७ वैशाख २०८१ शुक्रबार
समाज

ल्याब परिक्षण गर्न प्रदेशबाट स्वास्थ्यकर्मी खटिए

बाजुरा- हिमाली गाउँपालिका-६ मा देखिएको ज्वरोको संक्रमण नियन्त्रणमा नआएपछि उपचारका लागि जिल्लाबाट स्वास्थ्यकर्मीको टोली खटाईएको छ । संक्रमण दिनप्रतिदिन बढ्दै गएपछि स्वास्थ्य कार्यालय बाजुराले चिकित्सकसहितको टोली प्रभावित गाउँमा पठाएको हो । एक जना चिकित्सकसहितको टोली प्रभावित गाउँमा पठाईएको वरिष्ठ जनस्वस्थ्य अधिकृत दयाकृष्ण पन्तले बताएका छन् ।

डाक्टर राजुराज जोशी नेतृत्वमा तीन जना स्वास्थ्यकर्मी र एक जना ल्याप टेक्नीसियनलाई गाउँ पठाउन लागिएको अधिकृत पन्तले बताएका छन् । सिअहेव कुलबहादुर रावल र हस्त कठायत गाउँ पुगीसकेका छन् । भने परिक्षण उपकरणसहित डाक्टर राजुराज जोशी र ल्याब टेक्नीसियन भोली मात्र गाउँ पुग्ने बताईएको छ ।

ल्याब परिक्षण उपकरण र प्राविधिक प्रदेशबाटै नेपालगञ्ज हुँदै कोल्टीबाट बोल्डीक जाने अधिकृत पन्तले जानकारी दिएका छन् । संक्रमण एकपछि अर्को व्यक्तिमा देखिन थालेकोले त्यसको ल्याप टेष्टका लागि काठमाडौंमा नै पठाउने गरि स्वास्थ्यकर्मी उपकरणसहित जान लागेको पन्तको भनाई छ ।

हिमाल गाउँपालिकाले सुरुमा आफै नियन्त्रण गर्न सक्ने बताए पनि संक्रमण थप फैलिँदै गएपछि स्वास्थ्य कार्यालय, जिल्ला अस्पताललाई अनुरोध गरेको हो । औषधि अभाव नभएप्छि स्वास्थ्यकर्मीको टोली खटाउन गाउँपालिकाले अनुरोध गरेको हो । हप्तादिनमा २ सय बढी व्यक्तिमा ज्वरोको संक्रमण देखिएको छ । चीनबाट आवत जावत हुने र हुम्लाका कारण नजिक पर्ने हिमाली गाउँपालिकाका स्थानीयले जटिल प्रकारको संक्रमण नै हो की भन्ने आशंका गरेका छन् ।

सुरुमा हिमाली गाउँपालिका ६ धुलाचौरमा रहेको एन्जल इङ्लीस बोडीगं स्कुलमा संक्रमण देखिएको थियो । तीन जना विद्यार्थीमा देखिएको संक्रमण बढेर गाउँ नै प्रभावित बनेको अवस्था आएकोले त्यसलाई तत्काल व्यवस्थापन गर्ने गरि सबै संयन्त्रलाई परिचालन गर्ने गरि निर्देशन गरिएको प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेले बताएका छन् ।

गाउँमा विद्यालय बन्द गरिएको र बिरामीलाई सम्बन्धित ठाउँमा गएर उपचार गर्ने गरि स्वास्थ्यकर्मी खटाउने तयारी गरिएको छ । ठूलो संख्यामा स्थानीय थला परेपछि गाउँ नै त्रसित बनेको छ । यता गाउँ नै थला पर्ने गरि बिरामी हुँदा समेत गाउँपालिकाले स्वास्थ्यको टोली नखटाएको र औषधिको व्यवस्थामा ढिलाई गरेको स्थानीयको गुनासो छ ।

प्रत्येक घरमा एक दुई जना बिरामीले थला परेका छन् । संक्रमणले महामारीको रुप लिन सक्ने भन्दै स्थानीय त्रसित बनेका छन् । चिसोका कारण बिरामी बढेको आशंका गरिएपनि एकाएक संक्रमण फैलिएकोले तत्काल चेकजाँच हुनुपर्ने स्वास्थ्यकर्मीको सुझाव छ । धुलाचौर स्वास्थ्य इकाइमा उपचार गराउँदा बिरामीलाई एक अर्कासँग सम्पर्क नगराउन र आरामसहित उपचारमा राख्न सुझाव दिएका छन् ।

बिरामी विद्यार्थीमा ज्वरो आउने र वान्ता पनि सँगै हुने र उठ्न नसक्ने लक्षण देखिएको छ । वृद्धवृद्धा र बालबालिकालाई झनै सास्ती भोग्नु परेको अवस्था छ । तत्काल उपचारको व्यवस्था नगरिए संक्रमण बढ्ने मात्र नभई सबैतिर फैलिने समेत डर देखिएको छ ।
    

 

प्रकाशित: २१ माघ २०७६ १२:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App