६ वैशाख २०८१ बिहीबार
राजनीति

गच्छदार निलम्बित, कांग्रेस असन्तुष्ट

फाइल तस्बिर

काठमाडौं – नेपाली कांग्रेस संसदीय दलका उपनेता एवं उपसभापति विजयकुमार गच्छदार प्रतिनिधिसभा सदस्यबाट निलम्बित भएका छन्। बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा दोषी ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेसँगै उनी प्रतिनिधिसभा सदस्यबाट स्वतःनिलम्बित भएका हुन्।

मुद्दाको अन्तिम किनारा नलागेसम्म सांसदको हैसियतमा उनले संसद्मा जान पाउनेछैनन्। अख्तियारको दाबी अदालतबाट ठहर भए गच्छदारको राजनीतिक जीवन समाप्त हुनेछ। राजनीतिक दलसम्बन्धी कानुनले भ्रष्टाचारजन्य नैतिक पतन हुने फौजदारी मुद्दामा अन्तिम अदालतबाट सजाय पाएको व्यक्ति कुनै पनि निर्वाचनमा उम्मेदवार हुन पाउँदैन।

यसैबीच नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहितलाई अख्तियारले मुद्दा नचलाएर पार्टी उपसभापति गच्छदारविरुद्ध मुद्दा दायर गरेकोमा अन्तुष्टि जनाएका छन्। अख्तियारले बुधबार एक सय ७५ जनाविरुद्ध मुद्दा दायर गरेपछि सामाजिक सञ्जाल ट्विटरमार्फत प्रवक्ता शर्माले सरकारी जग्गा व्यक्तिका नाममा दिन नीतिगत निर्णय गर्नेलाई उन्मुक्ति दिएको भन्दै प्रतिप्रश्न गरेका छन्। ‘श्री माधवकुमार नेपालका पालामा नीतिगत निर्णय। एक पूर्वमन्त्री कमरेडको सिरानीमुनि लालपुर्जा। मुद्दा कसलाई ?’ शर्माले ट्विटरमा लेखेका छन्, ‘विजय गच्छदारलाई !’ जर्ज अर्बेलको ‘एनिमल फार्म’ मा लिखित भनाइ उद्धृत गर्दै शर्माले लेखेका छन्, ‘सबै जनवार बराबर हुन्छन् तर केही अरूभन्दा विशेष हुन्छन्।’

अख्तियारले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा अदालतमा दायर मुद्दा हेर्दा अनौठो संशय र प्रश्न उब्जाएको जनाउँदै कांग्रेस नेता रामचन्द्र पौडेलले भने, ‘लाल झन्डा ओढेपछि जुनसुकै खत पनि माफ हुन्छ भन्ने भनाइ कतै पूरा त हुने होइन ?’

प्रकाशित: २३ माघ २०७६ ०१:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App