८ वैशाख २०८१ शनिबार
खेल

ओलीलाई स्पोर्ट्स मिडिया अवार्ड

काठमाडौं – खेल पत्रकार प्रज्वल ओलीले एआइपिएस स्पोर्ट्स मिडिया अवार्ड जितेका छन्।

अन्तर्राष्ट्रिय खेलकुद पत्रकार महासंघ (एआइपिएस) ले हंगेरीको बुडापेस्टमा सोमबार आयोजना गरेको कार्यक्रममा ओलीले स्पोर्ट्स मिडिया अवार्ड हात पारेका हुन्। ओलीले राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा दर्ता भएका संघहरूको बेथितिबारेमा स्तम्भ लेखेका थिए। सोही स्तम्भले विश्वको सर्वोत्कृष्ट स्तम्भ लेखनको पुरस्कार जित्न सफल भएको हो। अवार्डसहित ओलीले ८ हजार अमेरिकी डलर प्राप्त गरे।  

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) का महासचिव ओलीसँगै उत्कृष्ट तीनको मनोनयनमा अर्जेन्टिना र स्पेनका पत्रकार रहेका थिए। सोमबार रातिको अवार्ड समारोहमा विभिन्न व्यक्तिगत र समूहगत स्वार्थका लागि खोलिएका खेल संघहरूबारेको समाचारले बाजी मारेको हो। विजेता ओलीले अंग्रेजी दैनिक दी काठमाडौं पोस्टमा ‘मुस्किलले ५० खेल मात्र खेलिने नेपालमा २ सयको हाराहारीमा खेल संघहरू पालिएको’ भन्दै लेखेको समाचार एआइपिएस स्पोर्ट्स मिडिया अवार्डको प्रतिस्पर्धामा पुगेको थियो।

प्रतिस्पर्धामा एआइपिएसका १ सय ८० सदस्य देशका सयौं पत्रकारका समाचार, विचार र लेखहरू थिए। विभिन्न चरण हुँदै शीर्ष तीनमा पर्न सफल ओलीको स्तम्भले अवार्ड जित्न सफल भएको हो। त्रिभुवन विश्वविद्यालयबाट पत्रकारितामा स्नातकोत्तर गरेका ओलीले सरकारी अंग्रेजी दैनिक दी राइजिङ नेपालबाट खेल पत्रकारिताको करियर सुरु गरेका थिए। २०६५ सालमा नेपाल रिपब्लिक मिडिया स्थापना भएसँगै रिपब्लिका दैनिकमा काम थालेका ओली तीन वर्षअघि दी काठमाडौं पोस्टमा आबद्ध भएका थिए।

उत्कृष्ट घोषित भएपछि ओलीले पुरस्कार सम्पूर्ण नेपाली खेल पत्रकारिताका लागि समर्पण गरे। ‘मैले लेखेको समाचार विश्वमै उत्कृष्ट घोषित हुँदा खुसी लागेको छ। मेरो पत्रकारितामा प्राप्त गरेको सबैभन्दा ठूलो सफलता हो। सहयोग गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु,’ अवार्ड विजेता ओलीले भने, ‘यसै गरी खेलकुद पत्रकारिताका मेरा अग्रजहरू, साथीहरू र अन्य जुनियर भाइबहिनीलाई पनि यो समर्पण गर्न चाहन्छु।

‘खेलकुद संघ सयौं संख्यामा राष्ट्रिय खेलकुद परिषद् दर्ता भए पनि मुस्किलले केही संघले मात्र वार्षिक कार्यक्रम गर्छन्,’ ओलीले थपे, ‘मेरो समाचारले पुरस्कार पाउँदा जति खुसी लागेको छ। त्यति नै अझैसम्म पनि त्यो अवस्थाबाट खेलकुद नसुध्रिएकोमा दुःख लागेको छ। आगामी दिनमा हामी खेल पत्रकारले यस्तो नकारात्मक नभई देशको खेलकुद विकास पथमा लम्केको समाचार लेखेर प्रतिस्पर्धामा उत्रिन पाउने अवस्था आओस् भन्ने कामना गर्न चाहन्छु।

प्रकाशित: २२ माघ २०७६ ०१:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App