८ वैशाख २०८१ शनिबार
समाज

भाइरल ज्वरोले २ जनाको मृत्यु, अढाइ सय बढी बिरामी

बाजुरा- भाइरल ज्वरोका कारण स्वामिकात्र्तिक खापर गाउँपालिकामा २ जनाको मृत्यु भएको छ। ज्वरोका कारण थला परेका स्वामिकात्र्तिक खापर गाउँपालिका-१ जोरुमा २ जनाको मृत्यु भएको वडा अध्यक्ष जनकबहादुर रोकायाले बताएका छन्।

मंगलबार साँझ ५५ वर्षीया मिमा कडाराको मृत्यु भएको थियो। भने बुधबार बिहान सोही टोलका ७० वर्षीय दलबहादुर रावलको मृत्यु भएको छ। गाउँमा फैलिएको भाइरल ज्वरोकै कारण मृत्यु भएको वडा अध्यक्ष रोकायाले बताएका छन्। गाउँमा सय बढी बिरामी परेका छन्। भने मृतक कडाराका घरका मात्र थप पाँच जना बिरामी रहेको साप्पाटा स्वास्थ्य चौकीका इन्चार्ज विर्ज विकले बताएका छन्। विकको नेतृत्वमा स्वास्थ्यकर्मीको टोली बिहानदेखि नै उपचारमा खटिएको छ।

हिमाली गाउँपालिका ६ बोल्डीकमा देखा परेको केही दिनमै फेरि स्वामिकात्र्तिक खापर गाउँपालिकामा देखिएको हो। तत्काल उपचार नपाउँदा र रोगको संक्रमण लुकाएर बस्दा दुई जनाले ज्यान गुमाउन परेको स्वास्थ्यकर्मीले बताएका छन्। तर दुई जनाको ज्यान भाइरल ज्वरोकै कारण गएको प्रमाणीत नभएको स्वास्थ्यकर्मीको भनाई छ। ल्याब परिक्षणसहितको प्रतिवेदनपछि मात्र कुन कारणले मृत्यु भएको भन्ने एकीन हुने भएकोले भाइरल ज्वरोकै कारण मृत्यु भएको भन्न नसकिने स्वास्थ्य कार्यालय बाजुराका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले बताएका छन्।

जिल्लाको कोल्टी क्षेत्रका हिमाली र स्वामिकात्र्तिकका विभिन्न स्थानमा 'सिजनल फ्लू’ भनिएको भाइरल ज्वरोको संक्रमण देखिएको छ। जसका कारण २ सय ५० बढी बिरामी परेको बताइएको छ। हिमाली गाउँपालिकामा मात्रै २ सय बढी बिरामी रहेका छन्।

संक्रमण नियन्त्रण बाहिर, गाउँगाउँमा फैलिदैं
भाइरल ज्वरोको संक्रमण हप्तादिनमै व्यापक फैलिएको छ। हावाका माध्यमबाट फैलिने संक्रमण एकपछि अर्को गर्दै ठूलो क्षेत्रमा फैलिएको स्वास्थ्यकर्मीले बताएका छन्। हिमाली गाउँपालिका ६ मा रहेको एन्जल बोडिगं स्कुलका विद्यार्थीमा देखिएको संक्रमण हाल हिमाली २ मा पनि देखा परेको छ।  बिरामी मात्र २ सय ५० बढीको संख्यामा थला परेका छन्।

हिमालीसँगै जोडिएको स्वामिकात्र्तिक खापर गाउँपालिकामा २ जनाको मृत्यु नै भईसकेको छ। गाउँमा हावा बढी चल्ने र धुलोका कारण रोगको संक्रमण छिटो सर्ने गरेको स्वास्थ्य कार्यालयले बताएको छ। भाइरल ज्वरोको संक्रमण ७ देखि १० दिनसम्म देखा पर्ने भएपनि थप स्थानमा फैलिन थालेपछि बढी सतर्कता अपनाउन थालिएको बताएको छ।

