coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

सरकारले तयारी गरेन : प्रतिपक्षी

काठमाडौं – छिमेकी राष्ट्र चीनमा महामारीको रुप लिएको कोरोना भाइरस नेपालमा भित्रिन नदिन ठोस कदम चाल्न नसकेको भन्दै प्रतिपक्षी सांसदले सरकारको आलोचना गरेका छन्। प्रतिनिधिसभा बैठकमा सोमबार शून्य समयमा बोल्दै प्रतिपक्षी दलका सांसदले नेपालमा कोरोना भित्रिन नदिन र चीनमा रहेका नेपालीको उद्धार तथा उपचारका लागि सरकारले ठोस पहल नगरेको आरोप लगाएका हुन्।

सांसद दिलेन्द्रप्रसाद बडुले कोरोना भाइरस प्रभावित क्षेत्रमा रहेका नेपालीको उद्धार र उपचारका निम्ति सरकारको योजना के छ भन्ने प्रश्न गर्दै संसद्लाई जानकारी दिन सरकारसँग माग गरे। ‘संक्रमित क्षेत्रमा नेपालीको संख्या कति छ र उनीहरूको अवस्था कस्तो छ,’ उनले भने, ‘नेपालमा सरकारले भरपर्दो र सुरक्षित उपचार गर्ने व्यवस्था के छ ?’

सांसद दिव्यमणि राजभण्डारीले कोरोना भाइरसबाट विश्वमा २० हजारभन्दा बढी संक्रमित भएको उल्लेख गर्दै सरकारले नेपालमा क्वारेन्टाइनको व्यवस्था गर्न नसकेको बताए। सांसद देवेन्द्रराज कँडेलले नेपालमा कोरोना भाइरस छिर्न नदिन सरकारले कदम चाल्न नसकेको आरोप लगाए।

सांसद प्रकाश रसाइली स्नेहीले कोरोना भाइरसलाई नेपालभित्र छिर्न नदिने नेपालबाट चीन जाने र चीनमा ट्रान्जिट भएर नेपाल आउने विमानसेवा केही अवधिका लागि बन्द गर्न सुझाए। नेपालमा कोरोना भाइरस फैलियो भने धान्न नसकिने अवस्था आउने भन्दै उनले समयमै सावधानी अपनाउनुपर्नेमा सरकारले चासो नदिएको गुनासो गरे।

समाजवादी पार्टीका सांसद प्रदीप यादवले चीनबाट ल्याउने विद्यार्थीलाई राख्ने ठाउँ नभए जग्गा कब्जा गरेको हायात होटलमा राख्नुपर्ने बताए। उनले पनि सरकारले कोरोना भाइरस नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न नसकेको आरोप लगाए।

जवाफमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सरकारले चीनबाट नेपाल फर्किन चाहनेलाई त्यहाँको दूतावासमा फारम भर्न लगाएको र १ सय ८० जनाले स्वदेश फर्किन चाहेको जानकारी दिए। चीनमा परीक्षण गरेर संक्रमित नभएकालाई मात्र स्वदेश फिर्ता ल्याउने तयारी सरकारले गरेको सुनाउँदै मन्त्री ढकालले परीक्षणका क्रममा पोजेटिभ भेटिए चीन सरकारले नपठाउने बताए। ‘वुहानमा एयरपोर्ट बन्द गरिएको छ भने सार्वजनिक यातायात पनि चल्दैन,’ उनले भने, ‘त्यसैले चीन सरकारको समन्वयमा मात्र नेपालीहरूलाई उद्धार गर्न सकिन्छ।’

नेपाल आएकालाई १४ दिनसम्मको परीक्षणबाट भाइरस नभएको प्रमाणित भएपछि मात्र आफन्तसँग भेटघाटमा पठाइने गरी सरकारले तयारी गरेको उनले बताए। चीनबाट फर्काइएकाहरुलाई राख्ने ठाउँमा सकेसम्म एकजनालाई एउटा कोठामा र सम्भव नभए कम्तीमा ६ फिट टाढा राख्ने जनाउँदै उनले फिर्ता ल्याइएका नेपालीलाई राख्ने ठाउँबारे सरकार टुंगोमा पुग्न बाँकी रहेको बताए।

मन्त्री ढकालले चीनबाट ल्याइएका नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएमा तत्कालै उपचार गर्न ३ वटा अस्पतालमा ४३ वटा आइसोलेटेड वार्ड व्यवस्था गरिएको बताए। उपत्यकाबाहिर पोखरा, चितवन र भैरहवामा कोरोना संक्रमण परीक्षण गर्न हेल्प डेस्कको व्यवस्था गरिएको पनि उनले जानकारी दिए।

रसुवा र तातोपानी नाकामा उच्च सतर्कता अपनाइएको बताउँदै मन्त्री ढकालले नेपालमा अहिलेसम्म एकजनामा कोरोना भाइरसको संक्रमण देखिएको र त्यो पनि निको भइसकेको जानकारी दिए। ‘१३ जनवरीमा जाँच गराउँदा पोजेटिभ देखिएको थियो। त्यसको १० दिनमा उपचार गराउँदा पनि पोजेटिभ थियो,’ उनले भने, ‘पछिल्लो अवस्थामा नेगेटिभ अवस्थामा पुगेको छ।’ नेपालमा अहिलेसम्म थप १३ जनाको संक्रमणको आशंकामा परीक्षण गरिएको र उनीहरु सबैको नतिजा नेगेटिभ आएको मन्त्री ढकालले जानकारी दिए। संक्रामक रोग ऐन २०२० को दफा २ (३) अनुसार सरकारले चीनबाट ल्याइने नेपालीलाई १४ दिनसम्म क्वारेन्टाइनमा राख्न आवश्यक आदेश जारी गरिसकेको उनले बताए।

प्रकाशित: २२ माघ २०७६ ०१:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App