८ वैशाख २०८१ शनिबार
अर्थ

यस्तो छ सेजको अवस्था र लगानीकर्ताको माग

तस्बिर: मोहम्मद हबिब

बुटवल— विश्वका अन्य मुलुकमा ५० वर्ष पहिले नै लागु भएको अवधारणा विशेष आर्थिक क्षेत्र नेपालमा बल्ल सुरु हुँदैछ । तैपनि सेजलाई सेजकै अवधारणामा अगाडी बढाउन नसकेको गुनासो यहाँका लगानीकर्ताहरुको छ । देशकै पहिलो र नमुना भनिएको भैरहवा सेजमा १८ वर्ष बित्दा प्रयाप्त पूर्वाधार छैन । एकद्धार सेवा प्रणाली कार्यान्वयनमा आएकै छैन । जसका कारण सञ्चालनमा आएको भनिएको ६ वर्ष बित्दा पनि बाह्य तथा स्वदेशी लगानीकर्तालाइ यसले आकर्षित गर्न सकेन ।

१८ वर्ष अघि निर्माण सुरु भएको सेजमा अहिलेसम्म जम्मा १७ वटा उद्योगले सम्झौता गरेका छन् । ६९ वटा प्लट मध्ये २७ वटा खाली छन् । ३ वटा उद्योगले उत्पादन थालेका छन् । अन्यले भूबहाल सम्झौता गरी जग्गाको भाडा तिरीरहेका छन् । सेजमा उद्योग खोलीसकेका र खोल्ने क्रममा रहेका लगानीकर्ताहरुले सेवा सुविधाको ग्यारेन्टि कुरेका छन् । एकद्धार सेवा प्रणाली लागु गर्न माग गरीरहेका छन् । तर सम्बन्धित निकायले भने देशकै पहिलो र नमुना भनिएको भैरहवा सेजको भौतिक र नीतिगत सुधारमा खासै चासो दिएको देखिदैन ।

निर्यात प्रबद्र्धनकालागि भनीएको सेजमा उत्पादित बस्तु ६० प्रतिशत निर्यात गर्नु पर्ने प्रावधान छ । तर सो प्रावधान अनुरुप देश भित्रै कच्चा पदार्थको उपलब्धता छैन । भारत या चिनबाटै कच्चा पदार्थ ल्याएर उत्पादन गरीएका बस्तुले तीनै देशमादीर्घकालसम्म बजार पाउलान?लगानीकर्ता सशंकित छन् । भारत या चीनबाट कच्चा पदार्थ ल्याएर उत्पादन गरीएको बस्तु त्यहीको बजारसंग कसरी प्रतिश्पर्धा गर्ने’ नेपालउद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य राजेश अग्रवालले भने ।

यहाँका उद्योगीले उत्पादनको ६० प्रतिशत निर्यात गर्नु पर्ने प्रावधानका सम्बन्धमा पुर्नबिचार गर्न सरकारसंग माग गरीरहेका छन् । ‘कथम कदाचित भारतीय पक्षले हाम्रा उत्पादनलाइ हडल गरीदियो भने त्यस्तो अवस्थामा के गर्ने ? यसबारेमा ऐन बोल्नु पर्छ’ सिद्धार्थनगर उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष भिष्म प्रसाद न्यौपानेले भने । निर्यातलाई पहिलो प्राथमिकता दिइएपनि  निकासी हुन नसकेको सामानमा सरकारले भ्याट लिएर देश भित्रै बिक्री गर्न सक्ने प्रावधान सहित ऐन संसोधन गर्न लगानीकर्ताले माग गरेका छन । यो प्रावधानले देशलाइ घाटा नहुँने तर्क उनीहरुको छ ।

गत शनिबार योजना आयोगको नेतृत्वमा भैरहवामा भएको छलफलमा पनि निकासीको सीमा घटाउनुपर्नै माग उठेको छ । भारत सरकारले आफनो आन्तरिक उत्पादनलाइ थप प्रतिश्पर्धी र सस्तो बनाउन बजेट मार्फत विशेष कार्यक्रम ल्याइरहेका बेला नेपाल सरकारले पनि नेपाली उत्पादनको प्रतिश्पर्धी क्षमता बढाउने तर्फ ठोस कदम चाल्नु पर्नेमा उद्योगी अग्रवालको जोड छ । उद्योगीले जग्गाको भाडा घटाउन पनि माग गरेका छन । लगानीकर्ताले अहिले २० रुपैयाँ प्रतिस्क्वायर मिटर भाडा तिरीरहेका छन ।

अन्तराष्ट्रिय बजारको अध्ययन गरी माग अनुरुपको बस्तु उत्पादनमा लगानीकर्तालाइ सुझाव दिने परिपार्टी सरकारी तथा व्यवसायिक संघसगठनहरुले गर्न सके निर्यात जन्य उद्योग स्थापनामा सहज हुने तर्क छ अर्का उद्योगी दिपक झाको । उद्योगी स्वयमले पनि अन्तरराष्ट्रिय बजारको अवश्यकता पहिचान गर्न नसक्दा सेजमा लगानी आकर्षित हुन नसकेको झाको ठहर छ ।

