८ वैशाख २०८१ शनिबार
समाज

‘तयारीपछि मात्र नेपाली फर्काऊ’

चिनियाँ राजदूत होउ याङ्छी

काठमाडौं – चीनले नेपाललाई आफ्ना नागरिकलाई स्वदेश फिर्ता ल्याउनुअघि नोवल कोरोना भाइरस नियन्त्रणको प्रयास गर्न र विश्व स्वास्थ्य संगठनसँग सल्लाह लिन सुझाव दिएको छ। चीनसहित कोरोना भाइरसको संक्रमण देखा परेका देशमा रहेका नागरिकलाई सरकारले स्वदेश ल्याउने तयारी गरिरहेका बेला नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले मंगलबार सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रकोप फैलन नदिनु प्रत्येक मुलुकको उत्तिकै जिम्मेवारी भएको स्पष्ट पारिन्।

‘नेपाल सरकारले वुहानबाट आफ्ना नागरिकलाई फर्काउँदैछ भन्ने सुनेकी छु,’ उनले भने, ‘हामीले कूटनीतिक माध्यमबाट नेपाली पक्षसँग कुरा गरिरहेका छौं।’ उनले नेपाली पक्षलाई विमानस्थल क्वारेन्टाइन तथा प्रकोप रोकथाम तथा नियन्त्रणमार्फत पूर्ण तयारी गर्न र नेपालस्थित विश्व स्वास्थ्य संगठनका प्रतिनिधिसँग पनि रोग फैलन नदिनेबारे सल्लाह लिन आग्रह गरिन्। राजदूत याङ्छीले चीनमा रहेका नेपाली नागरिक पूर्ण रूपमा सुरक्षित रहेको र कसैमा पनि नोवल कोरोनाको संक्रमण नदेखिएको जानकारी दिइन्। उनले चीन सरकार चीनमा रहेका विदेशी नागरिकमा प्रकोप फैलिन नदिन निकै सजग रहेको बताउँदै चिनियाँ परराष्ट्र मन्त्रालयका अधिकारीहरू चीनस्थित नेपाली दूतावासको निरन्तर सम्पर्कमा रहेको जानकारी गराइन्। उनले वुहानमा रहेका नेपालीका समस्या समाधान गर्न चीन सरकारले सहयोग गरिरहेको बताइन्।

चनियाँ दूतावासले कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि नेपाली निकायसँगै आफ्ना कर्मचारीलाई पनि खटाएर संयुक्त रूपमा काम गरिरहेको जनाएको छ।

राजदूत याङ्छीले चीन छाड्न लागेको नेपालीलाई चीनले रोकेको भन्ने विषयमा स्पष्ट पार्दै उनीहरूको शरीरको तापक्रम सामान्यभन्दा धेरै पाइएकाले स्वास्थ्यलाई ध्यान राख्दै भ्रमण तालिका सारिएको बताइन्। उनले सम्बन्धित व्यक्ति र अन्य व्यक्तिको सुरक्षाका लागि यस्तो गर्नुपरेको र यो अन्तर्राष्ट्रिय अभ्यास भएको उल्लेख गरिन्। राजदूत याङ्छीले कोरोना भाइरसको प्रकोपलगत्तै नेपालस्थित चिनियाँ दूतावासले तत्कालै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, इपिडिमियोजोली तथा रोक नियन्त्रण महाशाखा एवं परराष्ट्र मन्त्रालयसँग सम्पर्क गरी प्रकोपको अवस्था र यसको रोकथाम तथा नियन्त्रणमा सहयोग गर्ने विषयमा जानकारी गराएको बताइन्। उनले नेपालस्थित विश्व स्वास्थ्य संगठनका प्रतिनिधिसँग पनि निरन्तर सम्पर्कमा रहेको जानकारी गराइन्। चिनियाँ दूतावासले कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि नेपाली निकायसँगै आफ्ना कर्मचारीलाई पनि खटाएर संयुक्त रूपमा काम गरिरहेको जनाएको छ।

चीनले कोरोनाको प्रकोप फैलन नदिन जिलोङ रसुवा पोर्ट र झाङ्मु कोदारी पोर्टमा प्रक्रोप रोकथाम र नियन्त्रणका लागि आवश्यक तयारी गरिएको जनाएको छ। राजदूत याङ्छीले नेपाल र चीनबीच हुँदै आएको व्यक्ति तथा व्यापार आदानप्रदानमा प्रकोपका कारण केही असर पर्ने देखिए पनि यस्तो अवस्था लामो समय नरहने विश्वास व्यक्त गरिन्। उनले प्रकोप नियन्त्रणमा आएसँगै यसले निरन्तरता पाउने बताइन्।

राजदूत याङ्छीले चीन सरकार प्रकोप नियन्त्रणका लागि हरसम्भव प्रयासरत रहेको भन्दै कतिपय मुलुकले अनावश्यक रूपमा टिप्पणी गरेको आरोप लगाइन्। उनले यो खेदजनक र विश्व स्वास्थ्य संगठनको सल्लाहविपरीत भएको स्पष्ट पारिन्। उनले कतिपय मुलुकले प्रकोपमाथि राजनीति गर्दै चीनमाथि निरन्तर हमला गरिरहेको भन्दै यो प्रकोपप्रतिको उदासीनता र मानवीय सिद्धान्तविरुद्ध भएको उल्लेख गरिन्। यस किसिमको साँघुरो सोचले प्रकोप नियन्त्रणमा असर पुग्ने उनको तर्क थियो।

प्रकाशित: २२ माघ २०७६ ००:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App