गाउँपालिकाले क्षमता बाहिर गएकोले सहयोगका लागि जिल्ला र प्रदेशलाई अनुरोध गरेका छन्। धुलो र चिसोबाट बच्न सके संक्रमण विस्तारै कम हुने स्वास्थ्यकर्मीको सुझाव छ।  हिमाली र स्वामिकात्र्तिक अत्याधिक हावा चल्ने र धुलोकोमात्रा पनि बढी भएका क्षेत्र हुन्।

स्वास्थ्यकर्मीको टोली गाउँमा
ज्वरोको संक्रमण नियन्त्रणमा नआएपछि उपचारका लागि स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा खटिएको छ। एक जना चिकित्सकसहितको टोली प्रभावित गाउँमा पठाइएको वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले बताएका छन्।

डाक्टर राजुराज जोशी नेतृत्वमा तीन जना स्वास्थ्यकर्मी र एक जना ल्याब टेक्नीसियन गाउँ पुगिसकेका छन्। भने स्थानीय स्तरमा पनि गाउँपालिकाले स्वास्थ्यकर्मी परिचालन गरेको छ। सिअहेव कुलबहादुर रावल र हस्त कठायतले उपचार दिन सुरु गरिसकेका छन्।

हिमाली गाउँपालिकामा संक्रमणका कारण विरामी धेरै भएपनि खतरा नभएको उनीहरुले बताएका छन्। डाक्टर राजु र ल्याबसहितका टोली आज मात्र पुगेको छ। स्वास्थ्य कार्यालयले ल्याब परिक्षण दुबै गाउँपालिकाको ल्याउन आग्रह गरेको छ।

ल्याब परिक्षण उपकरण र प्राविधिक प्रदेशबाटै पठाइएको हो। संक्रमण एकपछि अर्को व्यक्तिमा देखिन थालेकोले त्यसको ल्याप टेष्टका लागि काठमाडौंमा नै पठाउने गरि स्वास्थ्य कर्मी उपकरणसहित गाउँ गएको पन्तको भनाई छ। संक्रमण बढेर गाउँ नै प्रभावित बनेको र २ जनाको ज्यान समेत गईसकेको अवस्था आएकोले त्यसलाई तत्काल व्यवस्थापन गर्ने गरि सबै संयन्त्रलाई परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेले बताएका छन्। ठूलो संख्यामा स्थानीय थला परेपछि गाउँमा त्रास फैलिएको छ।

बिरामी विद्यार्थीमा सुरुमा ज्वरो आउने र पछि वान्ता पनि सँगै हुने र उठ्न नसक्ने लक्षण देखिएको छ। वृद्धवृद्धा र बालबालिकालाई झनै सास्ती भोग्नु परेको अवस्था छ। तत्काल उपचारको व्यवस्था नगरिए संक्रमण बढ्ने मात्र नभई सबैतिर फैलिने समेत डर देखिएको छ।

दुर्गमताले उपचारमा समस्या
संक्रमण फैलिएका क्षेत्र जिल्ला सदरमुकामबाट मात्र नभई सडक पहुँचबाट पनि टाढा छन्। २ जनाको ज्यान गएको साप्पाटामा पुग्न कर्णाली पारी पीलुचौरबाट हिँडेर जानुपर्छ। पीलुचौरबाट हिँडेर पुग्न मात्र ३ घण्टा बढी लाग्छ। जसका कारण सहज स्वास्थ्यकर्मी पुग्न र औषधि उपलब्ध गराउन समस्या छ।

यस्तै हिमाली गाउँपालिकाको बोल्डीकपनि अति दुर्गम क्षेत्र हो। कर्णाली करिडोरका कारण धुलाचौरसम्म जीप पुगेपछि गाउँ हिँडेर नै जानु पर्ने हुन्छ। कवाडीसम्म बाटो सञ्चालन भएपनि कच्चीबाटोका कारण यात्रा सहज छैन। जसका कारण उपचार सेवा पनि प्रभावित भएको छ। फोन असुविधाले पनि त्यस्तै समस्या देखिएको छ। ती गाउँहरुमा सहजै फोन सम्पर्क पनि हुने गरेको छैन।

 

प्रकाशित: २२ माघ २०७६ १०:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App