कहिले लागु हुन्छ एकद्धार सेवा
सेजमा आइसकेका लगानीकर्ताहरुलेएकद्धार सेवा प्रणाली लागु नहुँदा उद्योग स्थापना र निर्यातमा झन्झट भोग्नु परीरहेको छ । सेजको अवधारणा र सर्त अनुरुपका कुनै पनि सेवा सुविधा आफुहरुले नपाएको भारतीय लगानीमा खुलेको उद्योग विस्तार ग्लोबल प्रा.लिका प्रबन्धक निपुण जैनले बताए । अत्यावश्यक पुर्वाधार र सेवा  उपलब्ध नहुँदा उत्पादित सामानको निर्यातमा झन्झट भोग्नु परेको ब्रिलेन्ट लाइटिनिङ्गका म्यानेजर केशब भट्टराइको गुनासो छ । कच्चा पदार्थ आयात गर्दा भन्सारले तयारी मालको बहाना बनाएर १२ दिन सम्म नाकामै गाडी रोकीदिएको भट्टराइले बताए ।

अन्तर सरकारी निकाय बिचको समन्वय अभाव सगै स–साना पुर्वाधार निर्माण तथा मर्मत सम्भारमा समेत ध्यान दिइएको छैन । सेजमाखानेपानीकालागि बोरिङ्ग गाडीएको छ । पानी ट्याङ्की पनि छ । तर वितरणको व्यवस्था छैन । हाल संचालित उद्योगहरुले आफै बोरिङ्ग धसाएर पानीको व्यवस्था गरेका छन । प्लटै पिच्छेका सडकका दुवै तर्फ पोलमा बल्व झुण्डाइएको छ । तर ती बोल्दैनन । ट्रिटमेन्ट प्लान्ट अहिलेसम्म आधाअपुरो छ । सेजका कर्मचारीहरुले हालका लागि बिद्युत प्रसस्त उपलब्ध रहेको दावी गरीरहदा यहाँ अहिले पनि पटक पटक लाइन जान्छ । गत सोमबार विस्तार ग्लोबल प्रा.लि परिषरमा कुराकानी चल्दै गर्दा दुइ पटक लाइन गयो । उद्योगका प्रबन्धक जैनले हरेक दिन यस्तो समस्या दोहोरीरहेको बताए ।पटक पटक विद्युत कटौती भइरहदा मेसीनरी सामानसगै उत्पादित बस्तुको गुणस्तरमा असर परेको उनको गुनासो छ ।

विद्युुत सब स्टेशन बने यस्तो समस्या पुर्ण रुपमा हटने बताइन्छ । तर सेज प्राधिकरणले यो वा त्यो बहानामा सबस्टेशनको टेण्डर खोल्न ढिलाइ गरीरहेको छ ।सेज परिसरमा राखीएको धर्मकाटा झाडीले पुरीएको छ । धर्मकाटाको सामान्य र्ममत सम्भार नगरीदा समान तौलीन सेज बाहिर जानु पर्छ ।उत्पत्तिको प्रमाणपत्र लिन करिब दुइ किलोमिटर पर भैरहवा स्थित सिद्धार्थनगर उद्योग बाणिज्य संघमा पुग्नु पर्छ । भन्सार प्रक्रियाकालागि भन्सारमै पुग्नु पर्छ । सेजको प्रशासनिक भवनमा प्रभु इन्सुरेन्सको बोर्ड झुण्याइएको छ । तर उसको कार्यालय,कर्मचारी त्यहाँ छैनन । ग्लोबल आइएमइ बैंकको एक्स्टेन्सन कार्यालय पनि नाम मात्रैको छ । पेट्रोलपम्पकालागि बनाइएको संरचना झाडीभित्रै हराएको छ । सेजका उपसचिवसुन्दर थापाले अहिले बल्ल पेट्राेल पम्पकालागि निगमसग अनुमती माग गरीएको बताए ।

सुरक्षा व्यवस्थामा प्रश्न
पछिल्लो समय सेजको सुरक्षामा समेत चुनौती देखिएको छ । गत महिना धर्मकाटा र पेट्रोलपम्प नजिकैको चेकपोष्ट बिल्डीङ्गबाट एसी चोरी भएको थियो । यसले सेजको सुरक्षा व्यवस्था माथि नै प्रश्न उठेको छ । सेजकै अफिसबाट मालसामान चोरी भइरहदा हाम्रा उद्योग र कर्मचारी सुरक्षित छन भनेर कसरी विश्वास गर्ने ?’ब्रिलियन्टका म्यानेजर भट्टराइले चिन्ता व्यक्त गरे ।
 

प्रकाशित: २२ माघ २०७६ ०७:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App