coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

नौ महिनामा ३७ लाख हवाई यात्रु

काठमाडौं- मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलबाट गएको नौ महिनामा ३७ लाख यात्रुले हवाई यात्रा गरेका छन्। त्रिभुवन विमानस्थलबाट सन् २०१६ जनवरीदेखि सेप्टेम्बर महिनाभित्र ३७ लाख ५ हजार ४ सय २९ जनाले हवाई यात्रा गरेका हुन्। यसमा २५ लाख ७ हजार ६ सय ७४ अन्तर्राष्ट्रिय तथा ११ लाख ९७ हजार ७ सय ५५ जना आन्तरिक उडान गर्ने यात्रु छन्।

विमानस्थल सञ्चालन गर्ने प्रमुख निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले बुधबार पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएको हो। प्राधिकरणका उपमहानिर्देशक तथा प्रवक्ता वीरेन्द्र श्रेष्ठले पछिल्लो पटक यात्रु चाप उच्च दरले बढेको बताए। 

उनका अनुसार सन् २०१५ को नौ महिनामा २३ लाख ७६ हजार ६ सय ९२ अन्तर्राष्ट्रिय यात्रु तथा ९ लाख ८८ हजार ६ सय २८ आन्तरिक यात्रुले त्रिभुवन विमानस्थल प्रयोग गरेका थिए। त्यसैगरी गत नौ महिनामा १९ हजार १२ अन्तर्राष्ट्रिय उडान भएका थिए भने ४७ हजार ९ सय ६० आन्तरिक उडान भएका थिए। अघिल्लो वर्ष नौ महिनामा १९ हजार ९ सय ४१ अन्तर्राष्ट्रिय र ४८ हजार ६ सय ७० आन्तरिक उडान रेकर्ड गरिएको थियो।

त्यसैगरी कार्गोतर्फ १५ लाख ६ सय ९० टन अन्तर्राष्ट्रिय र २ हजार ५ सय ३२ टन आन्तरिक कार्गो त्रिभुवन विमानस्थलबाट बाहिरिएको थियो। अघिल्लो वर्ष १८ हजार ६ सय ६७ अन्तर्राष्ट्रिय र ३ हजार १ सय ४६ आन्तरिक कार्गो बाहिरिएको थियो।

'यात्रु र जहाजको चाप बढ्दै जानु र विमानस्थल सुधारको काम पनि सँगसँगै गर्नुपर्दा चुनौतीको सामना गरिरहेका छौं,' प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले भने, 'तर, हामी सरोकारवाला सबैसँग सहकार्य गर्दै समस्या समाधान र सुधारका काम गरिरहेका छौं।'

ऐतिहासिक रेकर्ड

त्रिभुवन विमानस्थलमा टर्किस एयरलाइन्सको जहाज दुर्घटना भएका बेला विमानस्थल पहिलो पटक सन् २०१४ नोभेम्बर २४ देखि २८ सम्म निरन्तर सञ्चालन भएको थियो। त्यसपछि विनाशकारी भूकम्पका कारण २०१५ अप्रिल २६ देखि मे ४ सम्म पनि निरन्तर चलेको थियो। त्यसबेला मे महिनामा मात्र १० हजार ५ सय उडान भएका थिए।

सवा ५३ करोड बोनस

आर्थिक वर्ष २०६२/६३ देखि निरन्तर नाफामा रहेको उड्डयन प्राधिकरणले कर्मचारीलाई ५३ करोड २७ लाख रुपैयाँ बोनस बाँड्ने घोषणा गरेको छ। आर्थिक वर्ष २०६८/६९ देखि २०७१/७२ सम्म गरी उक्त परिमाणको बोनस बाँड्न लागिएको हो। ती वर्ष सरकारलाई कूल १ अर्ब ४७ करोड लाभांश बुझाइएको प्राधिकरणले जनाएको छ। सञ्चालन नाफा ५ अर्बहाराहारी रहेको प्राधिकरणले दुई चरणमा बोनस बाँड्ने जनाएको छ।

२६ अर्बको बजेट 

विमानस्थलले चालु आर्थिक वर्ष २०७३/७४ का लागि २६ अर्ब ३८ करोड ५३ लाख रुपैयाँबराबरको बजेट विनियोजन गरेको छ। यसमा ४ अर्ब ६३ करोड ५७ लाख आम्दानी, १ अर्ब ८४ करोड विमानस्थल विकास शुल्क तथा ऋण, सेयर र अनुदान १९ अर्ब ९० करोड ९६ लाख रुपैयाँ रहेका छन्।

६ आन्तरिक विमानस्थल निर्माणाधीन

प्राधिकरणका अनुसार ६ वटा आन्तरिक विमानस्थल निर्माणाधीन अवस्थामा छन्। कालिकोट, अर्घाखाँची, ओलढुंगाको खिजी–चण्डेश्वरी, लमजुङको शीतलेश्वर, गुल्मीको सिमिचौर र इलामको सुकिलुम्बा विमानस्थल निर्माण भइरहेका छन्। त्यस्तै भोजपुर, रामेछाप र डोल्पाको जुफाल विमानस्थल धावनमार्ग कालोपत्रे गर्ने काम अन्तिम चरणमा पुगेको छ भने रुकुमको चौरजहारी, मुगुको रारा, खानीडाँडा र ताप्लेजुङ विमानस्थल धावनमार्ग कालोपत्रे भइरहेको छ।

त्रिभुवन विमानस्थल सुधार

त्रिभुवन विमानस्थलमा रिमोट पार्किङ बे, धावनमार्ग/ट्याक्सी वे विस्तार, १ नम्बर बे विस्तार, १, २, ४ र ५ नम्बर बे मर्मत, प्रस्थान कक्षको स्टेराइल हल विस्तार, विमानस्थल पूर्वपट्टि थप १ सय ४९ रोपनी जग्गा खरिदलगायत काम भएका छन्।

प्रकाशित: १४ पुस २०७३ ०४:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App