७ वैशाख २०८१ शुक्रबार
राजनीति

सरकारप्रति मधेसी मोर्चा रुष्ट, शुक्रबार आधिकारिक धारणा सार्वजनिक गर्ने

फाइल तस्बिर ।

काठमाडौं–प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादी केन्द्र स्थानीय तहको निर्वाचन गर्ने विषयमा सहमति नजिक पुगेपछि सरकारलाई बाहिरै बसेर समर्थन गरेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा असन्तुष्ट बनेको छ। संविधान संशोधन र भावी रणनीति तय गर्न बिहीबार बसेको मोर्चाको बैठकमा प्रमुख तीन दलबीच स्थानीय निकायको निर्वाचनमा जाने सहमति भएको भन्दै संशोधन विनाको निर्वाचन आफूहरुलाई मान्य नहुने नेताहरुले धारणा राखेका थिए।

प्रमुख तीन दल संविधान संशोधनलाई थाँती राखी स्थानीय तहको निर्वाचन गर्न सहमत भएको भन्दै त्यसको विरोधका सांकेतिक रुपमा विरोधका कार्यक्रम सार्वजनिक गर्ने मोर्चाले तयारी गरेको छ।

संशोधन विनाको निर्वाचन गर्ने विषय गम्भीर भएको भन्दै मोर्चामा आबद्ध दलले आफ्नो दलभित्र छलफल गरी शुक्रबार पुन ११ बजे मोर्चाको बैठक बस्ने सहमति भएको छ। सबै  दलले आफ्नो दलभित्र छलफल गरी संविधान संशोधन विनाको निर्वाचनका विषयमा धारणा बनाउन भन्दै बिहीबार ११ बजेदेखि बसेको बैठक शुक्रबार विहान ११ बजेसम्मकालागि स्थगित भएको मोर्चाका नेता एवं राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले जानकारी दिए। ‘

आजको बैठकमा सबै विषयमा गम्भीर छलफल भयो,’ झाले भने, ‘केही विषयमा सबै दलले पार्टीभित्र छलफल गर्नुपर्ने  भएकाले बैठक भोलि विहान ११ बजेसम्मकालागि स्थगित गरिएको छ।’ शुक्रबार दिउँसो १ बजे पत्रकारसम्मेनमार्फत मोर्चाले आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ।

स्रोतका अनुसार प्रमुख तीन दल संविधान संशोधनलाई थाँती राखी स्थानीय तहको निर्वाचन गर्न सहमत भएको भन्दै त्यसको विरोधका सांकेतिक रुपमा विरोधका कार्यक्रम सार्वजनिक गर्ने मोर्चाले तयारी गरेको छ। ‘सरकार र तीन दल आफ्नो ढंगले अगाडि बढ्ने अवस्था देखियो, उनीहरुलाई दबाब दिनपनि सांकेतिक विरोधका कार्यक्रम सार्वजनिक हुने संभावना छ,’ स्रोतले भन्यो, ‘हिजोसम्म मोर्चाले प्रमुख प्रतिपक्षलाई दोषी देखेको थियो, तर आज परिस्थिति फेरिएको छ।’ मोर्चाको बैठकमा सरकारकोपनि चर्को आलोचना भएको थियो।

सरकार आफैंले गर्नसक्ने कामसमेत आजसम्म नगरेको भन्दै मोर्चा नेताहरुले असन्तुष्टि जनाएका थिए। सरकारले संविधान संशोधन गर्न भन्दै गत मंसिर १४ राति संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गराएको थियो। संशोधन प्रस्तावको विरोधमा रहेको प्रमुख प्रतिपक्ष एमालेसहितका नौ विपक्षी दलले लगातार संसद अबरोध गर्दै आएका छन्।

दलहरुबीच सहमति जुट्न नसकेपछि गत मंगलबार प्रधानमन्त्रीले कांग्रेस, माओवादी र संघीय गठबन्धनका शीर्ष नेताको बैठक बोलाएका थिए। करिव चार घण्टा चलेको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा अस्वाभाविक रुपमा प्रस्तुत भएपछि मोर्चा सरकारसँग सशंकित बनेको हो। अझ बुधबार बसेको प्रमुख तीन दलको बैठकमा स्थानीय तहको निर्वाचन गर्ने विषयमा सकारात्मक भएपछि मोर्चा झन सशंकित बनेको छ। मोर्चा संविधान संशोधन विना कुनै पनि निर्वाचन गर्न नहुने अडानमा छ।  यी सबै विषयमा मोर्चाले शुक्रबार दिउँसो आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्ने भएको छ।

प्रकाशित: १४ पुस २०७३ ०९:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App