coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

लसुन प्रतिकिलो अढाइबाट ६ सय

काठमाडौं - बानेश्वर बस्दै आएका सिन्धुलीका चन्द्र भुजेल मंगलबार लसुन किन्न बजार पुग्दा भाउ सुनेर अचम्ममा परे। उनले भने,‘प्याजको मूल्य बढेको थाहा थियो लसुनकै पाउको एक सय ५० पुगेछ।

भारतबाट आयात रोकिएपछि एक–डेढ महिना अगाडिसम्म एक्कासि चुलिएको प्याजको भाउ किलोको दुईसय ५० पुग्दा लसुनको मूल्य घटेर त्यही मूल्यमा रोकिएको थियो। एक महिनापछि प्याज आधा सस्तियो तर लसुनको मूल्य बढेर मुलुककै ठूलो तरकारी बजार कालीमाटीमै मंगलबार ६ सय नाघेको छ। आयातमै निर्भर लसुनको चीनबाट आयात रोकिएसँगै मूल्य अकासिएको हो। चीनमा फैलिएको नोवेल कोरोना भाइरसका कारण चीनको नाकाबाट आउने सामग्री रोकिएको भन्सार विभागले जनाएको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका प्रवक्ता विनय श्रेष्ठले यो सिजनमा पूर्ण रुपमा चीनको बजारमा निर्भर लसुन आयात रोकिएपछि कालीमाटी बजारमा यसको अभाव देखिएको बताए। ‘मूल्य एकै महिनामा दोब्बर पुग्यो, त्यही मूल्यमा पनि बजारमा लसुन पाइँदैन,’उनले भने नयाँ आएको छैन। मौज्दात सकियो। कालीमाटीमा चाहेर पनि लसुन पाउन सकिन्न।

प्रवक्ता श्रेष्ठले अहिले कोरोना भाइरसको प्रभाव देखिएपनि जनवरीको पहिलो हप्तादेखिनै चीनबाट लसुन आउन कमी भएको बताए। ‘केही समयअगाडि हिमपातका कारण चीनबाट सामान आउन सकेन, त्यसलगत्तै चीनियाँ नयाँवर्षको कारण उनीहरुले सामान पठाउन कम गरे, उनले भने,‘पछिल्लो समय कोरोना भाइरसको कारण चीनले निर्यात नै रोक्यो,पाउने कुरै भएन। उनले अर्को विकल्प भारत भएपनि त्यहाँबाट एकदम कम परिमाणमा आउने गरेको बताए। ‘इन्डियन लसुन उपभोक्ताले खासै मन पराउँदैनन् र त्यसमाथि अहिले भारतमै पनि उत्पादन पनि सुरु भइसकेको छैन,’श्रेष्ठले भने, ‘केही व्यवसायीले इन्डियाबाट ल्याउने प्रयास गरेपनि भन्सार मूल्यांकनको कारण ल्याउन नसकेको बताएका छन्।

कालीमाटीमा गत साउनयता स्वदेशी लसुन एक सय २८ टन भित्रिएको छ भने चिनबाट एक हजार चार मेट्रिक टन आएको देखिन्छ ।

भारतमै लसुनको मूल्यदुई सय ५० सम्म खर्चेर ल्याउनुपर्ने तर भन्सार मूल्यांकनमा लसुनको मूल्य सयको हाराहारीमा भएको कारण ल्याउनगाह्रो पर्ने व्यवसायीको तर्क रहेको उनले बताए। ‘भारतीय लसुन नेपालको बजारमा आइपुग्दा तीन सय ५० रुपैयाँसम्म पुग्ने तर भन्सारमा सय रुपैयाँ मात्र खरिद मूल्य देखिँदा आफूहरुमाथि कालोबजारीको आरोप लाग्ने व्यवसायीको गुनासो  छ, उनले भने, ‘व्यवसायी भारतमा परेकै मूल्यमा भन्सार मूल्यांकन गरेर ल्याउनपाए तयार देखिएका छन्। उनले त्यो विकल्प प्रस्तुत गरिरहँदा व्यवसायी भरतप्रसाद खतिवडा लसुनमा चीनको विकल्प भारत हुन नसक्ने भन्दै बजारमा केही समय लसुन नदेखिने दाबी गर्छन्। ‘भारतमै पनि यति बेला लसुन छैन, नयाँ उत्पादन भएको छैन। व्यवसायीले चीनबाट ल्याएर भारत निकासी गर्दै आएका थिए,’उनले भने,‘व्यवसायीले तत्काललाई चीनको परिस्थिति सहज बनेको कुर्नु या नेपालकै उत्पादन कुर्नुको विकल्प छैन।

लसुनको आन्तरिक उत्पादन कम छ। कालीमाटीमा साउन यता  नेपाली उत्पादन एक सय २८ टन भित्रिएको तथ्यांक छ। चाइजिन लसुन एक हजार चार टन आएकोमा कालीमाटीको तथ्यांकमा भारतीय लसुन नभित्रिएको देखिएको छ। नेपाली लसुनको नयाँ उत्पादन बजारमा आउन अझै डेढदेखि दुई महिनालाग्ने श्रेष्ठले बताए। कृषि अनुसन्धान परिषद् (नार्क)का बागवानी विज्ञ सुरेन्द्र श्रेष्ठ नेपाल अझै पनि व्यवसायिक लसुन खेतीतर्फ जान नसकेको बताउँछन्। ‘नेपालमा लसुन उत्पादनको पर्याप्त सम्भावना छ, किसानले आफ्नै तरिकाले उत्पादन पनि गर्दै आएकाछन्,’ उनले भने,‘तर यसमा थोरै पहल हुने हो भने आयात रोकिँदैमा आत्तिने अवस्था आउने थिएन।

उनले लसुनमा अनुसन्धान र नयाँनयाँ जातको खोज गर्न सरकारले पहल गर्नुपर्ने बताउँछन्। उनले भन्छन्,‘सरकारले यसको लागि पकेट क्षेत्र तोकेर विशेष कार्यक्रम ल्याई लगानी तथा अनुदान उपलब्ध गराउनुपर्छ। उनले नार्कले पछिल्लो समय जुम्ला र पोखरामा यसको परीक्षणको पहल गर्दै रहेको बताए। भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ६ महिनामा ६४ करोड बराबरको पाँच हजार सात सय २८ टन लसुन आयात भएको छ। जुन चीनबाट मात्र पाँच हजार ७७ टन छ भने भारतबाट करिब ६ सय ५० टन भित्रिएको तथ्यांक छ। गएको वर्ष ८३ करोड भन्दा बढीको नौ हजार दुई सय ७७ टन लसुन आयात भएको थियो।गएको ६ महिनामा नेपालबाट ५८ लाख बराबरको एक सय २५ टन लसुन निर्यात भएको छ। यो गएको वर्षभरमा ११ लाख बराबरको १६ टन लसुन निर्यात भएको थियो।

प्रकाशित: २२ माघ २०७६ ०३:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App