coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

यात्रु घटेपछि चीन उडान कटौती

काठमाडौं - नोवेल कोरोना भाइरसका कारण चीनका विभिन्न क्षेत्रमा जाने हवाई यात्रु घटेपछि विभिन्न एयरलाइन्सले उडान कटौती गरेका छन्। चीनले भाइरसबाट प्रभावित क्षेत्रका आफ्ना नागरिकलाई अहिले कै स्थितिमा विदेश भ्रमणमा रोक लगाएको छ। यस्तै, रोगका कारण नेपालबाट पनि चीन जाने हवाई यात्रुमा कमी आएको छ। 

सरकारी अधिकारीहरुले चीनबाट नेपाल आउने पर्यटकको संख्या घटेको जानकारी दिएपनि यकिन तथ्यांक भने दिन सकेका छैनन्। हवाई सेवा सम्बन्धी कम्पनीहरुले भने यात्रु घटेको जानकारी दिएका छन्। त्रिभुवन विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णले चीनबाट आउने जहाजले आफ्नो सेवा हाललाई रद्द गर्दा त्यसको असर परेको बताए। ‘नेपालबाट चीन उडान भर्दै आएको हिमालय एयरले आफ्ना केही गन्तव्यमा उडान रद्द गरेको खबर आएको छ। त्यस्तै चीनबाट नेपाल आउने जहाजले पनि संक्रमणलाई आधार बनाएर उडान स्थगित गरेका छन्  उनले भने, चीन सरकारले सामुहिक भ्रमणमा नजान गरेको आग्रहले विमानस्थलमा देखिने चिनियाँ पर्यटकको चहलपहल पहिलेको तुलनामा कम देखिन्छ।

नेपाल आउने पर्यटकको दास्रो ठूलो हिस्सा चिनियाँ पर्यटकलाई मानिएपनि भ्रमण वर्षको पहिलो महिनाको आगमन संख्यामा केही कमी आउन सक्ने उनको भनाइ छ। त्यस्तै, अध्यागमन विभागका महानिर्देशक इश्वरराज पौडलले सन् २०२० को जनवरीमा नेपाल आउने पर्यटकको संख्या अवको एक–दुई दिनमा सार्वजनिक गर्ने बताएका छन्। तथ्यांकलाई आधार मानेर मात्रै कति चिनियाँ पर्यटक नेपाल भित्रिए भन्ने यकिन जानकारी हुने उनको भनाइ छ। होटल एसोसिएसन अफ नेपाल (हान)को प्रथम महासचिव विनायक शाहले संक्रमणको त्रासले व्यवसाय सामान्य रहेको प्रतिक्रिया दिए।

चीन आउजाउ गर्नेहरु घटेपछि नेपालबाट चीनका विभिन्न गन्तव्यमा उडान भरिरहेका हिमालय एयरलाइन्स, चाइना साउदर्न र नर्दन, एयर चाइना र तिब्बत एयरले उडान कटौती गरेका हुन्।

चीन लगायत विश्वका १६ देशमा नोवेल कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा त्यसको असर नेपाल आउने पर्यटकमा परेको हो। उक्त संक्रमणलाई कारण देखाउँदै निजी हवाई सेवाप्रदायक कम्पनी हिमालय एयरलाइन्सले चीनका पाँच गन्तव्यमध्ये तीन ठाँउमा आफ्नो उडान स्थगन गरेको जनाएको छ। कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले नागरिकसँगको कुराकानीमा कोरोना भाइरसको प्रकोपको सम्भावित जोखिमलाई दृष्टिगत गरी केही समयका लागि सेन्जेन, छाङसा र गोया उडान स्थगित गरेको जानकारी गराए। ‘हाल चीनबाट नेपाल आउने र नेपालबाट चीनजाने यात्रुको संख्यामा कमी आएको छ,’ उनले भने, ‘भाइरस प्रभावित क्षेत्रमा कम्पनीले उडान भर्ने गरेको त छैन।

तर हवाई यात्रुको संख्यामा कमी आएकाले केही समयका लागि स्थगितमात्र गरेकाहौं। चार्टर्ड उडान गरिरहेका तीन गन्तव्यको उडान स्थगन गरे पनि नियमित उडान भइरहेको बेइजिङ र छोङछिङको उडान भने यथावत रहने उनको भनाइ छ। उनले हाल एयरलायन्सले सबै यात्रुलाई अनिवार्य मास्क वितरण गरिरहेको समेत बताए। चिनियाँ कर्मचारी समेत रहेको हिमालयले कम्पनीमा स्वदेशी विदेशी चालकदलको आवतजावत भइरहने भएकाले अनिवार्य मास्क लगाउने तथा सावधानी अपनाउने गरेको जनाएको छ। यात्रुको सुविधालाई मध्यजनर गर्दै चिनियाँ, नेपाली र अंग्रेजी भाषामा लेखिएका प्लेकार्ड वितरण गरिरहेको श्रेष्ठको भनाइ छ। कम्पनीका सेवा सुधार शाखाका प्रमुख उज्ज्वला दलीले बेइजिङ र छोङछिङको ‘सेडुअल’ उडान रिरन्तर रहने तर कम्पनी आफैंले बजार अध्ययन गरी आवश्यकताको आधारमा उडान सञ्चालन गर्ने बताएकी छन्।

हिमालयले चीनका विभिन्न सहरसँगै हाल बंगलादेशको ढाका, मलेसियाको क्वालालम्पुर, युएईको अबुधाबी, दुबई, साउदी अरेबियाको दमाम र कतारको दोहामा सिधा उडान गरिरहेको छ।

प्रकाशित: २१ माघ २०७६ ०३:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App