ गर्ने, म्याद थप्नेलगायत काम हुन्छ, त्यसपछि आरोपीले गरेका अरु अपराधको अनुसन्धान गरी अन्य मुद्दाका कारबाही प्रक्रिया अघि बढ्छ।’ उनका अनुसार अभद्र व्यवहारसम्बन्धी मुद्दा पुष्टि हुँदैन। बोलि–व्यवहारमा अभ्रद महसुस हुनासाथ पीडितले जाहेरी दिन पाउने छुट छ। जसका कारण दुःख दिने नियतले कारबाही गराउन खोजेको पाइन्छ। यो मुद्दामा कानुनी व्यवस्थामा जस्तै ‘फिजिकल इभिडेन्स’ पनि चाहिँदैन। के बोल्यो वा कस्तो व्यवहार ग¥यो भन्ने कुराले फरक पार्दछ।

प्रकाशित: २३ माघ २०७६ ०२:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App